• ७ जेठ २०८१, सोमबार

आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्: प्रधानमन्त्री

blog

काठमाडौँ, वैशाख २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा ब्रिफिङ लिनु भएपछि  प्रधानमन्त्री प्रचण्डले आयोजनाका आउन सक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिनुभयो । 

“बहुउद्देश्यीय आयोजना ठुलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “समयमा नै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्य योजना र पूर्व तयारीको व्यवस्था गर्नुहोला ।” उहाँले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आयोजनामा राम्रो काम गर्ने कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्य योजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिनुभयो । 

सुरुङ मार्ग बाहेक अन्य निर्माण कार्यहरू ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले कार्य योजना एवं खरिद गुरुयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्नुहोला भन्नुभयो ।

मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेटको अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले आयोजनाको निर्माण कार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराउनुभयो ।