• ७ जेठ २०८१, सोमबार

राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी

blog

घोराही समाचारदाता

घोराही, वैशाख २६ गते  । लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएको १६ दिनपछि पुनः मन्त्रालयको जिम्मेवारी समाल्नुभएको छ । 

जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्री अहिरले वैशाख ८ गते राजीनामा घोषणा गर्दै सरकारबाट बाहिरिनुभएको थियो तर समाजवादी पार्टीमा विभाजन आएसँगै राजीनामा दिनुभएका मन्त्री अहिरले सोमबार देउखुरीको लालमटियामा रहेको मन्त्रालयमा पुगेर पुनः जिम्मेवारी समाल्नुभएको छ । 

संसदीय दलका नेतासमेत रहनुभएका अहिर पार्टी विभाजनपछि अशोक राईको नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुने गरी लुम्बिनी प्रदेश सरकारमा सहभागी हुनुभएको हो । मन्त्री अहिरले राजनीतिक लाइन स्पष्ट गर्दै संस्थापनइतर समूहमा रहेको सन्देशसमेत दिनुभएको छ । जिम्मेवारी समालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा केही असन्तुष्टिका कारण मन्त्रालय छोडेको बताउनुभयो । 

अहिले पार्टीको केन्द्रबाट निर्देशन प्राप्त भएपछि सरकारमा सहभागी भएको उहाँले बताउनुभएको थियो । मन्त्री अहिरले भन्नुभयो, “कति दिन मन्त्रालयलाई बन्धक बनाएर राख्ने ? असन्तुष्टिहरू पनि विस्तारै मेटिँदै जान्छन् ।”