सुशासन र नैतिकता एकआपसमा जोडिएका विषय हुन् । सार्वजनिक जीवनमा बढिरहेको भ्रष्टाचार र त्यसविरुद्ध कारबाहीको कमी, राजनीतिक हस्तक्षेप, जवाफदेहितामा कमी, पारदर्शिताको कमी तथा गरिब, सीमान्तकृत जाति, जनजाति, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिप्रति संवेदनशीलताको कमी जस्ता नैतिक मुद्दाहरू सार्वजनिक सेवाप्रवाहमा रहेका छन् ।
मानव कार्यलाई सही वा गलत भनी पहिले नै अनुमान गर्न सकिने मानक नैतिक मूल्य हो । नैतिक मूल्यले कुनै विशेष कार्य सही वा गलत रूपमा निक्र्योल गर्नका लागि मानकको अवधारणा प्रस्तुत गर्छ । यसको महत्व कुनै व्यक्ति विशेषको निजी जीवन र व्यावसायिक जीवनमा गरिने निर्णयमा रहन्छ । जीवन कसरी जिउने ? जीवनमा खुसीको अभिप्रायः के हो ? तपाईं कुनै क्रियाविशेषलाई के आधारमा श्रेष्ठ भन्नुहुन्छ ? हामी कर्तव्य र न्यायलाई कसरी बोध गर्छौं ? सजातीय मानव, जीवित प्राणी र पर्यावरणसँग हामी कसरी अन्योन्याश्रित छौँ ? यी प्रश्न सभ्यताको प्रारम्भदेखि नै प्रमुख चिन्तनको विषय रहँदै आएको छ । राम्रो र नराम्रो पर्गेल्न सक्ने ‘मन’ भएको मनुष्य भएर मानवजातिले सदैव नैतिकता र नैतिक मूल्यसँगै जीवन जिउने प्रयास गरेको छ । नैतिकताको सार जीवन जिउने सही तरिका हो ।
धर्ममा पनि नैतिकता छ । तथापि नैतिकता धर्म होइन । नास्तिक गैर–धार्मिक भएर पनि नैतिक हुन सक्छ तर नैतिकताको प्रचार नगर्ने धर्मको कुनै महत्व हुँदैन । धर्मको कसम खाने सबै व्यक्ति नैतिक र नैतिक मूल्यमा समर्पित जीवन जिउँछन् भन्ने छैन । नैतिकता सबै धर्मको विषय हो । जीवनका दैनिक कार्य निर्वाध ढङ्गले चलाइरहने मूल उद्देश्य राखी आफूलाई नियन्त्रण र नियमन गर्ने व्यवस्था हेतु कानुनको आविष्कार गरिएको हो । कानुनको पालना प्रत्येक नागरिकको कर्तव्य हो । तथापि कानुन पालना नै नैतिक मूल्यको पर्याय भने हैन । कानुनको एउटा आदर्श व्यवस्थामा नैतिक मानक घुलमिल भएर बसेको हुन्छ तर नैतिक मूल्य नभएको कानुन हुँदैन । अन्तर्राष्ट्रिय कानुनको मानक सन्धिको पालना इमान्दारीपूर्वक हुनु पर्छ । सांस्कृतिक रूपले स्वीकृत विषय पनि सदैव नैतिक नहुन सक्छ, जस्तो, छाउपडी प्रथा र कतिपय सामाजिक आचारहरू नैतिक मूल्य विपरीत हुन सक्छन् ।
मानिसद्वारा गरिएको प्रत्येक क्रियाबारे असल वा खराब वा तटस्थ दृष्टिकोण हुन्छ, जसले त्यसलाई परिभाषित पनि गर्छ । चोरी गर्नु खराब तथा इमानदारी असल कुरा हो । हिंसा वा बलको प्रयोग अनैतिक हो तर कुनै व्यक्तिले आत्मरक्षाका लागि गरेको हिंसालाई असल भन्नु पर्ने अवस्था हुन सक्छ । दुश्मनसँग लड्ने क्रममा एक देशको सेनाले अर्को देशको सेनालाई मार्छ तर देश हितका लागि त्यसलाई प्रशंसनीय मानिन्छ ।
विवेक मनुष्यको स्वयम्सँग संवाद गर्ने आन्तरिक भाव हो र यो नैतिक मार्गदर्शनको प्रमुख स्रोत हो । भनिन्छ, प्रत्येक मानिसमा ईश्वरको बास हुन्छ र खराबमाथि असल तथा अन्यायमा न्याय चयन गर्ने सक्षम बनाउने विवेक ईश्वर वाणी हो । यो कुनै पनि मानव क्रियाको नैतिक आधार हो । अन्तस्करणलाई मार्गदर्शन गर्ने यो कुनै भौतिक दण्ड वा इनाम होइन । यो नैतिकताको आन्तरिक भावना र सही तथा गलतको भावना हो, जुन व्यक्तिलाई आफ्नो विवेक अनुसार कार्य गर्नका लागि प्रेरित गर्छ । त्यसैले राष्ट्रसेवा एक सार्वजनिक ट्रस्ट हो । राष्ट्र र नेपाली जनताप्रति बफादार हुने शपथ लिएका राष्ट्रसेवकको प्राथमिक कर्तव्य सेवाग्राहीको सेवा गर्नु हो । सेवा गर्नका लागि सार्वजनिक जिम्मेवारी दिइएको हो भन्ने कुराको हेक्का प्रत्येक राष्ट्रसेवकमा हुनु पर्छ ।
राष्ट्रसेवकमा जनहित सर्वोपरि हुनु पर्छ । कार्यसम्पादनमा निष्पक्ष रहनु पर्छ । निजले हमेसा जनहितप्रति उत्तरदायी हुनु पर्छ । सरकारी सम्पत्तिको उचित र कुशलतापूर्वक प्रबन्धन गर्नु पर्छ, यो नै सुशासनको आधार हो । सेवाग्राहीप्रति जवाफदेही भएर कानुनी शासन र संविधानद्वारा निर्धारित सिद्धान्त अनुसार सेवा दिनु पर्छ । योभन्दा माथि पूर्ण वित्तीय एवं बौद्धिक सत्यनिष्ठा (इन्टिग्रिटी)को प्रदर्शन गर्नु पर्छ । सार्वजनिक सेवा र सार्वजनिक प्रशासनको नैतिकताको मूल मूल्य पारदर्शिता, अखण्डता, वैधता, निष्पक्षता, जवाफदेही, दक्षता र प्रभावशीलता हो । राष्ट्रसेवकले सार्वजनिक बन्दोबस्तीका लागि छुट्याएको वा प्रयुक्त सम्पत्तिको सर्वोत्तम उपयोग गर्ने कुराको सुनिश्चित गर्नु पर्छ । नोक्सानी, अपव्यय र क्षरणबाट जोगाउनु पर्छ ।
अमेरिकी समाजले सार्वजनिक प्रशासनमा राष्ट्रसेवकका लागि संहिता निश्चित गरेको छ । संहिता अनुसार राष्ट्रसेवकको हर समय जनहितलाई निजी स्वार्थदेखि माथि राख्नु पर्छ । निजले सकारात्मक कारबाहीलाई प्रोत्साहित गर्नु पर्छ र कुनै पनि प्रकारको भेदभाव र उत्पीडनको विरोध गर्नु पर्छ । राष्ट्रसेवकको महìवपूर्ण काम भनेको आमनागरिकलाई सरकारी क्रियाकलापमा भाग लिन प्रोत्साहित गर्नु हो । संविधान र कानुनको सम्मान गर्नु पर्छ र नागरिकको अधिकार रक्षामा समानता, निष्पक्षता, प्रतिनिधित्व, जवाफदेही र उचित प्रक्रिया (डिउ प्रोसेस) का संवैधानिक सिद्धान्तहरूलाई प्रवर्धन गर्नु पर्छ । आफ्नो कर्तव्यप्रति इमानदार र आचरणमा निष्पक्ष हुनु पर्छ । कुशल र प्रभावी तरिकाले सेवाग्राहीको सेवा गर्नलाई सदैव व्यावसायिक श्रेष्ठताका लागि क्रियाशील हुनु पर्छ ।
बेलायतमा राष्ट्रसेवकले सार्वजनिक जीवनमा पालना गर्नु पर्ने सात सिद्धान्तहरू नोलन समितिले सिफारिस गरेको थियो र तिनै सिद्धान्तहरू मार्गदर्शनको रूपमा ग्रहण गरिएका छन् । ती हुन् : निस्वार्थता, सत्यनिष्ठा (इन्टिग्रिटी), वस्तुनिष्ठता, जवाफदेही, पारदर्शिता, इमानदारी र नेतृत्व । यी सिद्धान्तहरूको आधारमा सरकारले सबै राष्ट्रसेवकका लागि मूल्य र नैतिकताको संहिता लागु गरेको छ ।
प्रत्येक राष्ट्रसेवकले खाएको शपथको पहिलो पङ्क्तिमा मुलुक र जनताप्रति बफादार रहने बेहोराले इमानदारी र बफादारी सबैभन्दा प्राथमिक मूल्य भएको कुरा दर्शाउँछ । त्यसैले कार्यकारीको जिम्मेवारीमा रहने राष्ट्रसेवकले नागरिक लाभका लागि सर्वसञ्चित कोषबाट खर्च गर्दा पूरा इमानदारी र निष्ठाका साथ नियमितता, कार्यदक्षता, प्रभावकारिता, मितव्ययिता र औचित्यसमेतको विचार गर्ने अपेक्षा राखिन्छ । भ्रष्टाचारका बढिरहेका घटनाले राष्ट्रसेवकको मूल्यको आधारशिलालाई हल्लाइ दिएको छ र यो समाजमा आमप्रवृत्ति भएको छ । प्रत्येक राष्ट्रसेवक नागरिको सेवा गर्न ओहोदामा आसीन छन् तर आफूलाई समृद्ध गर्नका लागि राज्यशक्ति र सत्ताको उपयोग गर्नु आफूले खाएको शपथको उल्लङ्घन हो । बफादारीको अर्थ आफू कार्यरत निकायको सर्वोत्तम हितका लागि समर्पित रहनु हो र राष्ट्रसेवकको बफादारी भनेको निजी लाभका लागि सार्वजनिक कार्यालयको उपयोग नगर्नु हो; सेवाप्रवाह गरेको बदलामा कुनै पनि व्यक्तिसँग कुनै पनि प्रकारको गैरकानुनी लाभ स्वीकार नगर्नु हो ।
शपथको अर्को बेहोरामा कसैको डर नमानी, पक्षपात नगरी, कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई भन्नुको तात्पर्य राष्ट्रसेवकले गर्ने निर्णय अवलोकन योग्य घटनामा आधारित हुनु पर्छ, तथ्यमा आधारति हुनु पर्छ । निर्णय गर्दा लिएका आधार र कारण खुलाउनु पर्छ । नीति निर्माण र प्रशासनिक मामिलामा कार्यकारी प्रमुखलाई सल्लाह दिनु राष्ट्रसेवक कर्मचारीको कर्तव्य हो । आफ्नो ज्ञानको उच्चतम प्रयोगद्वारा व्यापक र सन्तुलित तस्बिर देखिने गरी स्वतन्त्र र स्पष्ट सल्लाह दिनु प्रत्येक कर्मचारीको नैतिक कर्तव्य हो । यस्तो सल्लाहमा व्यक्तिगत पूर्वाग्रह वा पक्षपातको रङ मिसिएको हुनु हुँदैन र निर्णय भएपछि सेवाग्राही अधिकतम लाभान्वित हुने गरी कार्यान्वयन गर्नु पर्छ । राजनीतिक नेतृत्वले निर्णय गर्दा आफ्नो दल वा निर्वाचन क्षेत्र विशेषकाप्रति पूर्वाग्रही हुन सक्ने हुनाले कर्मचारी सबै नागरिकका साथ समान व्यवहार गर्ने र निष्पक्ष एवं वस्तुनिष्ठ हुने अपेक्षा राखिन्छ ।
निष्पक्षताले तटस्थताको पनि माग गर्छ । तटस्थता भनेको निर्णय गर्ने अधिकारीले निर्णय गर्नुपर्ने विषयमा प्रत्यक्ष वा अप्रत्यक्ष आफ्नो कुनै हित, सरोकार वा स्वार्थ रहेको भएमा त्यस्तो विषय निर्णय गर्नबाट अलग हुनुपर्ने कुरा पनि हो । सत्तामा अमूक दल वा व्यक्ति आउने जाने क्रम चलिरहन्छ तर कर्मचारी कुनै दल विशेषको सदस्य हुने र त्यसैको पैरवी गर्ने कुरा तटस्थताविरुद्ध हो । गोप्य मतदान कर्मचारीको अधिकार हो तथापि राजनीतिक दलप्रति मनोकामना प्रदर्शन गर्न निषेधित छ । शपथको अर्को बेहोरा पारदर्शिताले उच्चपदस्थ राष्ट्रसेवकहरू अप्रिय सूचनाहरू लुकाएर राख्न मन पराउने भएकाले त्यस्तो गर्न रोक लगाउँछ । राष्ट्रसेवकको निष्ठा जनताप्रति हुन्छ र जनतासँग गोपनीयता कायम गर्ने कुरा परस्परमा विरोधाभास भएकोले अहिलेको शपथमा प्रचलित कानुनबमोजिम गोप्य राख्नु पर्ने कुरा मात्र प्रकट नगर्ने गरी शपथ ख्वाउने गरिएको छ ।
जीवनमा सफलता सुनिश्चित गर्ने कारकहरूमा २० प्रतिशत आइक्यु र ८० प्रतिशत भावनात्मक बुद्धिमत्ताको योगदान रहने विज्ञहरूको मत छ । परीक्षा उत्तीर्ण गरेर सेवा प्रवेश गर्ने राष्ट्रसेवकको यसै अनुरूपको अङ्कभार दिएर लोक सेवा आयोगले परीक्षण गर्छ । आइक्युमा मौखिक, विश्लेषणात्मक, तार्किक र गणितीय कौशलको परीक्षण गरिन्छ भने भावनात्मक बुद्धिमत्ता आफ्नो भावनाका साथ–साथमा अर्काको भावना बुझ्ने क्षमता हो । भावनात्मक बुद्धिमत्ता असल र खराब नेतृत्वकर्ताका बिचको वास्तविक अन्तर प्रकट गर्ने गुण हो । उच्च आइक्यु भएको राष्ट्रसेवक स्वयम्लाई बुझ्न, नियन्त्रण गर्न र प्रेरित गर्न सक्षम हुन्छ । नागरिकका समस्या पञ्छाउनमा होइन, हल गर्नमा रुचि राख्छ । किनभने ऊ सेवाग्राहीको कुरामा संवेदनशील हुन्छ, सेवाग्राहीको ठाउँमा आफूलाई पाउँछ । आफ्नो व्यवहारमा परिपक्व, शान्त, आत्मविश्वासी र अरूको परवाह राख्छ । यस्ता राष्ट्रसेवक सहकर्मी र नागरिकका बिच गहिरो छाप छोडेर जान्छन् र लामो समयसम्म मनमस्तिष्कमा रहिरहन्छन् ।