• ६ जेठ २०८१, आइतबार

खडेरीले किसानको बारी बाँझै

blog

व्यास नगरपालिका–११ पोल्याङमा खडेरीले गर्दा बाँझै रहेको बारी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख २४ गते ।
 लामो खडेरीले गर्दा तनहुँका किसानले यस वर्षको मकै लगाउन पाएका छैनन् । वैशाखको पहिलो सातामै रोपिसक्नुपर्ने मकै पानी नपर्दा अधिकांश खेत बाँझै छन्  । सिँचाइ पुगेको खेतमा मकै छरेपनि आकाशे पानीकै भरमा खेती लगाउने पाखो बारी अझै बाँझै छन् ।  वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि मकै उत्पादक कृषक चिन्तित बनेका छन् ।

लामो खडेरीले गर्दा गाउँका सबैको जमिन बाँझै रहेको व्यास नगरपालिका–१२ टारका ठाकुर पन्थले बताउनुभयो । तरकारी र फलफूल सुक्न थालेको पन्थ बताउनुहुन्छ । पन्थले भन्नुभयो, ‘‘एक पटक पानी परेको थियो जनशक्ति अभावले मकै छर्न भ्याइएन । दोहोरो मकै गोड्ने बेलासम्म पनि छर्न पाइएन ।’’  पानी नपर्दा छरेको मकैको बोट सुक्न थालेको व्यास नगरपालिका–६ शिसाघाटस्थित न्यु अभियान कृषि उत्पादक सहकारी संस्थाका अध्यक्ष निजावदिन मियाले बताउनुभयो । मियाले भन्नुभयो, ‘‘कतिपयले मकै छर्न पाएका छैनन्, उमेरका पनि सुकेर मर्न लागेका छन् ।’’ उहाँले पानीका मुहान सुकेकाले खानेपानीको अभाव भएको बताउनुभयो ।

लामो खडेरीले गर्दा मकै खेती गर्ने किसान प्रभावित भएको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । परियारका अनुसार तनहुँमा १४ हजार १४० हेक्टर जमिनमा मकै खेती हुन्छ । मकै अधिकांश आकाशे पानीको भरमा पाखो बारीमा लगाइने भएको धेरै किसान प्रभावित भएका छन् ।