• ७ मंसिर २०८१, शुक्रबार

गोरखापत्रको पहिलो अङ्क

blog

अहिले संसार आमसञ्चारको साम्राज्यमा तैरिरहेको छ । सञ्चारबिना संसार छैन भन्नु परेको छैन तर पहुँच भने प्रत्येकमा फरक फरक हुन सक्छ । प्रारम्भमा छापा हुँदै रेडियो, टेलिभिजन र इन्टरनेटका आविष्कारसँगै डिजिटल मिडिया र सामाजिक सञ्जालले मानिस सूचनाका रासमै छ । माध्यमहरू ओइरो लागे पनि सही सूचनामा पहुँच भने कठिन बन्दै गएको छ । मिथ्या सूचनाको बाढी पनि छ । आजको आमसञ्चारको विगत हेर्दै गयो भने रोम गणराज्यमा पहिलो पत्रिकाको उद्भव भएको मानिन्छ । एकआपसमा लडाइँ भइरहने रोम गणराज्यहरूमा आफ्ना नागरिक शक्तिलाई सुदृढ बनाउने जुक्ति निकालियो । फलस्वरूप जुलियस सिजर्स (इसापूर्व १००–४४) ले एक्टा डिउर्ना निकाले ।

इसापूर्व ६९ मा निस्कन सुरु भएको त्यो पहिलो अखबार कागजमा निस्किएको थिएन । कागजको त आविष्कारै भएको थिएन । कपडामा लेखेर टाँगिएको थियो । दिनभरिका युद्धका खबर राज्यकै तर्फबाट लेखेर टाँगिन्थ्यो, हिजोआजको तुल टाँगे जस्तो । नागरिक र खास गरी युवालाई आफ्नो गणराज्यप्रति समर्पित गराउन सूचनाको तागतले ऊर्जाको काम गर्ने विश्वास थियो । समयक्रममा एक्टा डिउर्ना गजेटकै रूपमा विकास भयो । 

छापा इतिहासमा एक्टा डिउर्ना अभूतपूर्व परिघटना बन्यो । आजको अखबारको पुर्खा बन्यो । चीनमा पछि ब्लक छपाइको प्रचलन आरम्भ भयो तर छाप्ने मेसिनको आवष्किार हुन भने धेरै समय कुर्नु पर्‍यो । मध्ययुगीन बर्बरतालाई चिर्दै जर्मनीमा इस्वी सन् १४३९ मा छाप्ने मेसिनको आविष्कार भयो । जोहनेस गुटनवर्गले असाध्य कष्टपूर्ण परिवेशमा छाप्ने मेसिनको आविष्कार गरे । बाइबल छापिन थाल्यो । छाप्ने मेसिनको प्रसार तीव्रतर भयो । १६ औँ र १७ औँ शताब्दीमा युरोपमा अखबार देखिन थाले । बेलायतमा सन् १७०२ मा डेली कुरान्ट छापिन थाल्यो । दक्षिण एसियामा भने पहिलो पत्रिका सन् १७८० मा कलकत्ताबाट प्रकाशित भयो । बेलायती उपनिवेशको भारतमा जेम्स अगस्टस हिक्कीले कलकत्ता जनरल एड्भरटाइजरमार्फत निकालिएको पत्रिकालाई हिक्की गजेट पनि भनिन्थ्यो ।

तत्कालीन बेलायती उपनिवेशको राजधानी कलकत्ता (हाल कोलकाता) मा अखबार निस्किएको १२१ वर्षपछि काठमाडौँमा गोरखापत्रको प्रकाशन सुरु भयो । पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुरका नाति, धीरशमशेरका छोरा देवशमशेर (विसं १८९९–१९७०) दाजु वीरशमशेरको निधनपछि मुलुकको प्रधानमन्त्री बने । कालो बादलमा समेत चाँदीको घेरा भने झैँ प्रधानमन्त्रीको छोटो कार्यकाल (२३ फागुन १९५७ देखि १३ असार १९५८ सम्म) मा देवशमशेरले देशमा अनकौँ सुधारका कदम अगाडि बढाए । तराई र पहाडमा भाषा पाठशालाहरू खोल्न लगाए । कर्मचारीको दैनिक काम १० देखि ५ बजे तोक्दै पाक्षिक एकादशीका दिन बिदाको बस्दोबस्त गरे । कृषि, पशुपालन र साना उद्यम सिक्न जापानमा आठ जना विद्यार्थी पठाउने व्यवस्था गरे । बेलायती मोडेलको संसदीय शासन व्यवस्थाको प्रक्रिया अगाडि बढाएका थिए । ती अनेक सुधारको शृङ्खलामा गोरखापत्रको प्रकाशन ऐतिहासिक परिघटना बन्यो । १९५८ वैशाख २४ गते प्रकाशन सुरु भएको गोरखापत्र आजै १२४ औँ वर्षमा प्रवेश गरेको छ । मुलुकी इतिहासको पहिलो मस्यौदाकै रूपमा गोरखापत्रले निरन्तर गौरव बढाउँदै छ ।

युरोप र छिमेकी भारतमा अखबार प्रकाशनको लामै अभ्यास भइसकेपछि गोरखापत्र साप्ताहिक रूपमा प्रकाशन आरम्भ भएको हो । मोतिराम भट्टको सम्पादनमा बनारसबाट प्रकाशित भएको गोरखा भारत जीवन (विसं १९४३) र विसं १९५५ साउनमा काठमाडौँबाट प्रकाशित भएको सुधा सागर इतिहासमै सीमित छन् । कुनै कपि प्राप्त छैनन् । ती दुवै साहित्यिक भएकाले अखबारी पत्रकारितामा भने गोरखापत्र नै देशभित्रको पहिलो प्रकाशन हो । गोरखापत्रकै हाराहारीमा दार्जिजिङबाट गोर्खे खबर कागज निस्किए पनि निरन्तरता भने पाएन । 

गोरखापत्रको पहिलो अङ्कको सतही चिनारी आज पनि त्यस परिवेश बुझ्ने आँखीझ्याल बन्न सक्छ । शिरमा श्री लेखिएको र त्यसमुनि गणेशको चित्र अनि लगत्तै, 

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।।

सर्वे भद्राणि पश्यन्तु मा कश्र्चिद्दुःख भाग्जन ।। १।।

लेखिएको छ । यो संस्कृतको आदर्श श्लोक आज पनि गोरखापत्रमा निरन्तर छ । आरम्भमा गोर्खा पत्र मास्टहेड छ र त्यसको तल उल्लिखित संस्कृत श्लोकको सविस्तार छ :


निरोगी सबै हुन् सबै हुन् सुखिया । सबै वेस देखुन् नहुन क्वै दुखीया ।।

सबै को यसै पत्र ले हाथ् सुहाओस् । सवै हर्षले दिल सबै को भराओस् ।।१।।

सबै मानव जातिको सुस्वास्थ्य र सुखको कामना गरिनु मानव कल्याणको उद्घोष मात्र होइन, लोककल्याणकारी राज्यको उद्घोषसमेत हो । लोकको आमहित नै लोकतन्त्र भएकाले सुधारवादी र उदारवादी प्रधानमन्त्री देवशमशेरले लोकतान्त्रिक शासन व्यवस्थाको जग स्थापना गर्न गोरखापत्रको प्रकाशन थालेको स्पष्ट बुझ्न कठिन हुँदैन तर ११४ दिनमै भाइ चन्द्रशमशेरबाट उनी अपदस्थ हुनु पर्‍यो । 

गोरखापत्रको मास्टहेडको दुवैतिर गोरखापत्रको मूल्य लेखिएको छ । एक प्रतिको दुई आना मूल्य तोकिएको छ । पहिलो पृष्ठको एकातिर श्रीगणेशायनमः छ र त्यसको तलतिर नियम शीर्षकमा छ वटा नियम छन् । नियमको तेस्रो नम्बरमा वर्षभरिको मूल्यबारेमा भनिएको छ – नमूना को १ कापि आये पछि जश्र्लाई ग्राहक हुनाको मन्सुवाछ उन्ले कृपापूर्वक वर्ष दिनको मूल्य रु.४ पठाई दिनुहोला, नत्र दोश्रो कापि आउन्या छैन । गोरखापत्रको पहिलो अङ्कदेखि नै विज्ञापन आय र अखबार बेचेर प्राप्त आम्दानीका निम्ति होसियारीपूर्वक ध्यान दिइएको छ । वर्षभरिको एकै पटक ७२०० रुपियाँ, दुई वटा प्रेस देवशमशेरबाट प्राप्त भएको थियो । सो कुरा पहिलो पृष्ठबाट आरम्भ भएको एडिटर्को रायमा उल्लेख छ तर पनि आयका निम्ति ग्राहक बनाई आम्दानी बाध्न बन्दोबस्त मिलाइएको छ । त्यसक्रममा नियम ५ मा विज्ञापन को छपाई १ बाजि मात्र छपाउन्या लाई.......। लगत्तै ६ नम्बरमा परदेशी ग्राहकलाई सम्बोधन गर्दै भनिएको छ ः परदेशी ग्राहक हरू ले रु. पठाउँदा नोट् वा टिकट रजिष्टरी गरी छापाखाना का ठेगाना मा पठाउनू भया ञायाँ आई पुग्छ फरक पर्दैन । यसरी अखबार प्रकाशन मात्र होइन, विज्ञापन र बिक्री आयबाट मिडिया व्यवस्थापनको बलियो संयन्त्र बनाएको बुझ्न सकिन्छ ।

आम सञ्चारका विद्वान् डेनिस म्याक्वल (सन् १९३५–२०१७) ले चर्चित पुस्तक आमसञ्चारको सिद्धान्तको ‘‘मिडिया इकोनोम्क्सि’’ को सन्दर्भमा विस्तृत मागदर्शन दिनुभएको छ । म्याक्वेलका अनुसार मिडिया अरू व्यापार जस्तो प्रत्यक्ष मुनाफा मात्र आर्जन गर्ने व्यवसाय त होइन तर सामाजिक व्यवसाय पक्कै हो, त्यसले सञ्चालन खर्च उठाउनै पर्छ भन्ने मान्यतालाई गोरखापत्रको आरम्भमै ग्राहक, विज्ञापन आदिको व्यवस्थापन गरेर सिद्धान्तभन्दा पहिल्यै अभ्यास गरेको देखिन्छ । देवशमशेर महाराजले वर्षभरिको खर्च दिए पनि यसलाई स्वनिर्भर बनाउनु पर्छ भन्ने मान्यता स्पष्ट देख्न सकिन्छ । आज १२४ वर्षपछि पनि यो मान्यतालाई नेपाली तमाम मिडियाले गम्भीर अध्ययनका विषय बनाउँदा फरक पर्दैन ।

गोरखापत्रको मास्टहेडमुनि पहिलो अङ्कलाई भाग १ भनिएको छ भने सँगै साप्ताहिक समाचारपत्र भनिएको छ । नेपाल सम्बत् १९५८ मिति ज्येष्टवदी ३ सोमबार छ । नेपाल संवत् भन्नु विक्रम संवत् नै भएको स्पष्ट हुन्छ । पहिलो पृष्ठबाट सुरु भएको एडिटर्को राय अर्को पृष्ठमा पनि निरन्तरता दिइएको छ । सो रायमा विदेशमा अनेक उदाहरण दिई अखबार प्रकाशन भएको देश धनी हुँदै गएको, उन्नति गर्दै गएको सन्देशले गोरखापत्र प्रकाशनको लक्ष्य स्पष्ट गरेको छ ।

पहिलो अङ्कका समाचार सामग्रीका विविधता प्रशस्त देखिएको छ । चाखलाग्दो पक्ष त कानुनी साक्षरतासमेत दिन खोजिएको छ । वादी र प्रतिवादी लेख्ने कानुनी सिप सिकाइएको छ । त्यसको ढाँचा व्यहोरा लेखिएको छ । नञा अ‍ैनमा अदालती बन्दोबस्त फेरादपत्र देखी जान्या सुनी जान्या जस्ता शब्दले देवशमशेर कानुनी राज्य स्थापना गर्न चाहन्थे भन्न सकिन्छ ।

देशमा उद्यमव्यवसायको विस्तारमा समाचार सामग्रीले राम्रै जोडबल गरेको छ । देस को उन्नति शीर्षकमा उद्योगको विकासमै जोड दिइएको छ । पहिलो वाक्यमै भनिएको छ : उद्योग मनुष्यको गहना हो आर्कासित माग्दा पाउने मेवा भन्दा आफ्ना बुद्धि र बलले कमायको रूषा सुषा पिठो असल हुन्छ । त्यसै गरी सो लामो सामग्रीमा उद्यमीलाई लक्ष्मी प्राप्त हुन्छ भनिएको छ । उद्यमीलाई केहीको अभाव हुँदैन भन्ने सन्देश मार्मिक छ । मनुष्यको ठुलो सानो हुनु नियम छैन, जो उद्यमी हुन्छ ऊ ठुलो हुन्छ भनिएको छ । त्यस्तै, हजारौँ कोस टाढाको खबर उद्योगले गर्दा तार बनेको हुनाले घन्टाभित्र पढ्न पाइन्छ भनिएको छ । समाचार सामग्रीमा देशको समृद्धि सपना छ तर विडम्बना आज १२४ वर्ष पछि पनि देशले समृद्धिको सपना पूरा गर्न सकेको छैन । समृद्धि मृगतृष्ण बनेको छ ।

देश समाचारमा कतिपय समाचार राजधानी उपत्यकाभित्रका र कतिपय बाहिरका छन् । बाङमतीमा पुल, टुडिखेलमा तमाशा जस्ता उपत्यकाभित्रका समाचार छन् । वीरगञ्जमा अछामका युवराज, बिजयपुरमा बेसाहा, बुटबलमा आँधीबतास जस्ता समाचार सङ्कलन पहिलो अङ्कमै सम्प्रेषण गर्नु त्यस समयमा अवश्य सजिलो थिएन होला । नयाँ पद्वी खड्गशमशेरलाई भनेर सेनाको समाचार पनि छापिएको छ ।

गोरखपत्रमा छाप्न हुने र नहुने विषय सनदमै दिएर विश्व छापामा आचारसंहिताको उद्भव नहुँदै गोरखापत्रले आचारसंहिताको अभ्यास गरेको थियो । छाप्न हुनेमा कलकत्ता र यहाँको बजार भाउ थियो । पहिलो अङ्कमा बजारको भाउमा नेपाल भनेर त्यसबेलाको काठमाडौँको विभिन्न वस्तुको भाउ दिइएको छ । काठमाडौँ बाहिर प्युठान, परेवा डाँडा, सिधुली, दोलखा, बागलुङको बजार भाउ दिइएको छ । शायद त्यस बेला त्यो सूचना सङ्कलन पनि सजिलो थिएन होला । बम्बै (हाल मुम्बई) को बजारका भाउ भनेर केही वस्तुको मूल्य पनि दिइएको छ । 

देशान्तर समाचार शीर्षकमा विदेशका समाचार दिइएको छ । त्यसमा पनि विविधता छ । फ्रान्सले तोपमा ग्यास भरेर पट्काएको बारुदको क्षमता बढाएको छ भन्ने सन्देश दमदार छ । त्यसबेला चीनमा विदेशी सेना कुन मुलुकको कति छन् भनेर जर्मनी, फ्रान्स, अङ्ग्रेज, रुस जापान आदिका सेनाको सङ्ख्या नै उल्लेख गरिएको छ । अफिम वारपछिको चीनको अवस्था त्यसमा विम्बित हुन्छ ।

समुन्द्रभन्दा अग्लो शीर्षकमा युरोप र अफ्रिकाको कति उचाइ छन् भन्ने सन्देश छ । त्यसै गरी आगाको काम दिने काँच शीर्षकमा विज्ञान समाचार पनि छ । त्यस्तै त्यतिबेलाको भारत अर्थात् हिन्दुस्थानका समाचार भनेर कलकत्ताको गोदाममा गाडाको प्रयोग ज्याला सस्तो भएको जानकारी दिइएको छ । यसरी गोरखापत्रले पहिलो अङ्कमै सामग्रीमा विविधता दिएको छ । आज पनि गोरखापत्रले देशविदेशका गहन समाचार, आलेख, विश्लेषणका साथै सातै प्रदेशका पाठक रुचिका समाचार, अर्थबजार, खेलकुद, कलासाहित्यलाई प्राथमिकतामा राखेको छ । राज्यकै गौरव बनेर निरन्तर यात्रामा छ ।    

Author

जुनारबाबु बस्नेत