• ५ जेठ २०८१, शनिबार

३९ वर्षपछि राम्चे वन डढेलोले सखाप

blog

राम्चे वनमा लागेको डढेलो । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), वैशाख २३ गते । 
पर्यटनसँग जोडिएको जिल्लाको रामपुर नगरपालिका–५, स्थित राम्चे सामुदायिक वन डढेलोले सखाप भएको छ । एक सय दुई हेक्टर क्षेत्रफलमा फैलिएको वन ३९ वर्षपछि डढेलोले सखाप भएको हो ।

पर्यटकीय गन्तव्यको रूपमा रहेको वन क्षेत्रमा चार दिनदेखि डढेलो लागेको थियो । डढेलोबाट जोगाउन अथक प्रयास गरे पनि पटक–पटक लागेको आगोले वन सखाप भएको राम्चे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दयाराम गैरेले बताउनुभयो । उहाँका अनुसार वनमा ३९ वर्षपछि डढेलो लागेको हो । उहाँले भन्नुभयो, ‘‘२०४२ सालमा दक्षिण भागमा लागेको डढेलोले वनको आधा भाग जलेको थियो । त्यस पश्चात् छिटफुट लागेको डढेलोहरू नियन्त्रण लिँदै आएका पनि यस पटक वन क्षेत्रको सबै भाग डढेलोले खायो ।’’

गत बुधबार रामपुर ५ को गैरा क्षेत्रबाट सुरु भएको डढेलो फैलिँदै राम्चे वनमा पसेको थियो । उपभोक्ता, नेपाली सेना, प्रहरी र वनका कर्मचारीको सहयोगमा दक्षिण तर्फको र माथिल्लो भागको आगो नियन्त्रणमा लिए पनि पटक–पटक सोही क्षेत्र बाटै आगो निस्किदा शनिबारसम्म वन क्षेत्र सबै जलेको हो । पर्यटन प्रवर्द्धनका लागि वन क्षेत्रमा निर्माण गरिएका भौतिक संरचना, वन वरपर रहेको बस्ती डढेलोबाट बचाउन सफल भए पनि वनलाई बचाउन नसकिएको गैरेले बताउनुभयो ।

यस वर्ष हिउँद लागेसँगै पटक–पटक डढेलो लागे पनि उपभोक्ताले सहजै नियन्त्रण गर्दै आएका थिए । तर बुधबारदेखि सुरु भएको डढेलोसँगै हावा चल्दा नियन्त्रण गर्न नसकिएको सामुदायिक वनका सचिव राधिका भण्डारीले बताउनुभयो । तीन सय २२ घरधुरी उपभोक्ता रहेको वनमा रहेका साना बिरुवा तथा बुट्यानहरू सखाप भएपछि घाँस दाउरा, स्याउला पातको अभाव हुने भएको छ । यस वर्ष डढेलोले जिल्लाको पर्यटनसँग जोडिएको वन राम्चेसँगै श्रीनगर वनमा पनि डढेलो लागि सकेको छ । डिभिजन वन कार्यालय पाल्पाका अनुसार चैतदेखि यता जिल्लाको तीन हजार २१६  हेक्टर वनमा डढेलो लागिसकेको छ । जिल्लाको १० वटै स्थानीय तहको वनहरूमा १ सय १८ पटक आगो लागेको डिभिजन वन कार्यालयका सूचना अधिकारी संयोग बस्नेतले जानकारी दिनुभयो ।

डढेलो नियन्त्रणका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आए पनि खेतबारीका झाडी जलाउँदा, वनमा घाँसको लागि तथा वन्यजन्तुको आक्रमण रोक्न आगो लगाउँदा, चुरोट, बिडी खाएका टुटा जङ्गलमा फ्याँक्दा, आगोको जथाभाबी प्रयोग गर्दा डढेलो बढेको डिभिजन वन कार्यालयले जनाएको छ ।