फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख २३ गते । चर्चित उखानलाई विश्वास मान्ने हो भने १२वर्षमा खोलो फर्किन्छ तर कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को खारापानीका लागि यो उखान अपवाद हो । २०६९ वैशाख २३ गते बिहान आएको सेती नदीको बाढीले खारापानी बजारलाई बगर बनाउनुका साथै ६५ जनाको ज्यान लिएको थियो । सो घटनापछि बजार पुनर्निर्माण भएको छैन । खारापानी अझै खण्डहर छ ।
त्यहाँ बनाइएको स्मृति पार्क झाडीले छोपिएको छ । अहिलेसम्म नदीछेउमा ग्याबिन र जग्गा सम्याउनेबाहेकका काम भएका छैनन् । घटनालगत्तै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा माओवादीका तत्कालीन अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि खारापानी पुगेर चाँडै बजारलाई पहिलेकै अवस्थामा ल्याउने आश्वासन दिनुभएको थियो । बाढीमा श्रीमती गुमाउनुभएका सन्तोष गुरुङले त्यो आश्वासन बिर्सनुभएको छैन ।
खारापानीनजिकैको चिप्लेटीमा व्यापार गर्दै आउनुभएका सन्तोष बाढी आउँदा तर्सिनुहुन्छ । “सेती छेउछाउ जानै मन लाग्दैन । मैले त परिवार र सम्पत्ति गुमाएँ । फेरि बाढी आउँदा कसैले ज्यान गुमाउनु नपरोस्,” उहाँले भन्नुभयो । जिल्ला प्रशासन कार्यालय कास्कीले त्यस बेला सङ्कलन गरेको विवरणमा बाढीबाट चार करोड ९६ लाख २८ हजार रुपियाँ बराबरको आर्थिक क्षति भएको उल्लेख छ ।
त्यसताका वनभोज खाने र तातोपानी कुण्डमा नुहाउन जानेको भिडले खारापानी बजारको रौनकै बेग्लै थियो । अहिले हम्मेसी पर्यटक त्यहाँ जाँदैनन् । खारापानीको पारिपट्टि नदी किनारमा तातोपानीको सानो कुण्ड निस्केको छ तर त्यो सुनसान छ । त्यहाँ वृक्षरोपण गर्ने, बेपत्ता भएकाको सम्झनामा स्मृति पार्क, विश्राम स्थल, वनभोज स्थल, पिउनेपानीका धारालगायत निर्माणका योजना बनेका थिए ।
खारापानी क्षेत्र पर्ने माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष गणेश आचार्यले खारापानी बजार अब स्मृतिमा मात्र बाँकी रहेको बताउनुभयो । “पालिकाको बजेटबाट पुनर्निर्माण सम्भव छैन । पहिला जताततैबाट आश्वासन आएको थियो । अहिलेसम्म कतैबाट काम भएन,” उहाँले भन्नुभयो ।
त्यसबेला बेमौसमी बाढी अन्नपूर्ण चौथो हिमालबाट हिमपहिरो खसेर आएको भूगोलविद्हरू बताउँछन् । भूगोलविद् प्राडा कृष्ण केसीले हिमपहिरोबाट बनेको अस्थायी ताल फुट्दा ढुङ्गा, लेदो माटोसहितको पानीले रौद्र रूप लिएको बताउनुभयो । पोखरा उपत्यकाको निर्माण नै ठुला भूकम्पपछि आएका त्यस्तै बाढीबाट भएकोतर्फ सङ्केत गर्दै उहाँले फेरि पनि त्यस खालका विपत्ति निम्तिन सक्ने सचेत गराउनुभयो ।
“पोखराको निर्माण नै त्यस्तै बाढीबाट भएको देखिन्छ,” उहाँले भन्नुभयो, “हामीले खारापानीमा पुनर्निर्माण त गरेनौँ र वैशाखमा आएको बाढीबाट पनि केही सिकेनौँ ।” माछापुच्छ्रेको साँदालदेखि तनहुँको भीमाद बजारसम्मको तटीय क्षेत्र यस्ता बाढी आए प्रभावित हुने उहाँको भनाइ छ । उहाँले आधुनिक साइरन राख्ने, सेतीको विस्तृत रूपमा भौगर्भिक अध्ययन गर्ने र पोखरा उपत्यकामा बाढीबाट आउन सक्ने जोखिमको पूर्वतयारी गर्नुपर्ने सुझाव दिनुभयो ।बाढीमा छोरी आराधनालाई गुमाएपछि पोखराको सिद्धार्थचोकका बासिन्दा दिलीप श्रेष्ठ बसाइँ नै सर्नुभयो । पुरानो घर, त्यहाँका स्मृति र सेती नदीले उहाँलाई उही त्रासदी सम्झाइदिन्छ । छोरीको स्मृतिमा स्कुलमा अक्षयकोष स्थापना गरेर उहाँले विपन्नलाई छात्रवृत्ति प्रदान गर्ने गर्नुभएको छ ।
मृत घोषित ६५ जनाका परिवारले सरकारका एक लाख रुपियाँका दरले मात्र राहत पाएका थिए । घरबारविहीन हुनेले २५ हजार रुपियाँबाहेक पाएनन् । त्यस बेला बाढी दिउँसो आएको र बेलैमा सूचना पाएकाले ठुलो क्षति टरेको थियो । माछापुच्छ्रे –७, भलाउदीका गुमानसिंह गुरुङले सेतीमा बाढी आएको पोखरामा आफन्तलाई खबर गरिदिएपछि नदी छेउछाउमा काम गर्दै गरेकाहरू सुरक्षित ठाउँमा जान भ्याएका थिए । भूगोलविद् प्राडा केसीले भन्नुभयो, “अबका विपत्ति दिउँसै आउँछन् भन्ने छैन । सेती छेवैमा बस्ती बढेका छन् । पूर्वसूचनाका संयन्त्र छैनन् । हामी महाविपत्को प्रतीक्षामा बसेजस्तो अवस्था छ ।”