• ५ जेठ २०८१, शनिबार

देश बनाउने जिम्मेवारी एमालेमा भएको सन्देश : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ।

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २२ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पछिल्लो उपनिर्वाचनले देशको भविष्य बनाउने जिम्मेवारी एमालेको काँधमा रहेको सन्देश दिएको बताउनुभएको छ । इलाम–२ प्रतिनिधि सभा र बझाङ –१ को प्रदेश सभा निर्वाचनको परिणामले सो सन्देश दिएको उहाँको भनाइ छ । 

कीर्तिपुरमा शनिबार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । महासचिव पोखरेलले देशलाई नेतृत्व गर्ने क्षमता एमालेसँग मात्र रहेको पनि परिणामले देखाएको चर्चा गर्नुभयो ।  

इलाम उपनिर्वाचनले कोशी प्रदेश नामकरणलाई पनि अनुमोदन गरेको उहाँको भनाइ छ । पहिचानको नाममा अस्थिरता मच्चाउनेलाई इलामको निर्वाचनमा मतदाताले अस्वीकार गरेको उहाँले दाबी गर्नुभयो ।  

अर्कोतर्फ इलामका जनताले पपुलिज्म राजनीति गर्न खोज्नेलाई पनि बहिष्कार गरिदिएको उहाँले बताउनुभयो । पुराना दलप्रति जनताका आशा र भरोसा रहेको परिणामले देखाएको उहाँले प्रष्ट पार्नुभयो ।  

पूर्व राजा ज्ञानेन्द्रलाई ‘राजा आऊ, देश बचाउ’ भनेर तमासा देखाउनेलाई पनि इलाम निर्वाचनले पाठ सिकाएको उहाँले बताउनुभयो । ६० हजार भोट खसेको इलामको निर्वाचनमा राजावादीले एकसय भोट पनि ल्याउन नसकेको उहाँले चर्चा गर्नुभयो । 


बझाङमा प्रदेश सभाको निर्वाचनले पनि एमालेको काँधमा जिम्मेवारी थपेको बताउनुभयो । पछिल्लो जितले सुदूरपश्चिम सरकार गठनमा पनि सहज भएको उहाँले चर्चा गर्नुभयो । ‘सो स्थानमा अहिले केन्द्रको समीकरणअनुसार प्रदेश सरकार बन्न सक्ने स्थितिलाई सो निर्वाचनले जोगाएको छ’ उहाँले बताउनुभयो ।  

महासचिव पोखरेलले जनताले देश बनाउने पार्टी, देशको विकास र समृद्धिको लागि काम गर्ने पार्टी एमाले हो भन्ने कुरा पुनः  प्रमाणित गरिदिएका बताउनुभयो । ‘देशको भूगोल, जातजाति र सिङ्गो राष्ट्रलाई जोड्ने सामर्थ्य कुनै पार्टीसँग छ भने त्यो एमालेसँग छ’ उहाँले भन्नुभयो ।