• ५ जेठ २०८१, शनिबार

चर्किएपछि नाग्मा पुलको पुनः निर्माण

blog

भत्काएर पुनः निर्माण हुँदै माग्न पक्की पुल तस्बिर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, वैशाख २२ गते । जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ नाग्मा र जुम्ला जिल्लाको तिला गाउँपालिका जोड्ने पुलको पुनः निर्माण सुरु भएको छ । ठेकेदारले गुणस्तरहीन सामाग्रीको प्रयोग गरेर ढलान गर्दा चर्किएको कालीकोट र जुम्ला जोड्ने हिमा नदी माथिको पक्की पुल भत्काएर पुनः निर्माण  सुरु भएको हो । 

२०७९ असोजमा आएको बाढीले ढलान भइसकेको पक्की पुल बिचै भागमा चर्किएपछि यसैलाई मर्मत गर्ने वा भत्काएर पुनः निर्माण  गर्ने विषयमा लामो समय छलफल भए पनि पुनः निर्माण  गर्ने दबाब पछि ३६७ घन मिटर ढलान भत्काएर पुल पुनः निर्माण  गर्न सुरु भएको छ । पुरानो ढलान पुल भत्काउँदा झन्डै ४१ टन सरिया (रड) खेर गएको निमार्ण कम्पनीको दाबी छ । यो पुललाई पुरै भत्काएर अहिले अर्को पुल निमार्णको काम भइरहेको छ । पुल निमार्णको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि दीपक खड्काले दैविक प्रकोपका कारणले आफ्नो कम्पनीलाई ठुलो क्षति भएको बताउनुभयो । उहाँले हामीलाई क्षति एकातिर छ, अर्को तर्फ समयमा निमार्ण सम्पन्न नहुने भएकाले राज्य र नागरिकलाई पनि समस्या भएको बताउनुभयो । 

कम्सल निमार्ण सामाग्रीको प्रयोगका कारणले ढलान भएको पुल भासिएको स्थानीयको आरोप छ । तिलागुफा नगरपालिका वडा नं १ का निर्वतमान वडा अध्यक्ष दलसुर कटुवालले निमार्ण कम्पनीले अरू कुनै सहायक फमवालालाई पुल निमार्णको जिम्मा दिएका कारणले यस्तो समस्या आएको बताउनुभयो । उहाँले कम्पनीको बदनाम सूर्य कन्स्ट्रक्सनको हुने भएकाले पेटी ठेकेदारले कमसल निमार्ण सामाग्रीको प्रयोग गरेका कारणले पुल बिचैमा चर्किएको बताउनुभयो । बिच भागमा पुल चर्किएपछि यसैलाई रि मर्मत गर्ने वा भत्काउने विषयमा विवाद भएको थियो । 

प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पुल पुरै भत्काएर पुनः निर्माण  नगरेमा निमार्ण कम्पनी देखि ठेक्का प्रदायक कार्यालयका कर्मचारीले जवाफ दिनु मात्र होइन चर्केको पुल टालटुल गर्नुको कारण दिनु पर्ने दबाब दिएपछि पुल पुनः निर्माण  गरिएको बताइन्छ । अहिले सीमा क्षेत्रको पुल पुनः निर्माण  हुन थालेपछि स्थानीय खुसी भएका छन् । माग्न बजारका व्यवसायी मायालाल महताराले पुन पुनः निर्माण  हुनु नै अब पुल मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो । 

पहिलो चर्केको पुल अब कमसल हुँदैन, त्यसैले पनि पुल बलियो हुने र आगामी दिनमा जति ठुलो बाढी आए पनि पुललाई क्षति गर्न नसक्ने महताराको भनाई छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले पुल निमार्णको काम नसकिँदै चर्किएपछि त्यसै पुललाई पास गर्नु गलत हुने भएकाले भत्काएर पुनः निर्माण  गर्न लगाएको बताउनुभयो । उहाँले निमार्णको काम सकेपछि पनि एक वर्ष सम्म केही भएमा निमार्ण कम्पनीकै जिम्मा हुने भएकाले निमार्णको काममा कहीँ कतै नियमविपरित हुन्छ भन्न नसकिने सुनाउनुभयो । 

अहिले पुल पुनः निर्माणको काम भइरहेको छ । पुलको कालीकोटको तर्फको जमिन समेत कमजोर भएकाले पहिरोको जोखिम पनि उतिकै छ । यो पक्की पुल निमार्ण भएमा कर्णाली राजमार्गको कालीकोट जुम्लाको वेलिबृज पुलको जोखिम यात्रा टर्ने छ ।