३१ वर्षअघि कक्षा ८ मा पढ्दा आठ वटामध्ये पाँच वटा पुराना किताब मैले पढेँ । त्यसमा गणित र भूगोल किताब त १२ वर्ष पुराना थिए । किताबमा नाम लेख्ने चलनले त्यो किताबको उमेर बताउँथ्यो । आफूभन्दा अघि ककसले त्यो किताब पढेका रहेछन् भनेर चाल पाइन्थ्यो तर अहिले विद्यालय र विश्वविद्यालय तहमा पुराना किताब पढ्ने रुचि विद्यार्थीमा देखिँदैन । सबै नयाँ किताब खोज्ने भएकाले शैक्षिक सत्र सुरु भएको महिना दिन हुन लाग्दा पनि प्रकाशकले विक्रेतासम्म किताब पुर्याउन सकेको हुँदैन ।
विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु भएसँगै नयाँ पाठ्यपुस्तक, कापी आदिको किनबेच अधिक हुने समय हो । प्रकाशक र प्रकाशन गृहलाई भ्याइनभ्याई छ । पुराना किताबले नै चलाउँछु भन्नेहरू निजी क्षेत्रमा छँदै छैनन् । सामुदायिक विद्यालयका विद्यार्थी पनि उसै मेहेरोमा छन् । सरकारले पनि पुराना किताबलाई प्रवर्धन गर्ने ठोस नीति लिए जस्तो लाग्दैन । अभ्यास पनि किताबमा नै गराउने (वर्क बुक) पद्धति झन् मौलाएको छ । विद्यार्थीलाई किताब हिफाजत गर्न सिकाइएको पाइँदैन तर नयाँ किताब छपाउँदा कति वातावरणीय क्षति हुन्छ भन्ने कुराको चेत कति मानिसले राखेको होला ?
परीक्षालक्षित साना पुस्तक, गेस पेपर, क्याप्सुल, गाइड, प्रश्नपत्र सँगालो, पुराना प्रश्नको समाधान पुस्तक या अन्य यस्तै सामग्री पनि नयाँ नै खोजिन्छ । विगत वर्षहरूकै हुबहु भए पनि नयाँ, त्यही सालमा नै छापिएको चाहिन्छ विद्यार्थीलाई । लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायत प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि छापिएका पुस्तकजन्य वस्तु अपरिवर्तित पाठ्यक्रम भए पनि, विषयवस्तु र व्याख्या उही भए पनि उम्मेदवारलाई पुरानामा विश्वास छैन र उसले नयाँ नै खोज्छ ।
कार्यालयका आन्तरिक छाप्य सामग्री, घरमै पढ्नका लागि बनाइएका नोटकपी जस्ता वस्तु प्रिन्ट गर्दा एकातर्फ मात्र गर्ने चलन छ । त्यो कागज (पेपर) आधा मात्र प्रयोगमा आई आधा खेर जान्छ । मेरा एक जना प्रशासक मित्रले कागज निर्माणमा लाग्ने ऊर्जा र कच्चा पदार्थ अनि यसको वातावरणीय हानि राम्ररी बुझ्नु भएकाले हाल उहाँले आन्तरिक प्रयोजनमा छपाइ गरिने सम्पूर्ण सामग्री कागजको दुवैतर्फ छाप्ने नियम बनाउनुभएको छ । परिणामस्वरूप कागजको खपत आधा घटेको उहाँ दाबी गर्नुहुन्छ ।
वास्तवमा कागज आजको एउटा ठुलो वातावरण नाशक र आर्थिक खर्चालु वस्तु भएको छ । त्यसमाथि सधैँ नयाँ नै चाहिने भन्ने धारणाले यसको माग बढेर वातावरणीय क्षति अझै बढिरहेको छ । आजभन्दा दुई हजार वर्षअघि कागजको आविष्कार चीनमा भएको हो, औद्योगिक उत्पादन पनि चीनबाटै सुरु भयो र आज पनि सबैभन्दा ठुलो उत्पादक देश चीन नै हो । कागज उत्पादन र प्रयोगले वातावरणमा सबै प्रकारका प्रदूषण हुन्छन् । फोहोरको थुप्रोमा खोज्दा २६ प्रतिशत फोहोर कागजजन्य पाइन्छ । हामी कागजरहित (पेपरलेस) कार्य र जमानाको कुरा गरिरहेका छौँ तर कागजको उत्पादन भने हरेक साल वृद्धि हुँदै आएको छ ।
एक तथ्याङ्कले भनेको छ, सन् २००५ देखि २०२० मा पुग्दा यसको माग ठिक दुई गुणाले बढेको छ । विश्वमा अघिल्लो वर्ष ४१ करोड चार लाख मेट्रिक टन कागज उत्पादन भएको थियो । प्रयोग दर हेर्ने हो भने एक जना व्यक्तिले अमेरिका र युरोपतिर एक वर्षमा दुई सयदेखि २५० किलोसम्म कागजजन्य सामग्री प्रयोग गर्छन् । दक्षिण एसियामा प्रयोग दर निकै कम अर्थात् पाँच किलो प्रतिव्यक्ति, प्रतिवर्ष रहेको छ भने नेपालमा तीन किलोभन्दा केही बढी छ । आधुनिकतासँगै फेरिएको जीवनशैलीलाई हेरौँ न, होटलमा पानीले धुनुको सट्टा कागजले मुख हात पुछिन्छ । शौचालयमा कागजको धेरै प्रयोग हुन्छ । टिस्युपेपर अनुहार र जिउ पुछ्न प्रयोग गरिन्छ । एक गिलास पानीले कपडा भिजाएर पुछ्दा हुने काममा दर्जनौँ टिस्युपेपर खर्च गरिन्छ ।
कागज बनाउने कच्चा पदार्थ रुख हो र अहिलेकै दरमा सबैले प्रयोग गरेमा संसारमा भएका एउटै रुख बाँकी रहन्न भन्ने अनुमान वैज्ञानिकले गरेका छन् । एउटा ए फोर साइजको कागज तयार गर्न यसको तौलभन्दा कम्तीमा तीन गुणा धेरै कच्चा पदार्थ र कम्तीमा १० लिटर पानी अनि अन्य ऊर्जा चाहिन्छ । फेरि जति कागज बनाइएको छ, पुनर्चक्रण हुने ४५ प्रतिशत मात्र हो, बाँकी कुहिएर जान्छ । अनि त कच्चा पदार्थ खोज्न रुखबिरुवातिरै आँखा लगाउनु पर्छ । व्यापारिक तथा औद्योगिक प्रयोजनमा काटिने रुखको ४० प्रतिशत चाहिँ कागज उत्पादनका लागि हुने गरेको काउन्ट वर्ड भन्ने एजेन्सीले उल्लेख गरेको छ ।
ऊर्जा खपतका दृष्टिले कागज उद्योग पाँचौँ ठुलो हो, जसले विश्वमा उपलब्ध ऊर्जाको ४ प्रतिशत खपत गर्छ । एक टन कागज बनाउनलाई २५३ ग्यालोन पेट्रोल आवश्यक पर्छ । बायो रिसोर्सेस टेक्नोलोजी रिपोर्ट भन्ने विज्ञान पत्रिकामा छापिएको एक लेखका अनुसार हामीले प्लास्टिकको विकल्पका रूपमा सिफारिस गर्ने गरेको कागजले यसको जन्मदेखि अन्त्यसम्म वातावरणीय क्षति पु¥याउँछ । कच्चा पदार्थका लागि वन विनाश हुने कुरा जनाइएको छ भने प्रशोधनका लागि पानी र अकार्बनिक रसायन धेरै मात्रामा प्रयोग गरिएको हुन्छ अनि पेपर उद्योगबाट निस्किएको फोहोर पानीमा भएको रसायनले जलचरको ग्रन्थी प्रणाली र स्नायुमा धेरै असर गरेको पाइयो । जलाउँदा पनि कार्बन मोनोअक्साइड र डाइअक्साइड निस्केर प्रदूषण गर्ने अनि कुहाउँदा पनि मिथेन ग्यास निस्किएर वायु, माटो र पानीलाई हानि गर्ने गरेको पाइयो । यही वर्ष वायुमण्डलमा हरितगृह ग्यास सञ्चयको २१ प्रतिशत भाग कागज उद्योगले लिएको तथ्य छ ।
नेपालमा विद्यार्थीले र कार्यलयीय काममा धेरै कागज खपत गरेको पाइन्छ । विद्यालय र विश्वविद्यालयमा गरी करिब सवाकरोड विद्यार्थी छन्; जसले किताब र कापी नियमित प्रयोग गर्छन् । यसै अनुपातमा माथिल्ला कक्षामा पनि छन् । छपाइसँगै कागजको प्रयोग प्याकिङमा र अन्य गृह निर्माणका अवयवमा अनि ध्वनि शोषक सतह निर्माणका लागि पनि हुन्छ । यस किसिमका प्रयोग चाहिँ विकसित देशमा बढी चलेको छ । माग र उत्पादन बढेसँगै कागजको मूल्य पनि हरेक साल अकासिँदो छ । विगत दुई दशकदेखि प्रत्येक वर्ष मूल्य करिब १० देखि २५ प्रतिशतले बढिरहेको छ ।
कागज र कागज उद्योगले वातावरणमा असर गर्ला कि भनेर संयुक्त राष्ट्रसङ्घको वातावरणीय कार्यक्रम (युएनइपी) सन् १९७४ देखि नै सचेत भएको देखिन्छ । उसले सोही समयदेखि विश्व कृषि तथा खाद्य कार्यक्रम (एफएओ) सँगको सहकार्यमा अनुसन्धान गरिरहेको छ । अनुसन्धान अनुसार यस प्रकारको उद्योगका कच्चा पदार्थको स्रोत रुखबिरुवा हुन् अनि रुखबिरुवाले यसलाई धान्न सक्ला ? यसको दिगोपना कसरी कायम गर्न सकिएला ? यस्ता उद्योगको भविष्य कस्तो होला ? पछिल्ला वर्षहरूमा पनि विश्वका संस्थाहरूले यस क्षेत्रमा काम गर्र्र्दै आइरहेका छन् । उनीहरूले यसमा ठुलो चुनौती देखेका छन् र विश्वसमुदायलाई सचेत पनि गराउँदै आएका छन् कि कच्चा पदार्थको उत्पादनमा जोड देऊ, कागजको प्रयोग घटाऊ र वातावरणीय क्षति न्यून गर ।
सजिलै गल्ने, प्रयोग गर्न सजिलो हुने, सजिलै उपलब्ध हुने, प्रदूषण कम गर्ने आदि फाइदा देखेर कागजको प्रयोगलाई बढावा दिँदै आउँदा अहिले यसको फुर्मासी बढ्यो । प्रयोगका साथमा दुरुपयोग भयो । यसले आर्थिक र वातावरणीय क्षति बढायो, कच्चा पदार्थ नपाएर उद्योगहरू सङ्कटमा फसे । तसर्थ अब कागजको विकल्पमा जान हतार गर्नुपर्ने देखियो । त्यसका लागि सबैभन्दा पहिला सोच बदल्नु पर्दछ । विद्यालय तहमा पुराना किताब पढ्दा हुन्छ । किताब सुरक्षा गर्न विद्यार्थीलाई प्रेरित गरौँ, सफा किताब राख्नेलाई पुरस्कृत गरौँ । पुराना किताब पढ्ने हो भने र अपुग किताब मात्र छपाइ गर्ने हो भने नेपालको सन्दर्भमा कागजको प्रयोगमा झन्डै आधा कटौती हुन्छ ।
आन्तरिक प्रयोजनका छपाइ पन्नाको दुवैतर्फ गरौँ । पाठ्यक्रममा सामान्य परिवर्तन हुँदैमा नयाँ किताबमा आँखा नलगाऔँ । छपाइमा नै आउनु पर्छ भन्ने छैन, कतिपय स्मारिका, जर्नल, सेमिनारका सुभेनियर, सारांश किताब, संस्थाका वार्षिक प्रतिवेदन, राजनीतिक प्रतिवेदन तथा दस्ताबेजहरू आदि कागजमा छपाइ गर्न आवश्यक छैन । यस्ता सामग्रीलाई कम्प्युटरका अनेक प्रणाली जस्तै पिडिएफ बनाएर क्युआर कोड बनाई वितरण गर्ने हो भने कति कागज र कागजसँगै वातावरण तथा ऊर्जाको बचत होला । किताबलाई इलेक्ट्रोनिक बुक बनाउने, सेवा आयोगका परीक्षा तयारीका पुस्तक स्क्रिनमै पढ्न सकिन्छ । कम्प्युटर र आइटी प्रणालीमार्फत नै छपाइलाई विस्थापित गर्न सकिन्छ; जसले यसको पारवहनमा समेत हुने खर्च जोगाउँछ ।