• ४ जेठ २०८१, शुक्रबार

‘ओ पेङ्दोर्जे’ रङ्गमञ्चमा उत्रिँदा

blog

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख २१ गते । पूर्वपश्चिम जोड्ने राजमार्ग खन्न थालियो । देशका विभिन्न ठाउँबाट कामको खोजी गर्दै ठेकेदारकोमा पुगे । रामबहादुर तामाङले पनि सडक खन्न पसिना र परिश्रम खर्चिए । एक हजार २८ किमी लामो यो राजमार्गको नाम राखियो, महेन्द्र राजमार्ग । दिनभर काममै जोतिने रामबहादुरलाई त्यो नाम मन परेन । थाकेको जिउ लिएर भट्टी पुगेको रामबहादुरले टेबुल ठोक्दै असन्तुष्टि पोख्न थाल्यो, “यो बाटोको नाम रामबहादुर मार्ग हुनु पर्छ ।”

सडक छेउमा भोलिपल्ट एउटा शव भेटियो । त्यो शव रामबहादुर तामाङको थियो । ‘मजदुर मार्ग’ को कथाको सुरुवात यसरी नै हुन्छ । अन्तर्राष्ट्रिय मजदुर दिवसलाई पोखरा थियटरले नाटक मञ्चन गरी मनाउन सुरु गरेको छ । बुधबारदेखि सुरु भएको मञ्चन वैशाख २९ सम्म सञ्चालन हुने थियटरका प्रमुख कार्यकारी अधिकृत परिवर्तनले जानकारी दिनुभयो ।

महाभारत कछाडको गरिब मजदुर रामबहादुरको मृत्युलाई दुर्घटना ठह¥याइयो । त्यही दुर्घटनाको घाउले आहत तामाङ परिवारको अवस्था वरिपरि नाटकले फेरो मारेको छ । कवि राजु स्याङ्तानको कविता सञ्चयन ‘ओ पेङ्दोर्जे’ का चार कवितालाई सिर्जनात्मक परिकल्पनासहित नारायण न्यौपानेले गम्भीर, मार्मिक र सदावहार कथाको रूप दिनुभएको हो । ताते गर्ने बेलाको छोरो, भर्खरै जन्मिएकी छोरी र सुत्केरी श्रीमतीलाई छाडेर ‘राजाको काम’ गर्न गएको रामबहादुरको जीवन उतै समाप्त हुन्छ । राजमार्ग बनेर देशकै जीवनरेखामा बदलिँदा पनि रामबहादुर जस्ता मजदुरको अवस्था फेरिँदैन, फेरिएको छैन । उसको छोरो बाउ खोज्न र पैसा कमाउन सहर पस्छ, विदेश जान्छ । पैसा पठाउन सक्दैन, कफिनभित्र बन्द भएर आफैँ फर्किन्छ । 

नाटकमा तामाङ संस्कृति र संस्कारलाई देखाउन खोजिएको छ । कामकै खोजीमा बिदेसिनेले पाएको हन्डर देखाइएको छ । निर्देशक न्यौपाने भन्नुहुन्छ, “यो हरेक समयका मजदुरको कथा हो । मजदुर दिवस छेक देशको विगत र नफेरिएको वर्तमान देखाउन खोजेका छौँ ।” करिब एक घण्टाको नाटकमा धनकाजी श्रेष्ठ, सुसन पौडेल, सुनिता थापा, कुमार तामाङ, रोशनी रामदाम, रमेश तिमिल्सिना, राजकुमारी गहतराज, रोहित पौडेल, परिवर्तन, आकाश परियार, समीक्षा पौडेल र नारायण न्यौपानेको अभिनय रहेको छ । सिन्धुपाल्चोक हुँदै करिब दुई सय वर्षअघि महोत्तरी बसाइँ सरेको तामाङ परिवारका कवि राजु स्याङ्तान कविताभित्रको कथाबाट नाटक बन्दा दङ्ग हुनुहुन्छ । 

उहाँले भन्नुभयो, “मलाई बुवाले राजमार्ग देखाउँदै हामीले खनेका हौँ भन्नु हुथ्यो, छोरा जन्मिए पिपा र छोरी जन्मिए सुसारे बन्नुपर्ने तामाङको अवस्था लोकतन्त्रमा पनि फेरिएन ।” उहाँले भन्नुभयो, “कविताले विम्बमा भन्न खोजेको यथार्थ नाटकमा अभिनयबाट अझै बढी खुलस्त र प्रस्ट देखियो ।”