• ८ मंसिर २०८१, शनिबार

जीवनको क्यानभासमा दाम्चा र नल टाँस्दै रामकुमार

blog

बाबुराम कार्की  

आधा शरीर नचलेर ओछ्यान परेका ४१ वर्षीय रामकुमार तिवारीको समय केराका दाम्चा र छ्वालीका नल टुक्रा पार्ने कार्यमै बित्ने गरेको छ । दिग्दारीलाग्दो समयलाई दाम्चा, नल, गम र कागजसँगै खेलेर तिवारीले सिर्जनशील कार्य गर्दै आउनुभएको छ । चित्रले माग गरेको आकारप्रकारका दाम्चा र छ्वालीका टुक्रालाई गमको सहायताले कागजमा टाँसेर तिवारीले सुन्दर कला तयार पार्दै आउनुभएको छ । 

सानो चिटिक्क परेको घर, बाटोबाटै देखिने तिवारीको आर्ट ग्यालरी । उहाँको ग्यालरीमा विश्वका महान् व्यक्तित्वदेखि प्राकृतिक सुन्दरतामय चित्र देख्दा आगन्तुक सबैको मनै लोभ्याउने गरेको छ । कलाकार तिवारीसँग पहाडे कागज, कैँची, फित्ता, गहुँको छ्वाली, केराको दाम्चा, गम साथसाथै हुन्छ । घरसम्मै कला पारखी चित्रकला किन्न आइपुग्दा आफ्नो कर्ममा जुट्न तिवारीलाई थप उत्साह जुट्ने गरेको छ । तिवारीले तयार पारेका हस्तकलाका सुन्दर कलाकृति देशविदेशका कला पारखीका कोठामा सङ्गृहीत छन् । एउटै कृतिको पाँच हजार रुपियाँसम्ममा बेचिएका छन् । कलाकार तिवारी भन्नुहुन्छ, “मेरा चित्रमा रङको प्रयोग हुन्न । रङका रूपमा दाम्चा र नलका टुक्रा टाँसिन्छन् । कहिलेकाहीँ रङ र ब्रस पनि समाउँछु ।”

व्यक्ति मुहारचित्र बनाउन विशेष रुचि राख्ने तिवारीले विश्वका महान व्यक्तित्व, प्राकृतिक सौन्दर्यलाई क्यानभासमा उतार्दै आउनुभएको छ । परिवार पाल्ने र पालिने प्रमुख स्रोतका रूपमा तिवारीको हस्तकलाले सहयोग पु¥याएको छ । युरोपमा मात्र उहाँले दुई लाख रुपियाँभन्दा बढीका चित्रकला बिक्री गरिसक्नुभएको छ । छ्वालीबाट बनाएको व्यक्तिचित्र १८ हजार रुपियाँमा बिक्री गरेको कलाकार तिवारी स्मरण गर्नुहुन्छ । कलाकार तिवारीका अनुसार एउटा चित्र बनाउन एकदेखि तीन दिनसम्म लाग्छ । 

नैराश्यको सिरानी हालेर दिग्दारीको ओछ्यानमा समय बिताइरहेका तिवारीका लागि दधिवल चापागाईं पथप्रदर्शक बनेर देखा पर्नुभयो एक दिन । तिनै चापागाईंले खेर गइरहेका केराका दाम्चा र गहुँको छ्वालीबाट चित्र बनाउन सकिने र यसले एकान्त जीवनलाई सरल बनाउने दीक्षा दिनुभयो । दाम्चा र नलले चित्र बनाउनसमेत सिकाइदिनुभयो । दिलचस्पीसाथ तिवारीले पनि चित्रकला बनाउन सिक्नुभयो । कहिले सुतेरै कहिले ह्विलचेयरमा बसेर दाम्चा र छ्वाली काट्न सिक्दै टाँस्दै गर्नुभयो । अहिले त्यही दाम्चा र नलले तिवारीको परिचय र परिवारको अर्थअवस्था नै बदलिदिएको छ । 

सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–३ का कलाकार तिवारी रोजगारीका लागि भारतमा रहँदा विद्युतीय दुर्घटनामा पर्नुभएको थियो । भारत हरियाणा राज्यको राहटोकस्थित कुखुरा फार्ममा काम गर्दा विद्युतीय झट्का लागेर कम्मरमुनिको भाग नचल्ने भएपछि घरमै ओछ्यान पर्नुभएका तिवारीले उपचारकै लागि सबै सम्पत्ति सक्नुभयो । सम्पत्ति सकिएपछि श्रीमती, आफन्तले पनि साथ छाड्दै गए । सात वर्ष ओछ्यानमा लडिरहेका बेला भरौल इक्राइस्थित मर्निङस्टार स्कुलमा आएका लैला सिस्टर, अदेले निग्रेले तिवारीको जीवन निराशालाई आशामा बदलिदिए । उनीहरूले तिवारीको थप उपचारमा सहयोग गरे । शारीरिक व्यायाम सिकाइदिए । एउटा ह्विलचेयर किनिदिए । जसले तिवारीको जीवनमा थोरै आशाको त्यान्द्रो पलायो । उहाँ भन्नुहुन्छ, “केही मिनेट ओछ्यान छाडेर ह्विलचेयर चढेर कोठाबाहिरको खुला आकाशमा निस्कँदा पनि बाँच्ने आशा पलाउन थाल्यो ।”

त्यसपछि तिवारीलाई लाग्यो, उचित अवसर र वातावरण भएमा अशक्त मानिस पनि केही गर्ने क्षमता राख्छ । उसलाई उजागर गर्न परिवार, समाज र राष्ट्रकै सहयोग र हौसला आवश्यक पर्छ ।