• २७ वैशाख २०८१, बिहिबार

नब्बे काटेका पनि परिचयपत्रका लागि धाउँदै

blog

राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय कास्की आउनुभएका पिउरे घर्ती

रमेश पौडेल

पोखरा, वैशाख १५ गते । “उमेरले ९० काटेँ, घर मेरो पोखरा–२२, पुम्दीभुम्दी हो । पुरानो नागरिकता च्यातिएर अर्को नागरिकता बनाउन पर्छ भन्छन् । नागरिकता हैन अझै अर्को कार्ड के हो कुन्नि त्यो थाहा छैन । वडा कार्यालयले यहाँ जानु भनेर आएको हुँ । अस्ति के मिलेन थाहा भएन आज फेरि आएको छु ।”

हातमा लौरो टेकेर अड्डा आउनुभएका पिउरे घर्तीले भन्नुभयो, “भत्ता बुझ्न पनि त्यही कागज चाहिन्छ रे, त्यो भएन भने पाइन्न भन्छन्, त्यही भएर म बुढो मान्छे एक्लै अड्डा धाएको छु ।” 

 १२ छोरा १३ नाति, बुढाको धोक्रो काँधैमाथि भने झैँ चार छोरा, चार छोरी र दर्जनौँ नातिपनाति भएको बताउने घर्ती घरबाट दुई वटा गाडी फेरेर एक्लै राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय कास्की आइपुग्नुभयो । उहाँले भन्नुभयो, “अम्दानी केही छैन, भएको १० मुरी खेत पनि सबै छोरालाई बाडिदिएँ अहिले कसैले हेर्दैनन् ।” 

गफैगफमा उहाँले तीन वर्षअगाडि श्रीमती आफूलाई छोडेर गएको बताउनुभयो । उहाँले भन्नुभयो, “पवित्राले छोडेर गएको पनि तीन वर्ष भयो । उनको माया पनि त्यस्तै थियो । अहिले त्यही तिनले छोडेर गएको एकतले सानो कुटीमा बस्छु र भन्छु, भगवान् मलाई पनि चाँडै लैजाऊ । चिउरा खाँदा खाँदा ग्यास्ट्रिक भएको छ, त्यसैको औषधी खान्छु ।” घर्तीका कान्छी छोरी छोरेपाटन रहे पनि छोरीको घरमा बस्नै मन नलागेको बताउनुहुन्छ । छोरीचाहिँ चिउरा भुटेर ल्याउँछे, दही चिउरा खान्छु । म बुढो मान्छे भात पकाएर खान सक्दिनँ । मेरो दैनिकी नै चिउरा हो । मलाई आफ्नै ठाउँमा फ्यास्स परान गए हाइसुख्ख हुन्थ्यो, मलाई भाग्यले साथ दिएन, म अभागी रहेछु । छोरीले बोलाउँछिन् । बुढाबुढीलाई आफ्नै घर प्यारो लाग्ने ! 

भत्ता एकातिर छ तर हाम्रो समाजमा ज्येष्ठ नागरिकका समस्या जटिल बन्दै गएका छन् । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि गाउँ गाउँबाट सदरमुकाम आउने पिउरे घर्ती मात्र हुनुहुन्न, कास्कीमा दैनिक एक सयभन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिने गर्दछन् ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले राष्ट्रिय परिचयपत्रका लागि नागरिकता अनिवार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय परिचयपत्र बनाउन तीन वर्षअगाडि गाउँ गाउँमा शिविर नै सञ्चालन भएको थियो । शिविरमा छुटेकाहरू जिल्ला प्रशासन आएरै फारम भरेर बायोमेट्रिक गर्नुपर्ने हुँदा कार्यालय आउनुपर्ने बाध्यता छ ।” 

 पोखरा महानगरपालिका २२ का वडा अध्यक्ष हिमलाल बराल सरकारले राष्ट्रिय परिचयपत्रको नम्बरलाई सिस्टममा राखेको जानकारीसहित आफूहरूले चाहेर मात्र पनि परिचयपत्र नभएकालाई दिन नसक्ने बताउनुभयो । उहाँले विगतमा सञ्चालन भएका शिविरमा कतिपय नागरिक आएनन् भने कतिका बिग्रिएका हुनाले पनि नागरिकलाई दुःख भएको बताउनुभयो ।