• २५ वैशाख २०८१, मङ्गलबार

गुराँसले लालिमा चढेको महाबु लेक (फोटो फिचर)

blog

महाबु लेकमा फुलेको लालीगुराँस । तस्विरः विशाल सुनार

बिशाल सुनार

दैलेख, बैशाख १४ गते । दैलेखको शिर मानिने महावु लेकमा यतिबेला लाली चढेको छ । लाली अर्थात् थरीथरीका ढकमक्क फुलेको लालीगुराँसले लेक नै मनमोहक बनेको छ । प्रकृतिको लालित्य चढेपछि सडक किनारदेखि अक्करे भिरमा पनि ढकमक्क गुराँस फुलेपछि वातावरण रमणीय बनेको छ । 

सडक सञ्जालको सहज पहुँच भएपछि व्यक्तिगत मात्र हैन, परिवारसँगै घुम्न रुचाउनेहरुका लागि महावु नयाँ गन्तव्य बनेको छ । जोखिम मोलेरै महावुसम्म पुग्ने आगन्तुकले आँखै अगाडि १२ भन्दा बढी प्रकारको गुराँस देखेपछि मन्त्रमुग्ध हुन्छन् । 

दैलेखको महावु गाउँपालिका, नौमुले गाउँपालिका र नारायण नगरपालिकासँग जोडिएको उच्च लेकाली भूभागमा पर्ने महावु पर्या पर्यटनको सम्भावना भएको क्षेत्र हो । दैलेख बजारदेखि ४२ किलोमिटर सडक दूरीमा छ । अक्करे भिर छिचोलेर निर्माण गरिएको सडकमा करिब दुई घण्टाको यात्रापछि पुग्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि भावरसैनी, नाउली,  उन्पाटामा खान बस्ने व्यवस्था भएकाले बस्नेहरुका लागि सहज छ ।