• २३ वैशाख २०८१, आइतबार

डढेलोले ४२ घर पूर्णक्षति

blog

आगलागीबाट क्षति भएका घरहरु । तस्बिर : राधा नेपाली

राधा नेपाली
सन्धिखर्क, वैशाख १४ गते ।
अर्घाखाँचीमा आगलागीबाट ४२ घर पूर्णरुपमा जलेका छन् । घर जलेपछि पीडित परिवार त्रिपालमुनी बस्न बाध्य छन् । ५८ गोठ पूर्ण र दुई आंसिक गरी ६० वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

आगलागीमा परी ५३ पशुचौपायाको मृत्यु भएको छ १९ पशुचौपाया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतितसिंह राठोरदे जानकारी दिनुभयो । जिल्लामा आगलागी नियन्त्रण भइसकेको छैन । दैनिक रुपमा आगलागीका घटनाहरु भइरहेको जानकारी प्रमुख राठोरले बताउनुभयो ।

वैशाख महिनामा मात्र जिल्ला भर ३१ स्थानमा आगलागी भएको छ । एक वर्षमा जिल्लाका ११३ स्थानका दुई हजार १८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालयका वन अधिकृत यादव सापकोटाले जानकारी दिनुभयो । वन क्षेत्रमा घाटगद्यी गरिएको पाँच सय ८३ क्युफिट काठ जलेर नष्ट भएको भएका छन् ।

अर्घाखाँचीमा पछिल्लो समयमा आगलागीका घटनाहरु बढीरहेका छन् । यही वैशाख महिनामा मात्र जिल्ला भर ३१ स्थानमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी प्रतितसिंह राठोरले बताउनुभयो ।

सबै पालिकामा दमकल नहुँदा र आगो नियन्त्रणका सामग्रीहरु प्रयाप्त नहुँदा आगलागी नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताउनुभयो । जिल्लाका ६ वटा स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकामा मात्र दमकल रहेको छ । अन्य पालिकाहरुमा भने दमकल छैन ।