• २३ वैशाख २०८१, आइतबार

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’ : ‘माइण्ड ब्लोइङ’

blog

काठमाडौँ, वैशाख १३ गते । शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बोक्सीको घर’ को प्रिमियर भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको प्रिमियर शो भएको हो ।

प्रिमियर शो कार्यक्रमपछि कलाकारहरुले चलचित्रले सामाजिक कथावस्तु बोकेको र कुप्रथालाई अन्त्य गर्न सन्देश दिएको बताए । उनीहरुले यस किसिमका चलचित्रहरु सबैले हेर्नुपर्ने बताए ।

कार्यक्रमपछि बोनुहुँदै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘माइण्ड ब्लोइङ’ रहेको प्रतिक्रिया दिनुभयो । उहाँले चलचित्र चुनौतीपूर्ण विषयमा बनेको बताउनुभयो । उहाँले आजको दिनमा यस विषयमा चलचित्र निर्माण गर्नु नै चुनौतीको विषय भएको बताउनुभयो ।

त्यस्तै अभिनेता शोभित बस्नेतले बोक्सीको घटना आफूले नदेखेको र विश्वास पनि नरहेको बताउनुभयो । उहाँले महिलालाई बोक्सीको आरोपमा पीडित बनाएको कथावस्तु फिल्ममा उतारिएको जानकारी दिनुभयो ।

त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले बोक्सीको घर चलचित्रको विषय चलचित्रकर्मीले उठाउनुपर्ने विषय भएको बताउनुभयो । उहाँले विकृति, विसङ्गतिलाई चिर्नुपर्ने ऐनाको पर्यायको रुपमा बोक्सीको घर निर्माण भएको औंल्याउनुभयो ।

त्यस्तै अभिनेत्री निशा अधिकारीले चलचित्र सबै किसिमबाट उत्कृष्ट रहेको बताउनुभयो । उहाँले चलचित्र बन्नु नै पर्ने रहेको बताउनुभयो । त्यस्तै अभिनेत्री बेनिसा हमालले चलचित्रले कुप्रथा र अन्धविश्वासलाई मान्न नहुने सन्देश दिएको बताउनुभयो । उहाँले अहिले पनि समाजमा धेरै महिला यस प्रकारको कुप्रथाबाट पीडित रहेको जानकारी दिनुभयो ।

अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र उत्कृष्ट रहेको र समाजको कथा बोकेको बताउनुभयो । उहाँले महिलालाई बोक्सी भनिन्छ भनेर पुरुषलाई भन्नुपर्छ भन्नेतिर नभ कसैलाई पनि यसबाट पीडित बनाउनेतिर लाग्न नहुने बताउनुभयो ।

अभिनेत्री केकी अधिकारीले चलचित्रमा सामाजिक यथार्थवादी चित्रण गरिएको बताउनुभयो । उहाँले एउटा व्यक्तिको जीवन यात्राको कथा चलचित्रमा समेटिएको बताउनुभयो । समाजका कुरीतिका कारण उज्ज्वल भविष्य बनाउनसक्ने व्यक्तिको जीवन सकिन्छ भन्ने कुरा चलचित्रमा देखाइएको बताउनुभयो । अभिनेता सलोन बस्नेतले सुनेका कुराहरु सिनेमामा देखाउन खोजेको कुराले मन छोएको र समुदायको घटनालाई आवाज उठाएकोमा खुशी लागेको बताउनुभयो ।

चलचित्र बोक्सीको घर शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । भर्खरै स्कुल पढ्दै गरेकी नाबालिकाको विवाह आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग भएपछि उसले अन्धविश्वासका कारण समाजबाटै भोगेको हिंसाको कथा फिल्ममा देखाइएको छ ।

समाजमा बोक्सी भनेर लगाइने आरोप र त्यसकै आधारमा महिलामाथि हुने अन्यायलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रुर बन्नसक्छ भन्ने तथ्यलाई समेत कलात्मक ढङ्गले फिल्ममा देखाइएको छ ।

चलचित्रका लेखक एवम् निर्देशक सुलक्षण भारती हुनुहुन्छ । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा केकी अधिकारी, श्वेच्छा राउत, सुष्मा निरौला, सविन बाँस्तोला, सुपला सापकोटालगायतका कलाकारको अभिनय छ ।