• ९ मंसिर २०८१, आइतबार

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

blog

गोदावरी (कैलाली), वैशाख १३ गते । कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना निर्माण सुरु भएको छ । चुरे गाउँपालिका–२, ४ र ६ गरी तीन वडामा छवटा सिँचाइ योजना निर्माण सुरु गरिएको हो ।

 चुरेका विभिन्न खोलाको पानी नहर संरचना निर्माण गरी खेतीयोग्य जमिनमा सिँचाइ बिस्तार गर्न सिँचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सुरु गरिएको भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको अनुदानबाट विनियोजित रु झण्डै एक करोडको लागतमा छवटा सिँचाइ योजना उपभोक्ता समितिमार्फत निर्माण सुरु भएको कार्यालयका प्रमुख इन्जिनियर अमरबहादुर पालले बताउनुभयो ।

कार्यालयले दिएको जानकारीअनुसार खैरालाखोला सिँचाइ योजनामा रु १५ लाख, रानी भुकुडामा रु २० लाख, भुकुडा खोलामा रु १५ लाख, कुमैनामा रु १५ लाख, आमपानी खोलामा रु १५ लाख र बुङ्गा खोलामा  १५ लाख बजेट विनियोजन गरिएको छ । 

तरकारी र फलफूलखेतीको पकेट क्षेत्रका रूपमा चिनिने चुरेमा सिँचाइ अभावका कारण किसानले आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहँदै आएको स्थानीय टेकबहादुर शाहले बताउनुभयो । सिँचाइ योजनाले समस्यामा परेका किसानलाई राहत मिल्ने उहाँको भनाइ छ । 

निर्माण सुरु गरिएका सबै क्रमागत योजना रहेको डिभिजन कार्यालयले जनाएको छ । चुरे गाउँपालिका सबै वडामा बेमौसमी तरकारी, सुन्तला, कागती, अमिलो, अदुवालगायत अन्य दलहन बालीका लागि पकेट क्षेत्रका रूपमा रहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

विभिन्न वडामा निर्माण सुरु भएका सिँचाइ योजना सम्पन्नपश्चात् किसानका खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको जनाइएको छ । रासस