• २२ वैशाख २०८१, शनिबार

द्रुतमार्ग निर्माणमा बजेट अभाव

blog

निर्माणाधीन धनगढी–दिपायल–चैनपुर–उरै भन्ज्याङ द्रुतमार्ग । तस्बिर : कलम साउँद

अविनाश चौधरी

धनगढी, वैशाख १३ गते । सुदूरपश्चिम प्रदेशको मुख्य सहर धनगढीदेखि डोटीको दिपायल हुँदै बझाङ चैनपुर–उरै भन्ज्याङसम्म जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि बजेट अभाव भएको छ ।  

चालु आर्थिक वर्षमा सरकारले पठाएको बजेट खर्च भइसकेकाले सम्पन्न हुनुपर्ने बाँकी कामका लागि बजेट अभाव देखिएको हो । धनगढी–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडक योजना कार्यालयका अनुसार, चालु आर्थिक वर्षमा फास्ट ट्र्याकका लागि २५ करोड रुपियाँ बजेट आएको थियो । प्राप्त बजेट खर्च भएकाले बाँकी रहेको काम गर्न रकम अभाव भएको कार्यालयका सूचना अधिकारी दिनेश रौखेलाले बताउनुभयो । बजेट अभाव हुँदा निर्माण कम्पनीलाई भुक्तानी दिन समस्या भएको उहाँले बताउनुभयो । 

“फास्ट ट्र्याकमा बजेट अभाव भएपछि दुई करोड रुपियाँ भुक्तानी दिन सकिएको छैन,” उहाँले भन्नुभयो, “थप बजेट माग गरेका छौँ । असारसम्म आउने आश्वासन मिलेको छ ।” करिब १८६ किलोमिटर दुरी रहेको यो सडकको ४५ किलोमिटरमा कालोपत्रेका लागि ठेक्का गइसकेको छ । धनगढी बजारको हसनपुरदेखि गोदावरी नगरपालिकाको स्याउलेसम्म कालोपत्रेको काम सकिएको छ । 

यसै गरी स्याउलेदेखि हाटखोलीसम्म १३.४ किलोमिटरमा पनि कालोपत्रेको काम अन्तिम चरणमा पुगेको सडक योजना कार्यालयले जनाएको छ । हाटखोलीदेखि डोटीको विपिनगरसम्म ग्राभेलको काम पूरा भएको छ । यो द्रुतमार्ग अन्तर्गत कैलालीमा १३.४ र डोटीमा ९.४ किलोमिटर गरी जम्मा २२.८ किलोमिटर सडक कालोपत्रेका लागि २०७८ साल वैशाखमा ठेक्का सम्झौता भएको थियो । कैलालीमा थप सात र डोटीमा १५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि दोस्रो चरणमा ठेक्का सम्झौता भएको छ । करिब ७५ प्रतिशत सडकखण्ड निर्माण तथा कालोपत्रेका लागि ठेक्का सम्झौता हुन बाँकी रहेको छ ।