• २६ वैशाख २०८१, बुधबार

काउलीको पातको गुन्द्रुक ब्रान्डिङ गरिदै

blog

उत्पादित गुन्द्रुक परीक्षणका लागि खाद्य तथा दाना स्वच्छता एवं गुणस्तर नियमन महाशाखा बबरमहल काठमाडौँ महाशाखामा बुझाइँदै । तस्विर: गाेरखापत्र

बाबुराम शर्मा

दोलखा, वैशाख १२ गते । दोलखाको सैलुङ गाउँपालिका–८ का किसानले रायो र काउलीको पातको गुन्द्रुकको ब्रान्डिङ बनाउन थालेका छन् । दुःख गरेर उत्पादन गरेको रायो र काउलीको पातको गुन्द्रुकले बजार नपाएर बिचौलियालाई दिँदा किसान ठगिएको महसुस भएपछि यसरी ब्रान्डिङ गर्न सुरु गरिएको बताएका छन् । 

वडा र स्थानीय मोहनसिं तामाङको पहलमा उत्पादित गुन्द्रुक ब्रान्डिङ अनुमतिका लागि खाद्य तथा दाना स्वच्छता एवं गुणस्तर नियमन महाशाखा बबरमहल काठमाडौँ पुर्याइएको छ । एक महिनामा यसको नतिजा दिने जानकारी स्थानीय किसान दिपेश श्रेष्ठले बताउनु भयो । 

बिचौलियाले किसानसँग प्रतिकिलो दुई सयमा लिएर प्रतिकिलो आठ सयमा बिक्री गर्ने गरेको थाहा पाइयो । दुःख गरेर उत्पादन गर्ने मेहनती किसानहरू ठुलो मारमा परेपछि किसान उकास्न यो विधि अपनाउन लागिएको स्थानीय मोहनसिंह तामाङले बताउनु भयो । 

यसबाट ब्रान्डिङ गुन्द्रुकले बजार पनि पाउने र किसानहरूले बिचौलिया मनोमानीबाट छुटकारा पाई परिश्रमको उचित मूल्य पनि पाउँछन् । यसले किसानलाई रायो तथा काउली खेतीप्रति उत्प्रेरण पनि गर्दा खेतीमा तल्लीन गराएर आयआर्जनमा लगाउने उहाँले स्पष्ट पार्नुभयो । 

वडाको मनगाउँ, फलामे पोखरी, बस्नेत गाउँ र तल्लो पोखरेका किसानले वार्षिक १० लाख बरावरको गुन्द्रुक उत्पादन गर्दै आएका छन् । बजारको थप सुविधा पाएपछि यसको दोब्बर हुने अपेक्षा राखिएको छ । 

यी गाउँ रायो, काउली र आलु खेतीमा अब्बल रहेका छन् । यो गाउँको प्रत्येक घरमा गुन्द्रुक बन्ने गरे तापनि बजार नपाउँदा र बिचौलियाको मारमा पर्दा पाहुनाहरूलाई  उपहारमा सीमित हुनु परेको  किसानहरूको गुनासो रहेको छ ।