• २१ वैशाख २०८१, शुक्रबार

बँदेलको आक्रमणबाट सात जना घाइते

blog

फाइल तस्बिर ।

रजनी योगी 

सुर्खेत, वैशाख ११ गते । दैलेखको भैरवी गाउँपालिका–६ मा बँदेलको आक्रमणमा परि सात जना घाइते भएका छन् । जङ्गलबाट मात्तिएर गाउँ पसेको बँदेलले मानिसलाई आक्रमण गरेको वडा नं. ६ का वडा अध्यक्ष तुलबहादुर हमालले बताउनुभयो । 

घाइते हुनेमा गणेश सिजाली, लछुमन पुन मगर, रत्नबहादुर बराल, तर्क बहादुर पुन मगर, पूर्ण सिजाली, जयबहादुर थापा मगर र तिलक पौडेल रहेको हमालले जानकारी दिनुभयो । मंगलबार बिहानको समयमा घरमै बसिरहेको अवस्थामा बँदेलले आक्रमण गरी घाइते बनाएको हो । 

आक्रमणमा परेका तीन जनालाई उपचारका लागि स्थानीय खम्बागाडे बजारको लाइफ किअर फार्मेसी लगिएको छ । गाउँभरी मानिस घाइते भएको खबर आएको र उपचारका लागि आउनुभएका गणेश सिजालीलाई थप उपचारका लागी जिल्ला अस्पताल दैलेखमा पठाइएको फार्मेसी सञ्चालक अर्जुन सुनारले जानकारी दिनुभयो । 

गत फागुनमा भैरवी–६ कै ६३ वर्षीया पवित्रा कँडेललाई बँदेलले घरमै आक्रमण गर्दा प्रदेश अस्पताल सुर्खेतमा उपचार भएको थियो । उहाँको खुट्टाको साप्रो र हातको औला बँदेलले चपाएको वडा अध्यक्ष हमालले जानकारी दिनुभयो । 

बँदेलका कारण खाद्यान्न तथा अन्न बाली जोगाउनै धौ–धौ हुने र बर्सेनि अन्न बालिमा क्षति पुग्ने गरेको र मानिसहरूमाथि पनि आक्रमण गर्ने गरेका घटनाहरू भइरहेको स्थानीय लोकेन्द्र पौडेलले बताउनुभयो ।