• ८ मंसिर २०८१, शनिबार

महावीर हनुमानको स्मरण

blog

आर्य संस्कृतिमा चैत्रशुक्ल पूर्णिमाको दिन देशभर रामभक्त हनुमानको जन्मजयन्ती मनाइन्छ । यसपालि हनुमान जयन्ती वैशाख ११ गते मङ्गलबार परेको छ । महावीर हनुमानको जन्म चैत्रशुक्ल पूर्णिमाको दिन सुमेरु राज्यका राजा केशरी र माता अञ्जनीको गर्भबाट भएको तथ्य भेटिन्छ । पूर्वजन्ममा अप्सरा रहेकी माता अञ्जनी श्रापबाट मनुष्य योनीमा जन्म लिएकी थिइन् । वर्षौंसम्म कुनै सन्तान नभई गहिरो चिन्तामा परेकी अञ्जनीले भगवान् शिवको कठोर तपस्या गरी उनकै वरदान र पवनदेवको आशीर्वादबाट अत्यन्तै तेजस्वी र पराक्रमी पुत्र प्राप्त गरेकी हुन् । 

पवनदेवको आशीर्वादका कारण हनुमानलाई पवनपुत्र पनि भनिन्छ । यस दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने तथा दुःख, कष्ट र सङ्कटबाट मुक्ति पाइने धार्मिक विश्वास छ । हनुमानलाई सङ्कटमोचनका रूपमा पनि पूजा गरिन्छ । वज्रको जस्तो समान शरीर भएकाले हनुमानलाई बजरङ्गबली पनि भनिन्छ । मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामलाई अष्टचिरञ्जीवीका रूपमा पूजा आराधना गर्ने चलन छ । आठै जना अहिलेसम्म जीवितै रहेको विश्वास गरी जन्मोत्सवको दिन अष्टचिरञ्जीवीको विशेष पूजा गरिन्छ । 

बाल्यावस्थामा सूर्यलाई निल्नु, एउटै छलाङमा समुद्र पार तर्नु, लङ्किनी, कालनेमीलगायत अन्य राक्षसको वध गर्नु हनुमानको ज्वलन्त पराक्रम हुन् । यसै गरी लङ्काका राजा रावणले सीता हरण गरी लङ्का पु¥याएपछि श्रीरामले दस वटै दिशामा सीता खोज्न दूत पठाउनुभएको थियो । त्यसबेला सात समुद्र पार गरेर लङ्का पुगेर माता सीताको पत्ता लगाउनुपर्ने विशेष जिम्मेवारी हनुमानको थियो । किनकि उनी वायुका पुत्र थिए । कुनै बेला ऋषिको श्रापले उड्न सक्ने शक्ति बिर्सिएका हनुमानलाई सुग्रीवका एक मन्त्री जाम्बवानले त्यो शक्तिको स्मरण गराएका थिए । कारण यो थियो कि बाल्यकालमा हनुमान अत्यन्त चकचके र चन्चले स्वभावका थिए । साधुसन्तहरूलाई दुःख दिने, ऋषिको तपस्यामा बाधा पु¥याउने काम गर्दथे । त्यसैले एउटा ऋषिले उनलाई आफ्नो शक्ति बिर्सने र अरू कसैले सम्झाएपछि मात्र आफ्नो शक्ति याद आउने श्राप दिएका थिए । जाम्बवानले हनुमानलाई आफ्नो शक्ति स्मरण गराएपछि उनी शरीर फुलाएर सात समुद्र पार गरी लङ्का पुगेका थिए । त्यहाँ पुगेर लङ्काको सुरक्षार्थ खटिएका लङ्किनीहरूबाट बच्दै माता सीतालाई राखिएको अशोक वाटिका पत्ता लगाई माता सीतालाई भेटेर आफ्नो परिचय दिई श्रीरामको सन्देश सुनाए । यसै क्रममा श्रीरामले पठाउनुभएको औँठी पनि माता सीतालाई प्रमाणका रूपमा पेस गरेका थिए । 

यसै क्रममा हनुमानलाई अत्यन्तै भोक लागेकाले माता सीताको अनुमति लिएर त्यहीँ अशोक वाटिकामा लटरम्म फलेका फल खाँदै गर्दा त्यहाँका सैनिकसँग हनुमानको मुकाबिला नै परेको थियो । यसै क्रममा रावणका कान्छा छोरो अक्षयकुमारले प्राण गुमाउनुप¥यो । पछि रावणका जेठो छोरो मेघनादले ब्रह्मास्त्र प्रहार गरी हनुमानलाई बन्दी बनाएर लङ्काका राजा रावणसम्मुख पु¥याएका थिए । लङ्काका राजा रावणलाई पनि हनुमानले माता सीतालाई हरण गरी लङ्का ल्याउनु महापाप हो भन्दै सीतालाई ससम्मान श्रीरामकहाँ नै पु¥याइदिन अनुरोध गरे तर रावणले हनुमानको कुरा सुन्दै नसुनी उल्टै सैनिकलाई हनुमानको पुच्छरमा आगो लगाउन आदेश दिए । हनुमानको पुच्छरमा आगो लागेपछि उनले त्यही पुच्छरले एक ठाउँबाट अर्काे ठाउँमा उफ्रँदै लङ्का जलाउन पुगे । हनुमानले सीता माता बस्ने अशोक वाटिका र श्रीरामको नाम अङ्कित गरिएको विभीषणको घर भने जलाएनन् । 

यसै गरी रामका भाइ लक्ष्मणसँग रावणका छोरा मेघनादसँग भएको लडाईंको क्रममा मेघनादले लक्ष्मणलाई वीरघातिनी अस्त्र प्रहार गरेर मूर्छित पारेका थिए । त्यस अस्त्रबाट लक्ष्मणलाई बचाउन हनुमान द्रोणाचल पर्वतमा सञ्जीवनी बुटी लिन जानु परेको थियो । वीर हनुमानले द्रोणाचल पर्वतमा सञ्जीवनी बुटी चिन्न नसकेको कारण पहाडको थुम्को नै बोकेर ल्याइदिएका थिए । यसै बुटीको प्रभावले लक्ष्मणको प्राण बचेको थियो । यसैले हनुमानलाई काम फत्ते गर्ने वीरको संज्ञा पनि दिइन्छ । महाभारतकालमा वीर हनुमानले कुन्तिपुत्र भीमसेनको घमण्ड चुर पारेका थिए भने अर्जुनको घमण्ड पनि चकनाचुर पारेका थिए । यसै क्रममा कुरुक्षेत्रको युद्धमा अर्जुनको रथको ध्वजामा हनुमान विराजमान भएका थिए र युद्धको अन्त्यसम्म उनको रक्षा गरिरहे । 

सदा श्रीराम र माता सीताको आज्ञालाई शिरोधार्य गर्दै उहाँहरूकै समीपमा रही अनवरत सेवा र अटूट भक्ति गरेको हुनाले हनुमानलाई भक्त शिरोमणि पनि भनिन्छ । हनुमानले माता जानकीबाट अष्टसिद्धि र नौ निधिको वरदान प्राप्त गरेका थिए भने भगवान् श्रीरामबाट कल्पको अन्त्यसम्ममा यस ब्रह्माण्डमा चिरञ्जीवी भइरहने वरदान प्राप्त गरेका थिए । यसै गरी कुनै बेला श्रीरामको दरबारमा सीताले हनुमानलाई एउटा दिव्य हार दिनुभएको थियो । त्यो हार पाएपछि हनुमानले त्यस हारलाई चुँडालेर फुटाएर हेर्न थाले । त्यसपछि दरबारका अधिकारीहरूले हनुमानलाई यसो गर्नुको कारण सोधे । 

हनुमानले भने कि यो हारभित्र भगवान् श्रीराम र माता सीता हुनुहुन्छ कि हुनुहुन्न भनेर हेरेको हुँ । अनि ती अधिकारीहरूले भन्न थाले कि तिम्रो हृदयभित्र भगवान् श्रीराम र सीता हुनुहुन्न होला ! त्यसपछि हनुमानले आफ्नो छाती च्यातेर मेरो हृदयभित्र श्रीराम र माता सीता यसरी रहनुभएको छ भनेर देखाइदिए । आफ्नो भक्तको त्यस्तो भक्तिभाव एवं दृश्य माता सीताले देख्नुभएपछि अत्यन्त खुसी भएर हनुमानको शरीरमा सिन्दुर र तेल लगाइदिएर शरीरलाई जोडी पहिलेको भन्दा पनि तेजिलो शरीर बनाइदिनुभएको प्रसङ्गले पनि हनुमानको शरीरमा सिन्दूर र तेल लेपन गर्नुको महत्व बढेको प्रस्ट हुन्छ । 

कलियुगमा हनुमानले परमभक्त तुलसीदासलाई दर्शन दिएका थिए । श्रीमद्भागवत अनुसार कलियुगमा हनुमान गन्धमादन पर्वतमा निवास गरी हावाका रूपमा सबै स्थानमा भ्रमण गरी आफ्ना भक्तलाई विभिन्न बाधाबन्धन तथा समस्याबाट बचाउँछन् । यसैले नियमित रूपमा हनुमान चालिसाको पाठ तथा भगवान् सीतारामको भक्ति गर्नाले रोग, शोक, सङ्कट, शनि, राहु केतुलगायत अन्य ग्रहदोष, नकारात्मक प्रभाव हटी सकारात्मक ऊर्जा प्राप्त हुने, स्मरण शक्ति वृद्धि हुने, मुद्दामामिला, बन्धन, घटना दुर्घटना तथा मायावी जालको प्रभाव अनि दोषबाट मुक्त हुनाका साथै परिवारमा सुख, शान्ति तथा सुरक्षा प्राप्त भई मनोकामनासमेत पूरा हुने गर्दछ । यसैले मङ्गलबार र शनिबारको दिन हनुमानको पाठपूजा गरौँ र विशेष कृपा प्राप्त गरौँ ।

  

Author

बोधनाथ पौडेल