• २१ वैशाख २०८१, शुक्रबार

लोप हुँदै बाँसबाट बनेका सामग्री

blog

बाँसका सामग्री बनाउँदै स्थानीय महिला । तस्बिर : मिना कँडेल

मिना कँडेल

कावासोती, वैशाख १० गते । पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले बाँसबाट बनेका सामग्री लोप हुँदै गएका छन् । ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदैआएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, थुन्से र भकारी लोप हुँदैगएका छन् ।  

पूर्वी नवलपरासीको गैँडाकोटमा बाँसका सामग्री बने पनि बिक्री हुने तर लागतअनुसारको मूल्य नपाउने समस्या छ । पहाडी क्षेत्रमा बाँसको उत्पादन राम्रो हुने भएकाले जीविकोपार्जनका लागि महिलासमेत त्यसतर्फ आकर्षित छन् । गैँडाकोट नगरपालिका –३ भुजेल गाउँमा ३५ घरधुरी छन् । 

यहाँका प्रत्येक घरका सदस्य दिनभरि डोको, डालो, नाङ्लोलगायतका सामग्री बनाउन व्यस्त हुन्छन् । उहाँहरूको आम्दानीको स्रोत यही पेसा हो । तर आफ्नो लागतअनुसारको मूल्य नपाउँदा भुजेल समुदाय चिन्तित छन् ।

गैँडाकोट नगरपालिका –३ भुजेल गाउँका संसरी भुजेलको दैनिकी पनि डोको–डालो बुनेर नै बित्ने गर्छ । घरखर्च चलाउने र बालबच्चा पढाउने मुख्य पेसा यही भए पनि उचित बजार र मूल्य नपाउँदा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो पुर्ख्यौली पेसा बाँसको सामग्री (डोको, डालो, नाङ्लो) बुन्नु हो । हामीले जानेको सीप यही हो ।”

स्थानीय जगबहादुर भुजेलले १६ वर्षको उमेरदेखि डोको, डालो, नाङ्लो र मान्द्रो बुन्न सुरु गर्नुभएको छ । पुर्ख्यौली पेसा पछ्याउँदै आउनुभएका भुजेलले ७० वर्षको उमेरसम्म पनि आफ्नो पेसालाई निरन्तरता दिनुभएको छ । सबै सामानको मूल्य बढ्दा आफूहरूले बनाएको सामानको मूल्य नबढेको उहाँले बताउनुभयो । 

गैँडाकोट नगरपालिका गैँडाकोट –३ का वडाध्यक्ष शिवकान्त तिवारीले बजारमा आएका प्लास्टिकका सामानले चोयाबाट बनेका सामान विस्थापित गर्दैलगेको बताउनुभयो । मुख्य बजार नारायणगढ रहेकाले गाउँमा बिक्री नहुने र उचित मूल्य नहुँदा लगानीसमेत उठाउन गाह्रो भएको उहाँको भनाइ छ । 

दुःख गरेर बनाएको डोको–डालोले परिश्रम अनुसारका मूल्य नपाएको साथै लगानीसमेत उठाउन गाह्रो भएकाले नगरपालिकाले सामग्री बुन्ने औजार वितरण गरेको बताउनुभयो । लागतमा कम हुँदा स्थानीयलाई केही राहत मिल्न सक्ने हुनाले आफूहरूले औजार वितरण गरेको उहाँको भनाइ छ ।