• २२ वैशाख २०८१, शनिबार

आगो निभाउने क्रममा दुई जना घाइते

blog

रेखीराम राना

तानसेन, वैशाख ९ गते । जिल्लाको विभिन्न स्थानमा लागेको आगो निभाउने क्रममा तीन जना घाइते भएका छन् । शनिवार दिउँसोदेखि लागेको आगो निभाउने क्रममा रैनादेवी छहरा–१, का ५५ वर्षका टोपबहादुर बुढा गम्भीर घाइते हुनुभएको छ । उहाँको थप उपचारका लागि तानसेनस्थित अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ का वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिनुभयो । 

सिद्धेश्वरको साउने, मन्द्रान, मोहरे क्षेत्रमा शनिवार बिहानैदेखि आगलागी भएको थियो । आगलागीबाट स्थानीय भरिवश्वर पाण्डेय र रामनाथ पाण्डेको घर गोठ जलेर नष्ट भएको छ । सिद्धेश्वर क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आउने सकेको छैन ।

यस्तै माथागढी–४,जामुनडाँडामा आगो निभाउने क्रममा स्थानीय ६५ वर्षका पूर्णबहादुर काम्मु घाइते हुनुभएको छ । काम्मुको अवस्था भने सामान्य रहेको माथागढी गाउँपालिकाका प्रवक्ता शङ्कर दर्लामीले जानकारी दिनुभयो । स्थानीय खमीसरा काम्मुको गोठबाट सल्केको आगोले पाँच जनाको घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएको थियो । घर गोठमा लागेको आगो नियन्त्रणमा आए पनि उक्त आगो जङ्गलमा पसेको र अझैँ नियन्त्रणमा आउन नसकेको दर्लामीले जानकारी दिनुभयो । 

यसैबिच जिल्ला सदरमुकाम तानसेनको बतासे डाँडा, श्रीनगरडाँडा, धरम पानीलगायतका क्षेत्रमा लागेको आगो पूर्ण रूपमा नियन्त्रण आएको छैन । बगनासकालीको चिर्तुङ्धारा क्षेत्रमा लागेको आगो, रिव्दीकोटको विभिन्न स्थानमा लागेको आगो पनि नियन्त्रणमा आउन नसकेको स्थानीय बासिन्दाले जनाएका छन् । शनिवार बेलुकीदेखि लागेको आगो आइतबार बिहान पनि निभाउने प्रयास भइरहेको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो । 

गए राति तानसेनको श्रीनगरमा लागेको आगो । तस्बिर ः रेखीराम राना