• २१ वैशाख २०८१, शुक्रबार

ग्रामीण नेता खत्रीलाई मन्त्री जिम्मेवारी

blog

लुम्विनी प्रदेश सरकारका नवनियुक्तमन्त्री रत्न खत्रीलाई गृहजिल्ला बाँकेमा सम्मान गरिदैं । तस्बीरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, बैशाख ८ गते । लुम्विनी प्रदेश सरकारका नवनियुक्त मन्त्री रत्नबहादुर खत्रीको पहिचान ग्रामीण नेताको रहेको छ । तत्कालीन गाउँ विकास समितिका अध्यक्षका छोरा समेत रहेका खत्रीलाई मन्त्री जिम्मेवारी प्राप्त हुँदा स्थानीय खुशी भएका छन् ।

करिब डेढ दशकदेखि नेकपा (एमाले) बाँके जिल्ला कमिटीको पदाधिकारीको रुपमा भूमिका निर्वाह गर्दैआउनुभएका खत्री २०४६ मा अनेरास्ववियू बाँकेको जनता माविबाट प्रारम्भिक कमिटीमा रहेर राजनीतिमा प्रवेश गर्नुभयो ।

खत्रीलाई प्रभावशाली बक्ता र जनप्रिय नेताको रुपमा जिल्लाबासीले चिन्नेगरेका छन् । अनेरास्ववियु बाँकेको अध्यक्षदेखि २०६० मा महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभयो । हाल एमाले बाँकेको सचिवको रुपमा क्रियाशील हुनुहुन्छ । 

४६ बर्षीय खत्रीको जन्म सुर्खेतको सिम्ता गाउँपालिका –१ साविक घोरेटा गाविसको सुन्तलामा बुवा पृथ्वीबहादुर खत्री र आमा टीका खत्रीको कान्छो सन्तानको रुपमा भएको छ । उहाँका पिता पृथ्वीबहादुर २०५४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट साविक घोरेटा गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

राजनीतिक परिवारका खत्रीको स्थायी बसोबास हाल बाँकेको खजुरा गाउँपालिका –२ सितापुरमा रहेको छ । २०७९ को निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित लुम्विनी प्रदेशसभा सदस्य खत्रीले विनाविभागीय मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै गृह जिल्ला बाँकेमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुनुभयो । 

खत्रीलाई गठबन्धनमा भएको सहमतिअनुसार सामाजिक विकासमन्त्रीको रुपमा जिम्मेवारी दिन एमाले संसदीय दलले सिफारिस गरेको छ । मन्त्री खत्रीले बैशाख १२ गतेसम्म मन्त्री परिषदका सदस्यहरुको कार्य विभाजन सम्पन्न हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सङ्घीयता र प्रदेश बारेमा विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा प्रदेश सरकार जनताको नजिकको सरकार हो भनेर जनतालाई प्रत्याभूति दिन लागिपर्नेछौं, आगामी बजेटमा नयाँ योजनासाथ जनतालाई प्रदेश सरकार अपरिहार्य रहेछ भन्ने अनुभुति दिनेछौं ।’