• २१ वैशाख २०८१, शुक्रबार

कृषि मजदुर अभावमा गहुँबाली भित्र्याउन समस्या

blog

समयमा मजदुर नपाएपछि जिल्लाको माधवनारायण नगरपालिकाका किसानको खेतमा पाकेर झुरिएको गहुँबाली । तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, वैशाख ८ गते । कृषि मजदुरको अभावले गर्दा रौतहटका अधिकांश किसानले समयमा गहुँबाली भित्र्याउन पाएका छैनन् । कृषि मजदुर भई जिल्लामा निरन्तर रुपमा ज्याला बनी गर्न नपाएपछि मजदुरीकै लागि बाहिरिएका मजदुर नफर्किएपछि किसानले समयमा गहुँ बाली भित्र्याउन नपाएका हुन् । 

गुजरा नगरपालिका–५ का किसान शङ्कर चौधरी गुनासो गर्नुहुन्छ, “खेतमा गहुँ पाकेर झुरिएको अवस्थामा छ । गहुँ काट्ने किसान नभेटिएको कारण झुरिएको गहुँ खेत मै झर्न लागिसक्यो । अधिकांश किसानको गहुँबाली एकै पटक पाक्नु र मजदुर पर्याप्त नहुनुले पनि बाली भित्र्याउन समस्या परेको हो ।” 

जिल्लामा उपलब्ध कृषि मजदुर अपर्याप्त भएपछि सम्पूर्ण किसानले समयमा बाली भित्र्याउन सकेका छैनन् । माधवनारायण नगरपालिका सखुअवाका किसान जयकान्त यादवले चार बिघा जमिनमा लगाएको गहुँबाली अहिलेसम्म भित्र्याउन सक्नु भएको छैन । उहाँ गहुँ काट्ने मजदुरको खोजीमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गहुँ काट्न पाइयो भने चुट्न को लागि मेशिन उपलब्ध छ गाउँमा । अब एक-दुई दिनमा मेरो पालो आउँछ अनी काटाइ सुरु हुन्छ । 

यस्तै, समस्या जिल्लाका अन्य स्थानमा पनि छ । खेति गर्न मजदुरको अभाव, आधुनिक कृषि यन्त्रको अभाव, समयमा उन्नत मल र बिऊको अभाव, सिँचाईको अभावले गर्दा किसान कृषि पेशादेखि निरुत्साहित बनेका छन् । 

कृषि ज्ञान केन्द्र रौतहटका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जिल्लामा केषि योग्य जमिन ५४ हजार हेक्टर रहेको बताउनुहुँदै जसमध्ये करिब २३ हजार हेक्टर जमिनमा गहुँबाली लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लामा करिब ८० प्रतिशत गहुँबाली भित्रिसकेको छ । किसानले समयमा गहुँबाली भित्र्याउन नसक्नुको विभिन्न कारणमध्ये प्रमुख कारण कृषि मजदुरको अभाव पनि हो ।