• २१ वैशाख २०८१, शुक्रबार

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

blog

काठमाडौँ, वैशाख ८ गते । सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ । कपन साहित्य समाज, बूढानीलकण्ठ-१० (कसास) ले  आयोजना गरेको ‘नव वर्ष २०८१ को शुभकामना आदानप्रदान एवम् कविता भित्तेपात्रो लोकार्पण समारोह’मा साहित्यकारलगायत सबै संस्कृतिकर्मी र नगरपालिकालगायत सङ्घसंस्थालाई उक्त  ऐतिहासिकस्थलको अध्ययन-अनुसन्धान गरी विस्तृत दस्तावेज तयार पारेर सम्पदा सूचीमा समावेशको प्रयास थाल्न अनुरोध गरेको हो ।  

त्यस अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख तथा कसासका संरक्षक मिठाराम अधिकारीले साहित्यिक–सांस्कृतिकलगायत अन्य रचनात्मक क्रियाकलाप निरन्तररुपमा आयोजना गर्न आग्रह गर्नुभयो । साहित्यकार प्रा.शैलेन्दुप्रकाश नेपालले छोटा भएपनि जीवन र जगतका भोगाइ सटिकरुपमा भित्तेपात्रामा समेटिएको बताउनुभयो । साहित्यकार श्यामप्रसाद रिमालले हिरण्यकशिपुलाई वधपछि नृसिंह अवतारका भगवान विष्णुले शीतलता प्राप्त गर्न आएको ‘मृगेन्द्र शिखर’ भनिने लिच्छविपूर्वको बस्ती बूढानीलकण्ठ, शिवपुरी क्षेत्रका सबै पक्षबारे अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनुपर्ने बताउनुभयो । 

कसासका अध्यक्ष गणेशकुमार मिश्र, उपाध्यक्ष डा.विष्णु केसी र महासचिव लक्ष्मण अधिकारीले आगामी दिनमा संस्थालाई अझ क्रियाशील बनाएर राष्ट्रियरुपमा स्थापित गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । कसासका उपाध्यक्ष डा.केसी संयोजक तथा सचिव त्रिलोचन आचार्य र सदस्य होमशङ्कर बास्तोला रहेको प्रकाशन समितिको संयोजनमा प्रकाशित ‘कसास कविता क्यालेन्डर-२०८१’ मा गद्यपद्य कविता, गीत, गजल, मुक्तक, हाइकु र साइनो गरी साना छोटा ६८ रचना छन् ।

संस्थाले हालसम्म ‘कपन दर्पण’ का ‘स्मारिका-२०५८’, ‘कविता विशेषाङ्क-२०६२’, ‘पूर्णप्रकाश नेपाल यात्री स्मृति अङ्क-२०७२’ र ‘कविता विशेषाङ्क-२०६२’ प्रकाशन गरिसकेको छ । कपनमा साहित्यिक गतिविधि बढाउन पूर्णप्रकाश यात्री, घटराज भट्टराईलगायत स्थापित साहित्यकारको उल्लेखनीय योगदान छ । रासस