• २० वैशाख २०८१, बिहिबार

फरक पात्रको फरक कथा ‘स्मृति किनबेच’

blog

लेखनाथ समाचारदाता

लेखनाथ, वैशाख ७ गते । ‘स्मृति बिक्री केन्द्र’ होर्डिङ बोर्डमा लेखिएको छ । बाहिर मानिसको भिड छ, सुरक्षाकर्मीले सुरक्षा जाँचेर मात्रै मानिस भित्र पठाउँछन् । यहाँ स्मृतिका प्रकारसमेत छुट्याइएको छ । जस्तो दुर्घटना, यौन, प्रेम, धोका र हिंसा ।

कैयौँ विशद स्मृतिबाट पीडितको केन्द्र हो यो नाटक । प्रेमिकाका कारण कुलतमा फसेपछि आत्महत्या प्रयाससम्म गर्न पुगेका युवक आफ्नी प्रेमिका ‘सम्झना’ को स्मृति हटाउन स्मृति बिक्री केन्द्र आइपुग्छ । छोराले वृद्धाश्रम लगेर छाडेको वर्षौंसम्म त्यही छोरालाई पर्खंदै रोइरहेकी आमा अन्ततः छोराको स्मृति मेटाउन बिक्री केन्द्रमा पुगेको देखाइन्छ । नाटकमा अर्को पात्रले दुई सय पटकसम्म आफ्नो स्मृति बेच्छ र त्यसबाट आएको पैसाले रक्सी पिउँछ । सो नाटकमा एउटी महिला पात्र पनि छिन् । जो आफू बलात्कारमा परेको स्मृति मेटाउन पुग्छिन् तर उनका सबै स्मृति मेटिँदैनन् । त्यसपछिका दिनमा बिक्री केन्द्रको बाहिर न्याय माग्दै आन्दोलनमा उत्रिन्छिन् । 

यसै गरी नेपाल–भारतको सीमामा बस्ने नेपाली जसको नागरिकता छैन, उनको पनि कथा छ । उनकी छोरी दाइजोका कारण मारिन्छिन् भने श्रीमतीले त्यही पीडाले विष पिउँछिन् । त्यही स्मृतिलाई मेटाउन बिक्री केन्द्र आइपुग्छन् तर परिचयपत्र नहुँदा स्मृति मेटाउन पाउँदैनन् । यिनै विषयको पनि सँगालो हो नाटक ‘स्मृति किनबेच’ । स्मृति बिक्री केन्द्र बेच्नका लागि मात्र होइन, किन्ने ग्राहकका लागि पनि हो । लेखक, दार्शनिक, समाजशास्त्री मनोवैज्ञानिक, मानवशास्त्री मान्छेलाई बुझ्न, लेख्न स्मृति किन्न केन्द्रमा पुग्ने गरेका छन् । नाटकले अहिलेका रित्ता गाउँका दारुण कथा पनि बोलेको छ । नाटकमा आफूले नचाहेका स्मृति मेटाउन मिल्ने स्वैरकल्पनालाई पनि उतारिएको छ ।

साहित्यकार बुद्धिसागरको कथा स्मृति बिक्री केन्द्रमा आधारित नाटक रेनेसान्स थिएटरमा मञ्चन भएको हो । कथालाई ऋतेशले नाट्य रूपान्तरण गर्नुभएको हो । “हामीलाई यो कथाले झस्काइरह्यो, रङ्गमञ्चमा देखाउने प्रयास गरेका छौँ,” ऋतेश भन्नुहुन्छ । पोखराको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटकलाई धु्रव पौडेलले निर्देशन गर्नुभएको छ । विभु भुसाल, जनक पराजुली, प्रमिला तुलाचन, राजेन्द्र अधिकारी, विष्णु तिमिल्सिना, लक्ष्मण डुम्रेलगायतको नाटकमा अभिनय रहेको छ । नाटक वैशाख १५ सम्म मञ्चन हुने छ ।