• १८ वैशाख २०८१, मङ्गलबार

गुराँसे वनको मनमोहक दृश्यसँग रमाउँदै तीर्थयात्री

blog

पाथीभरा क्षेत्रमा ढकमक्क फुलेको गुराँसमा रमाउँदै तीर्थयात्री । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ५ गते ।
 यतिबेला ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा ढकमक्क फुलेको गुराँसको मनमोहक दृश्यमा तीर्थयात्री रमाउने गरेका छन् । अहिले पाथीभरा दर्शन गर्ने मुख्य सिजन (मौसम) रहेको र यही मौसममा ढकमक्क फुलेको गुराँसको मनमोहक दृश्यमा तीर्थयात्री रमाउँदै आएका हुन् ।

तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा विभिन्न प्रजातिका गुराँस फुलेर वन ढकमक्क भएको छ । गुराँस फुल्ने अहिलेको समय र पाथीभरा दर्शन गर्ने एक मुख्य मौसम भएकाले तीर्थयात्रीको बाक्लो उपस्थिति रहँदै आएको छ । हिजोआज दैनिक हजारौँ भक्तजन पाथीभरा दर्शन गर्न आइरहेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार तराई क्षेत्र, पहाडी र हिमाली क्षेत्र रहेको नेपालका विभिन्न जिल्लाबाट भक्तजनहरू पाथीभराको दर्शन गर्न आइरहेका छन् । यस्तै, नेपाल बाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल, आसामलगायतबाट उल्लेख्य रूपमा भक्तजन पाथीभराको दर्शन गर्न आउने गरेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।

यही समय गुराँस फुल्ने मौसम भएकाले देशभित्र र बाहिरबाट आएका भक्तजनले नजिकबाट गुराँसको मनमोहक दृश्यमा रमाउन र नियाल्न पाएका उहाँको भनाइ छ । पाथीभराको दर्शनसँगै पदमार्गका दायाँबायाँ ढकमक्क फुलेको गुराँसले तीर्थयात्रीलाई स्वर्गीय आनन्द दिलाइरहेको छ । शब्द र तस्बिरमा मात्र गुराँसबारे जानकारी लिन पाएकोमा पाथीभरा क्षेत्रमा एकैठाउँ धेरै प्रजातिका गुराँसका फूल नजिकबाट नियाल्न र अवलोकन गर्न पाउँदा आनन्द मिलेको तीर्थयात्रीले बताएका छन् ।

पवित्र तीर्थस्थल पाथीभराको दर्शन गर्न र ढकमक्क फुलेको गुराँसको मनमोहक दृश्यमा रमाउन पाउँदा धेरै खुसी र आनन्द मिलेको पाथीभराको दर्शनमा आउनुभएका दाङ जिल्ला निवासी ७५ वर्षीय दयाराम लामिछानेले बताउनुभयो । धेरै टाढादेखि आफ्नी ६९ वर्षीया श्रीमतीसहित पहिलो पटक पाथीभराको दर्शन गर्न आउनुभएका लामिछानेले पाथीभरा माताको दर्शन साथै यहाँको मनमोहक दृश्यले मनै भुलाइ दिएको बताउनुभयो ।

उहाँ जस्तै धेरै तीर्थयात्रीले पाथीभरा दर्शनमा जाने र दर्शन तथा पूजापाठ सिद्ध्याएर फर्कने क्रममा ढकमक्क फुलेको गुराँसे वनमा तस्बिर र भिडियो खिचाउन तछाड–मछाड नै हुने गरेको देखिएको थियो । चैत अन्तिम सातादेखि पाथीभरा क्षेत्रको वनमा फुल्न थालेको गुराँसको फूल वैशाख अन्त्यसम्म रहने स्थानीयले बताएका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार मङ्गलबार एकैदिन सात हजार ९७३ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । बुधबार राम नवमीको दिन भने दुई हजार ८६४ जना भक्तजनले पाथीभराको दर्शन गरेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङ्गीलेले जानकारी दिनुभयो । पाथीभराको दर्शन गर्न साताको मङ्गलबार र शनिबार अन्य दिनभन्दा बढी भक्तजन जाने गरेका छन् ।