• २१ वैशाख २०८१, शुक्रबार

भूकम्पपीडितलाई ऋण तिर्नै मुस्किल

blog

दोस्रो किस्ता पाउन निर्माण गरेका अस्थायी आवास । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, वैशाख १ गते । भूकम्प गएको पाँच महिनासम्म दोस्रो किस्ता रकम नपाउँदा भूकम्पपीडित चिन्तित भएका छन् ।  सरकारले दिएको पहिलो किस्ता रकम र साहुबाट कर्जा लिएर आवास निर्माण गरेका सर्वसाधारणले पाँच महिनासम्म दोस्रो किस्ता नपाएपछि आवास निर्माणको ऋण तिर्न पीडितलाई समस्या भएको छ ।

कात्तिक १७ गतेको भूकम्पले घरबारविहीन भएका पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहिलो किस्ताबापत सरकारले २५ हजार प्रदान गरेको थियो । भेरी नगरपालिका–१, रावतगाउँकी विर्मी खड्काले दोस्रो किस्ता रकम पाएपछि ऋण तिरौँला भनेर आवास निर्माण गरिए पनि दोस्रो किस्ता नपाएपछि समस्या भएको बताउनुभयो । घर बनाउने जमिनबाहेक खेती लगाउने जमिन नभएका आर्थिक अवस्था कमजोर भएका गरिब, दलित, विपन्न वर्ग समस्यामा परेका छन् । भेरी नगरपालिका–३ का हिटलर सिंह राठौरले दोस्रो किस्ताबापतको २५ हजार पाएपछि साहु तिरौँला भनेर बसेको महिनौँ बिते पनि स्थानीय सरकारले चासो नदिएको बताउनुभयो ।

भूकम्पबाट ४२ हजार ५२४ लाभग्राही कायम भए पनि हालसम्म ३८ हजार ५४२ लाभग्राहीले पहिलो किस्ता पाएका छन् । जिल्ला विपत् व्यवस्थापन समितिको कोषबाट ४२ हजार ५२४ पहिलो किस्ताबापत एक अर्ब तीन करोड ४१ लाख ७५ हजार सात वटै पालिकाको विपत् व्यवस्थापन कोषमा जम्मा भए पनि सो रकम स्थानीय सरकारले लाभग्राहीलाई वितरण नगर्दा भूकम्पपीडित मर्कामा परेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार पाँच महिनासम्म सबै पालिकामा ३२ हजार ३४५ आवास निर्माण, १० हजार १७९ आवास निर्माणाधीन अवस्थामा रहेको स्थानीय सरकारले जिल्ला विपत् व्यवस्थापन समितिमा बुझाएका छन् ।

दोस्रो किस्ताको रकम जिल्ला विपत् व्यवस्थापन समितिको खातामै थन्किएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले स्थानीय तहको विपत् पोर्टलमा विवरण इन्ट्री नभएका कारण दोस्रो किस्ता वितरणमा ढिलासुस्ती भएको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार स्थानीय सरकारले लाभग्राहीको विवरण प्राप्त भएपछि तत्काल पठाउने बताउनुभयो । अस्थायी आवासको निर्माण, भत्किएको घरको तस्बिरसहित विपत् व्यवस्थापन समितिमा अद्यावधिक भएपछि दोस्रो किस्ता वितरण गरिने बताइन्छ । भेरी नगरपालिकाले पाँच हजार ४६४, नलगाड नगरपालिकाले एक हजार ९१२, छेडागाड नगरपालिकाले छ हजार ३२४, बारेकोट गाउँपालिकाले पाँच हजार ९०, कुसे गाउँपालिकाले ५२३, जुनीचाँदे गाउँपालिकाले चार हजार १४७, शिवालय गाउँपालिकाले तीन हजार एक जना लाभग्राही गरी कुल २६ हजार ४९१ जनाको नाम दोस्रो किस्ता पाउने लाभग्राहीका रूपमा अद्यावधिक गरिएको छ । भेरी नगरपालिकाको स्थानीय बासिन्दाले निर्माणको अनुगमन थालेको छ ।