• ९ मंसिर २०८१, आइतबार

बिसुपर्वको रौनक

blog

बार्जुकोट बजुराल रिडीका कुमाल

दिन्या हौ कि मायाजाल पढ्छौँ कि रुमाल ।


बिसु सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको महत्वपूर्ण पर्व हो । विक्रम संवत्को नयाँ वर्षको दिनलाई बिसुपर्व मनाइन्छ । दसैँ, तिहार, माघी जस्तै यस पर्वलाई सुदूरपश्चिमवासीले महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् । नयाँ लुगा लगाउने, मिठो खानेकुरा खाने साथीभाइसँग रमाइलो गरी देउडा खेल्ने यस पर्वका विशेषता हुन् ।

दिनहरू लामा हुँदै जाने, गर्मी बढ्दै जाने भएकाले रोगव्याधिबाट बच्नका लागि मानिसहरूले भाग्यामिलो, चढीमाडो पानीमा मिसाएर प्रशस्त मात्रामा पिउने गर्छन् । आयुर्वेदिक विधि अनुसार भाग्यामिलो मिसाउँदा गर्मीको मात्रा घट्छ । चढीमाडोको रस पानीमा मिसाएर पिउँदा टाउको दुख्ने रोग कम गर्ने, बान्ता रोक्ने गर्छ । यसै गरी शरीरमा वर्षभरि विष नलागोस्, खटिराहरू नआउन् भन्नका लागि वैशाख १ गते अर्थात् बिसु सङ्क्रान्तिका बिहान मानिसले शरीरमा तितेपाती दलेर नुहाउने गर्छन् । तितेपातीलाई पनि आयुर्वेदमा महìवपूर्ण ओखती मानिन्छ । नयाँ लुगा लगाएर परिवारका सबै जना जम्मा भएर मिठो खानेकुरा खाने त भई नै हाल्यो । खानेकुरामा बटुक (बारा), दहीचामल अनिवार्य खाने प्रचलन रहिआएको छ । अघिल्लो रात चामललाई दहीमा भिजाइन्छ र बिसु सङ्क्रान्तिमा दहीचामल प्रत्येक परिवारले स्वाद मानी मानी खाने चलन छ । बटुक र दही खाँदा शरीरमा पौष्टिकता दिने र दहीचामल सेवन गर्दा वर्षभरि शुभ हुने, शीतलता प्रदान गर्ने भनेर बुढापाकाहरू भन्छन् । 

संस्कृतिका साथै धार्मिक विषय पनि बोकेको पाइन्छ यो पर्वले । यस दिनमा पुरुष वर्गले लौरालाई सिँगारेर विशेष पूजा गर्छन् । दहीचामल, अक्षतापातीले पूजा गरेको लौरालाई शिवजीको स्वरूप मानी आआफ्नो घरमा जतनसाथ राख्ने गरिन्छ । त्यो लौरालाई साइत पारी साउनको महिनामा भोटमा नुन र ऊन ल्याउन तीर्थालुले भारीसँगै लग्ने गर्दछन् । ‘मार्नु चेलो भोट, पाल्नु चेलो हाट’ भन्ने कथन कुनै बेला प्रचलित थियो । भोटको बाटो हिँड्न निकै कठिन भएकोले यसो भनिएको हो । उरई लेकमा पन्थ (दम) लाग्ने गर्छ अक्सिजनको कमीले । कतिपय तीर्थयात्रीको ज्यान पनि गएकाले उक्त कथन प्रचलित भएको हो । विकासको गतिले वर्तमानमा ऊन र नुन बोकेर ल्याउने चलन हटेको छ । बरु त्यही बिरेलौरा टेकेर तीर्थालु हरू कैलाश मानसरोवर जाने गर्छन् । यसै गरी विसु पर्व आगमनपूर्व महिला वर्गले कुनै एक घरमा जम्मा भई पुतलीको सामूहिक पूजा गर्ने गर्छन् । रङ्गीबिरङ्गी कपडाद्वारा निर्मित पुतलीलाई चेलीबेटीहरू पार्वतीका रूपमा श्रद्धापूर्वक पुज्ने गर्छन् ।  बिसु सङ्क्रान्तिको दिनमा दहीचामल अर्पण गरी एकान्त र पवित्र स्थानमा सेलाउने गरिन्छ । कुनै महिलाले मागल गाउँछन् । छो¥याट्टी (केटी) ले लोकभजन या लोकगीत ‘झिमकेउडा’ गाउने गर्छन् । पुतली सेलाउने बेला यो पर्वले कताकता गौराको बेलाको झझल्को दिलाउने गर्छ । 

अब सिस्नुपानी लगाउने चलनको सङ्क्षिप्त चर्चा गरौँ । बिसु खानपिनका साथै बडो रमाइलो पर्व पनि हो । सिस्नुपानी लगाउनु यो पर्वको अर्को विशेषता हो । वर्षभरि ठुला व्यक्तिले सानालाई हप्काइ अनुशासनमा राख्ने गर्छन् । आफ्ना छोराछोरी नबिग्रुन भन्नका लागि अभिभावकले यसो गरेको हो तर नयाँ वर्षको पहिलो दिनमा साना वर्गले मान्यजनलाई सिस्नुपानी लगाउने गर्छन् । यसै गरी देवरले भाउजूलाई, भाउजूले देवरलाई सिस्नुपानी लगाएर रमाइलो गर्छन् । देवरभाउजूबिचको सिस्नुपानी लगाउने चलन पनि रमाइलो र हेर्नलायक हुन्छ । सायद एकआपसमा हार्दिकता र सतर्कता अपनाउनका लागि यसो गरेको हुन सक्छ । २०५६ सालदेखि देउडा समाजले राजधानीमा बिसुपर्वको आयोजना गर्दै आएको छ । सिस्नुपानी लगाउनाले शरीरमा रहेको विषालुपन झर्ने गर्छ, सिस्नुपानीले शरीरका अङ्गलाई लाटो हुन नदिने र दिमागलाई सदैव सक्रिय बनाइदिने भएकाले यसो गरिएको हो । 

देउडा खेल खेल्नु  बिसुपर्वको महत्वपूर्ण विशेषता हो । पुरुष–पुरुष, महिला–महिला, पुरुष र महिलाबिचको देउडा खेलले गाउँबस्ती उज्यालो बनाइदिन्छ । नयाँ नयाँ भाका निस्कन्छन्, सुनिरहौँ, हेरिरहौँ र खेलिरहौँ जस्तो लाग्छ बिसुपर्वको देउडा खेलेको बेला । प्रकृतिको, संस्कृतिको र संस्कारको समेत मिलन भएको मानिन्छ गीतमा । गाउँका मानिसको निष्कलङ्क भावना गीतमा छताछुल्ल भएर पोखिने हुँदा यी गीत, लय र शब्द शब्दमा दर्शनशास्त्र भेटिन्छ । ओहो ! साँच्चिकै अलौकिक छ विविध संस्कृतिको भण्डार बोकेको सुदूरपश्चिम र कर्णालीको मगमगाउँदो सुगन्धित माटो । 

बिसुपर्व मनाउने फराकिलो ठाउँलाई बिसु चौर भनिन्छ । भारतलगायत विभिन्न मुलुक र स्वदेशकै काठमाडौँ, नेपालगन्ज, धनगढी, महेन्द्रनगर आदि सहरबाट फर्केका युवाबिच आआफ्नो जन्मभूमिमा भेट हुँदाको क्षण अविस्मरणीय हुन्छ । आपसमा शुभकामना साटासाट, मान्यजनबाट आशीर्वाद, गाउँको अर्गानिक खानेकुरा र सफा हावापानीसँग रमाउँदाको जीवनशैलीले सबैको मन रमाउँछ । 

विविध विशेषता बोकेको बिसुपर्वको अर्को रमाइलो पक्ष हो, भकुन्डो खेल । कुनै बेला छालाले मोरेर बनाइएको भकुन्डो यस पर्वमा निकै खेलिन्थ्यो । अहिले सहरबाट खरिद गरिएको भकुन्डो नयाँ पिँढीले यस पर्वमा खेल्ने गर्छन् । फुटबल खेल आफैँमा रोमाञ्चित खेल हो । छालाले मोरेर बनाइएको भकुन्डोलाई महिषासुर राक्षसको टाउको सम्झेर अग्रजले  बिसुपर्वमा खेलेको भनिन्छ । यसै गरी पूजा गर्न राखिएका लौरामाथि टेक्दै दहीचामल खाने गर्छन् गुना (लङ्गुर) बाँदरहरू । मुखमा काठका बोक्रा, पिठ्यँमा हरिया लट्ठी बेरेर हुलका हुल गरी विध्वंस गर्दै भद्रभलाद्मी बसेको ठाउँमा आउँछन् । बुढापाकालाई लछारपछार गर्दै टाढाको ठाउँमा सुताउँछन् । बडो अनौठो लाग्छ गुना बाँदर बनेर आएका ती युवाको क्रियाकलाप देख्दा । किन यस्तो काम गर्छन्  बिसुपर्वको बेला ? जङ्गली युग पार गर्दै मानव विकासक्रमको स्वरूपको झझल्को दिन यसो गरिएको संस्कृतिविद्को ठम्याइ छ । 

गाउँघरमा प्राचीन संस्कृति यथावत् छ । सहरको विकृति भित्रन खोजे पनि गाउँका पाका व्यक्तिले सङ्लो संस्कृतिलाई बचाइराखेका छन् । यसमा हामीले गौरव गर्नु पर्छ । धनगढीको गौरीफन्टा, महेन्द्रनगरको गड्डाचौकी नाका हुँदै भारतबाट  बिसुपर्व मनाउन घर फर्कनेको ताँती देखिन्छ ।  बिसुपर्व वर्षभरिको जेठो पर्व हो ।  बिसुपर्वको ढोका खोलेपछि मात्र गौरा, ओल्के, दसैँतिहार र माघी पर्व घरआँगनमा प्रवेश गर्छन् ।  बिसुपर्व अर्थात् नयाँ वर्षको सबैमा हार्दिक शुभकामना ।

Author

नन्दकृष्ण जोशी