• २० वैशाख २०८१, बिहिबार

विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान

blog

परस्कृत हुनुभएका स्रष्टाहरु ।

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत २९ गते । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा आयोजित समारोहमा ११ जना विशिष्ट स्रष्टाहरू पुरस्कृत हुनुभएको छ । उहाँहरूलाई जनही एक लाख नगद राशिको प्रज्ञा पुरस्कार २०८० अर्पण गरिएको हो । 

यस क्रममा कुलपति राईले खगेन्द्र सङ्ग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार, मोहनविक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार, शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिक शास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई प्रज्ञा समालोचना तथा साहित्यिक पुरस्कार, प्रा.डा. देवीप्रसाद गौतमलाई प्रज्ञा भाषा पुरस्कार, बम देवानलाई प्रज्ञा साहित्य पुरस्कार (पद्य), राजवलाई प्रज्ञा साहित्य पुरस्कार (गद्य), गङ्गा कर्माचार्यलाई प्रज्ञा बाल पुरस्कार, प्रज्ञा मातृभाषा साहित्य (हिमाली र पहाडी) पुरस्कार, डा. योगेन्द्र प्रधान र पदम विश्वकर्मालाई प्रज्ञा अन्तर्देशीय पुरस्कार अर्पण गरिएको छ ।

स्मरण रहोस् प्रज्ञा मातृभाषा पुरस्कार (तराई र मधेस) बाट बेचन उराँव अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा गत महिना धरानमा आयोजित कार्यक्रममा पुरस्कृत भइसक्नु भएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले विशिष्ट स्रष्टालाई पुरस्कृत गर्न पाउँदा आफू गौरवान्वित रहेको चर्चा गर्दै प्रज्ञा प्रतिष्ठानलाई सबैको साझा थलोको रूपमा आफूले अघि बढाउने बताउनुभयो । यसै क्रममा उहाँले समाजले उत्पादन गरेको ज्ञानबारे बहस गर्दै प्रतिष्ठानले प्रतिपक्ष र विरोधी चेतनालाई समेत समेट्ने बताउनुभयो । 

यसैगरी प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ ले स्वागत गर्नुभएको कार्यक्रममा सदस्यसचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभयो । सो क्रममा पुरस्कृत स्रष्टाहरूले पनि मन्तव्य राख्नुभयो ।