काठमाडौं, चैत २७ गते। सत्तारुढ नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कुरामा काँग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ।
एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टीकरण संसदबाट दिनका लागि काँग्रेस सहमत हुनुपर्ने बताउनुभएको हो।काँग्रेसले मंगलबार उहाँमाथि लागेको आरोप छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको थियो।
एमाले सचेतक बर्तौलाले सञ्चारकर्मीमाझ त्यस्ता आरोपको जवाफ संसदबाटै उपप्रधानमन्त्री लामिछानेलाई दिनका लागि काँग्रेस तयार हुनुपर्ने बताउनुभयो। उहाँले अरूको कुरा नसुन्ने भन्ने कुरा लोकतान्त्रिक दल भनिएको काँग्रेसलाई नसुहाउने जिकिर पनि गर्नुभयो।
प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘भोलि त फेरि पनि बैठक छ। भोलिको बैठक पनि यहीँ अवस्था हुने खतरा छ। प्रमुख प्रतिपक्षलाई हाम्रो आग्रह के हो भने गृहमन्त्रीले यत्रो देशमा डढेलो लागि रहेको छ। विभिन्न खालको शान्ति सुरक्षाको कुरा छ। कतिपय जिल्लामा कफ्र्यूको अवस्था छ। त्यो बारेमा बताउन खोज्दाखेरी कम्तीमा पनि गृहमन्त्रीका बारेमा सुनौँ। उहाँसँग लागेका प्रश्न छन् भने त्यो पनि सुन्ने धैर्यता राखौँ। लोकतन्त्र भनेको आफूले मात्रै कुरा सुनाउने होइन। आफूले कसैलाई आरोपित गरेको छ भने निज व्यक्तिले आफ्ना बारेमा पनि बताउने त्यो ठाउँ हो।’
प्रमुख सचेतक बर्ताैलाले काँग्रेसले जन सरोकारका विषयमा छलफल गरेर महत्त्वपूर्ण कानुनहरू निर्माण गर्नुपर्ने संसद् अवरुद्ध गरेर गल्ती गरेको दोहोर्याउनुभयो।