• २३ वैशाख २०८१, आइतबार

राष्ट्रिय सभा उपाध्यक्षका पदका लागि घिमिरे र पुडासैनीको उम्मेदवारी दर्ता

blog

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विमला घिमिरे र नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत २७ गते । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहनुभएको छ ।

यस्तै, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराउनुभएको छ । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहनुभएको छ । उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएपछि निर्वाचन हुन लागेको हो ।

उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार घिमिरेले आफूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गर्नुभयो । आफूलाई आफ्नो दलले यो जिम्मेवारी दिएकाले धन्यवाद दिनुभयो ।

उहाँले राष्ट्रिय सभालाई अध्यक्षसँग सल्लाह गरेर सभालाई थप मर्यादित बनाउने र  विधेयकलाई छिटोछरितो पास गराउन सम्पूर्ण रूपमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै, काँगेसका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका पुडासैनीले राष्ट्रियसभालाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने बताउनुभयो । आफूले स्थानीय रूपमा पनि काम गरेको जानकारी दिँदै उहाँले उम्मेदवार बनाउने निर्णय गर्ने पार्टीलाई धन्यवाद दिनुभयो ।

उहाँले जनताको मन छुने खालका ऐन, कानुन बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै सबै आफ्नै साथीभाइ भएकाले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्नुभयो ।