• २२ वैशाख २०८१, शनिबार

चैते धान रोपाइँमा व्यस्त कृषक (फोटो फिचर)

blog

इमान सिं राना

रामपुर (पाल्पा), चैत २१ गते । पाल्पाका कृषक यतिबेला चैते धान रोपाइँमा व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा भएको अधिकांश स्थानमा चैते धान रोप्न सुरु गरिएको छ ।

वर्षे धानको तुलनामा उत्पादन क्षमता बढी हुने भएकाले कृषकले चैते धान खेतीलाई निरन्तरता दिँदै आएका छन् । जिल्लाको रामपुर, माडी, पूर्वखोला, रम्भा, अर्गेली, तिनाउ, लगायतका स्थानमा चैते धान खेती हुने गर्छ । 

चैते धान खेतीले खाद्यान्न परिपूर्तिमा सहयोग गर्ने भएकाले खेतीलाई निरन्तरता दिँदै आएको तल्लो बडभान कृषक समूहका अध्यक्ष ओम बहादुर रानाले बताउनुभयो । रामपुर ४ को बडभान क्षेत्रमा रहेका ६ सय ५० रोपनी बढी क्षेत्रमा चैते धान खेती हुँदै आएको कृषक बल बहादुर पोखरेलले बताउनुभयो । जिल्लाको कतिपय स्थानमा भने पर्याप्त सिँचाइ सुविधा नहुनु चैते धान स्याहार्ने र वर्षे धान लगाउने समय एउटै हुँदा जनशक्ति अभाव हुने भएकाले चैते धान लगाउने प्रचलन हट्दै गएको छ । 


कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार जिल्लामा साढे ६ सय हेक्टर चैते धान खेती हुँदै आएको छ । उत्पादकत्व क्षमता बढी हुने भएकाले सिँचाइ पुगेको स्थानमा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, "यस वर्ष रामपुरको बडभान र रम्भाको अगाहा खोलामा चैते धान  खेती प्रवर्द्धनका लागि उन्नत जातको चैते-५, जातको धानको बिउ र मल कृषकलाई उपलब्ध गराएका छौँ । उन्नत प्रविधिको प्रयोग बाट गर्दा हुने फाइदाको विषयमा जानकारी दिन दुई स्थानमा कार्यक्रम सञ्चालन गरिएको हो ।" कृषि उत्पादन खाद्य तथा पोषण सुरक्षा कार्यक्रम अन्तर्गत कृषि प्रविधि प्रदर्शन कार्यक्रम सञ्चालन गरिएको हो ।