• १६ भदौ २०८१, आइतबार

नेपाल गुजरातविरुद्ध टस जितेर फिल्डिङ गर्दै

blog

काठमाडौँ, चैत १८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक गुजरात क्रिकेट सङ्घविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ । 

गुजरातस्थित वापीमा सञ्चालित प्रतियोगितामा नेपाल, गुजरात र बरोडा क्रिकेट सङ्घको सहभागिता छ । नेपालले टी–२० विश्वकपको तयारीका लागि फ्रेन्डसिप कप खेलेको हो । अप्रिल ७ तारिखसम्म हुने प्रतियोगितामा नेपालले अप्रिल ३ मा पुनः गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्नेछ ।

लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । त्यसपछि नेपाली टोलीले ओमानमा एसिसी प्रिमियर कप खेल्नेछ । प्रिमियर कप पनि नेपाली टोलीका लागि विश्वकपको तयारीका लागि राम्रो अवसर हुनेछ ।

नेपाली टोली भर्खर घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ विरुद्ध दुई खेलको टी–२० सिरिजमा ‘क्लिन स्विप’ गरेर भारत भ्रमणमा निस्किएको हो । टी–२० विश्वकप आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स  छन् । 

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, अनिल साह, कुशल मल्ल, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र  अविनाश बोहरा ।