• २० वैशाख २०८१, बिहिबार

बाँके फुटबलमा यु–१३ छनोटको उत्साह

blog

कमल खत्री

नेपालगन्ज, चैत १७ गते । बाँके जिल्ला फुटबल सङ्घले शनिबार गरेको यु–१३ छात्र–छात्रा फुटबल छनोट कार्यक्रममा उत्साह जनक रुपमा खेलाडीको सहभागिता देखिएको छ । 

सङ्घले शनिबार नेपालगन्जमा एक दिन छनोट कार्यक्रमको आयोजना गरेको थियो । तर सहभागि खेलाडीहरुको संख्या धेरै पछि छनोट कार्यक्रम लम्बाएर आइतबार पनि गर्ने बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताउनु भयो । 

अखिल नेपाल फुटबल सङ्घको युवा विकास परियोजना अन्तर्गत २०८१ को लागि छनोट कार्यक्रम गरिएको हो । जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको छनोटमा परेका खेलाडीहरुलाई एन्फा अन्तर्गतका विभिन्न टेक्निकल सेन्टरमा संचालन भएका एकेडेमीमा रहेर फुटबल खेल्ने मौका मिल्नेछ । 

बाँकेमा भएको छनोट फुटबलमा दुई सय १५ जनाको सहभागिता रहेको अध्यक्ष शाहीले बताउनुभयो । त्यसमा एक सय ८५ छात्र र ३० छात्रा खेलाडी रहेका छन् । पहिलो चरणको छनोटमा ८९ जना छात्र र ९ जना छात्रा खेलाडी छनोट गरिएको संघले जानकारी गराएको छ । आइतबार अन्तिम चरणको छनोट हुनेछ । शनिबार भएको छनोट कार्यक्रमले फुटबल विकासमा निकै उत्साह थपेको अध्यक्ष शाहीले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘फुटबलमा बालबालिकाको क्रेज निकै राम्रो छ । यति धेरै सहभागिता हुन्छ भन्ने हामीले सोचेको थिएनौं । अभिभावकहरुले आफना बालबालिकालाई फुटबल खेलाउन निकै चासो दिनु भएको छ । यसले भविष्यमा हाम्रो फुटबलको स्तर र राम्रा खेलाडी उत्पादनमा सहयोग गर्नेछ ।’’

नेपालगन्ज रंगशालमा धेरै पछि फुटबलको गतिविधि भैरहेको बताउँदै अध्यक्ष शाहीले बाँकेमा अब फुटबलको लोकप्रियता फेरी बढन थालेको बताउनुभयो । पछिल्लो समय बाँके जिल्ला फुटबल सङ्घले सक्रिय भएर गतिविधिहरु संचालन गरिरहेको छ । सङ्घले कोभिड–१९ पछि पहिलो पटक गत माघ महिनामा मेयर कप अन्तर विद्यालय छात्र–छात्र फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । 

जुन प्रतियोगितामा बाँके जिल्लाका विभिन्न विद्यालयबाट तिन दर्जन विद्यालय सहभागिता रहेको थियो । फागुनमा सङ्घले कैलाली जिल्लाको मेयर कप फुटबलको पुर्व विजेता गुरुकुल इङलिस र बाँकेको मेयर कप फुटबलको विजेता टिम नेपालगन्ज सेन्ट जेभियर्स छात्र टिम बिच मैत्रीपुर्ण फुटबलको आयोजना गरेको थियो । 

समुदाय स्तरबाट फुटबलका प्रतिभावान खेलाडी उत्पादन गर्न महत्वपुर्ण खेल्ने प्रशिक्षकहरुको लागि संघले समेत कार्यक्रम गरेको थियो । सङ्घका केन्द्रिय सदस्य समेत रहनु भएका शाहीका अनुसार सङ्घले चैतको ६ देखि ९ गतेसम्म नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्षको आयोजना गरेको थियो ।

जहाँ बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जना प्रशिक्षकको सहभागिता रहेको थियो । नेपालगन्जमा रंगशालामा दुई दिन सम्म भएको छनोट कार्यक्रमबाट छानिएका खेलाडीहरुलाई प्रदेश स्तरको छनोटमा समावेश गराईनेछ ।