• १६ वैशाख २०८१, आइतबार

लामिछानेको राजीनामा माग्नु राजनीतिक पूर्वाग्रही : नेता ज्ञवाली

blog

नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवाली ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ११ गते । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाउनुभएको छ । 

आइतबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनुभयो । उपप्रधानमन्त्री लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध पार्ने नेपाली काँग्रेसको कामलाई एमालेले जिम्मेवार राजनीतिक दलको कदमको रूपमा लिन नसक्ने उहाँको भनाइ छ । उपमहासचिव ज्ञवालीले कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भएमा भने एमाले पनि उपप्रधानमन्त्री लामिछानेको राजीनामाको पक्षमा उभिने उहाँले बताउनुभयो । 

विनाप्रमाण त्यसै राजीनामा माग्न नमिल्ने उहाँको भनाइ छ । आफैँले प्रधानमन्त्री प्रस्ताव गरेको व्यक्तिलाई गृहमन्त्रीको निम्ति अयोग्य भन्नु राजनीतिक प्रतिशोधबाहेक अरू केही हुन नसक्ने उहाँले जिकिर गर्नुभयो । उपमहासचिव ज्ञवालीले विगतमा आफ्नो पार्टीले प्रमाणको आधारमा मात्र तत्कालीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘पहिलो कुरा विगतमा हामीले उठाएको विषय र अहिले गृहमन्त्रीजीको राजीनामाको माग गर्दै उठाइएको विषय फरक छ । विगतमा हामीले जस–जस मन्त्रीको राजीनामा मागेका थियौँ, त्यसो गर्दा एक जनालाई सरकारले नै बनाएको छानबिन आयोगले बालकुमारी घटनामा दोषी देखाएको थियो । अर्को एक जना मन्त्रीलाई अख्तियारले बयानका लागि बोलाएको थियो ।’ 

टेरामक्स खरिद कार्यमा भएको अनियमितताको सवालमा बयान दिन बोलाइसकेपछि उहाँले न्यूनतम नैतिकताको पनि ध्यान नदिई झण्डा हल्लाएर अख्तियारमा बयान दिन मन्त्री आफै जानु नैतिकताले नमिल्ने उहाँले बताउनुभयो । ‘गृहमन्त्रीको बारेमा त्यो लेबलको कुनै उजुरी, मुद्दा औपचारिक रूपमा दायर भएको अवस्था छैन । कुनै नियामक निकायले उहाँलाई बयानका लागि बोलाएको छैन’ उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसले जे गरिरहेको छ यस मामिलामा उहाँहरूको एकदम द्वैध भूमिका देखिएको छ । एकातिर उहाँहरू अस्तिसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको गठबन्धन तोड्ने निर्णय गर्नुभयो । त्यसपछि प्रधानमन्त्रीको अफर गर्दै काँग्रेस आफैँ पुगेको थियो । प्रधानमन्त्रीको निम्ति आफैँले प्रस्ताव गरेको मान्छे गृहमन्त्रीमा अयोग्य हुन्छ भन्ने तर्क गर्नु प्रतिशोधको बाहेक अरू केही हुन सक्दैन ।’