• १५ वैशाख २०८१, शनिबार

‘यात्रुको चापलाई हेरेर आवश्यक परे रेल थप्छौँ’

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ नेपाल रेल्वेको जनकपुरधामदेखि जयनगरसम्मको स्थलगत निरीक्षण गर्नुहुँदै । तस्बिर : निरञ्जनकुमार साह/रासस

जनकपुर, चैत १० गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रुको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको सङ्ख्या बढाउने बताउनुभएको छ । शनिबार जनकपुर-जयनगर रेल्वे अनुगमन एवम् निरीक्षणका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री महासेठले यात्रीको चाप बढी भएको कुरा आइरहेको भन्दै यात्रुहरूलाई मध्यनजर गरी रेल आवतजावत गर्ने समय थप्न सकिने बताउनुभयो । उहाँले भारत सरकारको माध्यमबाट निर्माणको जिम्मा लिएका कम्पनीहरूसँग पनि कुरा गरेको उल्लेख गर्नुहुँदै अब छिटो र छरितो रूपमा सेवा अघि बढाउने प्रतिबद्धता जनाउनु भयो ।

‘‘अहिले नेपाल सरकारले सेवाको भावनाबाट यो सञ्चालन गरेको हो । अब केही दिनपछि हामी अगाडि बढाउँछौँ । सधैँ घाटा लगाएर चलाउन गाह्रो हुन्छ । त्यसमा नेपाल सरकार खासगरी भौतिक पूर्वाधार पूर्वाधार मन्त्रालयले, रेल्वे विभागले त्यसबारेमा सबैको राय लिएर के गर्दा राम्रो हुन्छ, त्यो बाटो हामीले अपनाउनेछौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘ यात्रीको चाप बढी भयो भन्ने छ, त्यो धेरै ठुलो समस्या होइन । यो रेलको समय थपेर धेरै पटक आवतजावत हेरेर बढाउनेछौँ । रेल पनि थप्नेछौँ, यदि यात्रुको चाप बढी भयो भने । यात्रुको चाप हेरेर केके सुविधा दिनुपर्छ, त्यो हामी गर्नेछौँ । सकभर यही आर्थिक मसान्तभित्र खानेपानी र शौचालयहरूको व्यवस्थाको प्रबन्ध हुनेछ । मालवाहकको लागि प्रक्रिया अघि बढाइसकेको छ ।’’

मन्त्री महासेठले रेलसेवासँग सम्बन्धित आन्तरिक कमी कमजोरीहरूको सम्बोधन गर्ने बताउनुभयो । उहाँले चालु आर्थिक मसान्तभित्र खानेपानी र शौचालयहरूको व्यवस्थाको प्रबन्ध गर्ने बताउनुभयो ।

मन्त्री महासेठले भन्नुभयो, ‘‘भारत सरकारले, खासगरी भारत सरकारको माध्यमबाट निर्माण लिएका कम्पनीहरूसँग पनि कुरा गरेका छौँ । अरू सबै ठिक छन्, केही समस्या छन्, केही अतिक्रमण भएका छन् । त्यो अतिक्रमण हटाउनलाई हाम्रो नेपाल सरकारसँग करा गर्छौं, नेपाल सरकारले भारत सरकारसँग कुरा गर्नेछ । स्थानीय तहमा जयनगरतिरका कुरामा त सरकारसरकारबिच कुराकानी हुन्छ, रेल्वे विभागका जिएम लगायतको यसलाई हटाउन, पहल गर्नुपर्नेछ । त्यसमा मैले निर्देशन दिइसकेको छु । हाम्रा आन्तरिक कमी कमजोरी छन् भने त्यसलाई छलफलबाट समाधान गर्नेछौँ । आम्दानी कम भयो, खर्च बढी भयो, त्यो स्वाभाविक छ ।’’

मन्त्री महासेठले शनिबार जनकपुरदेखि जयनगरसम्म रेलमा यात्रा गरेरै अनुगमन एवम् निरीक्षण गर्नुभएको थियो ।