• १२ माघ २०८१, शनिबार

भारतीय प्रधानमन्त्री मोदी ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ बाट सम्मानित

blog

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भूटानको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ बाट सम्मानित ।

थिम्पू (भूटान), चैत १० गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ बाट पनि सम्मानित गरिएको छ । सम्मानलाई भारतीय प्रधानमन्त्री मोदीले देशका एक अर्ब चालीस करोड जनताको नाममा समर्पित गरेको बताउनुभएको छ ।

उहाँले भुटानमा भारतीय सहयोगमा बनेको ‘ग्याल्त्सुएन जेत्सुन पेमा वाङचुक मदर एण्ड चाइल्ड हस्पिटल’को उद्घाटन पनि गर्नुभएको छ  । उहाँले नयाँ दिल्ली र थिम्पुबिचको सम्बन्ध निरन्तर बढ्दै जाने र यसले दुई देशका नागरिकलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“म विनम्रताका साथ ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ स्वीकार गर्छु । यो पुरस्कार प्रदान गर्नुभएकोमा म भुटानका राजाप्रति आभारी छु । म यसलाई भारतका १४० करोड जनताप्रति समर्पित गर्छु । मलाई यो पनि विश्वास छ कि भारत–भुटान सम्बन्ध निरन्तर बढ्दै जानेछ र हाम्रा नागरिकहरूलाई फाइदा पुग्नेछ,” प्रधानमन्त्री मोदीले एक्स (ट्विटरमा)मा पोस्ट गर्नुभएको छ ।

सम्मान प्राप्त गर्ने प्रधानमन्त्री मोदी पहिलो विदेशी विशिष्ट व्यक्ति र समग्रमा यो पुरस्कार पाउने चौथो व्यक्ति बन्नुभएको छ । स्थापित वरीयता र प्राथमिकता अनुसार, ‘अर्डर अफ द ड्रुक ग्याल्पो’लाई आजीवन उपलब्धिको लागि सजावटको रूपमा स्थापित गरिएको हो भने यो भुटानी उच्च सम्मान हो ।

प्रधानमन्त्री मोदीलाई बिदाइ गर्न भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र भुटानका प्रधानमन्त्री दाशो छिरिङ तोब्गे विमानस्थलमा पुग्नुभएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका भुटानी समकक्षी छिरिङ तोब्गेले थिम्पूमा भारत सरकारको सहयोगमा निर्माण गरिएको ‘ग्याल्टसुएन जेत्सुन पेमा वाङचुक मदर एण्ड चाइल्ड’ नामक अत्याधुनिक अस्पतालको संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । नव निर्मित अस्पतालले भुटानमा आमा र बाल स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्ने विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

भुटानमा १५० शय्याको अस्पताल निर्माणका लागि भारत सरकारले दुई चरणमा  सहयोग गरेको उक्त अस्पताल कूल एक अर्ब १९ करोडको लागतमा निर्माण गरिएको हो ।

अस्पतालका नयाँ सुविधामा बालरोग, स्त्रीरोग र प्रसूति, एनेस्थेसियोलोजी, अपरेसन थिएटर, शिशुरोग सघन उपचार र बालरोग सघन उपचारका लागि अत्याधुनिक सुविधाहरू हुनेछन् ।

भुटानी प्रधानमन्त्री तोब्गेले अत्याधुनिक अस्पताल निर्माणका लागि पूर्ण आर्थिक सहयोग गरेकोमा भारत सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

भुटानका स्वास्थ्य मन्त्री टान्डिन वाङचुकले प्रधानमन्त्री मोदीद्वारा अस्पतालको उद्घाटनको प्रतीकात्मक महत्वलाई जोड दिँदै यसलाई दुई देशबिचको स्थायी मित्रताको प्रदर्शनको रूपमा वर्णन गर्नुभयो ।

मन्त्री वाङ्गचुकले अस्पतालका सबै सुविधाहरू भारत सरकारको सहयोग तथा साझेदारीमा निर्माण गरिएको बताउँदै दुई देशबिच बलियो द्विपक्षीय सम्बन्धको आधार बनाउने सहयोगी प्रयासहरू भइरहेको बताउनुभयो । 

भुटानमा रहँदा प्रधानमन्त्री मोदीले भुटानी नरेश र प्रधानमन्त्रीलगायतका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरूबिच द्विपक्षीय कूटनीतिक, आपसी हित र चासोका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री मोदी दुई दिने राजकीय भ्रमण सकेर शनिबार नयाँ दिल्ली फर्किनुभएको छ । रासस/एएनआई