• १३ साउन २०८१, आइतबार

‘बस एक्कासि बजारियो, उठेर चिच्याउँदै काखकी छोरी खोज्न थालेँ’

blog

कास्की, चैत ६ गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३ की २८ वर्षीया सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहनुभएको छ । रुकुमबाट काठमाडौँका लागि छुटेको खड्का चढ्नुभएको यात्रुवाहक बस सोमबार साँझ बाग्लुङको निसीखोला-६ मा दुर्घटना भएको थियो ।

सरिताको ढाड र टाउकामा चोट लागेको छ । सरिता तीन महिनाको छोरी ज्ञानु, ससुरा ६२ वर्षीय हर्कबहादुर केसी र सासू ५५ वर्षीया लीलासहित काठमाडौँ जाँदै हुनुहुन्थ्यो । घरबाट खाना खाएर सोमबार बिहान ९ः३० बजेतिर चारै जना बसमा चढ्नुभयो । मङ्सिरमा शिक्षक पेसाबाट सेवानिवृत्त सरिताका ससुरा हर्कबहादुरको काठमाडौँमा पेन्सन पट्टाको काम मिलाउनु थियो । सासूले भनेपछि सरिता पनि छोरी लिएर जान तयार हुनुभयो । 

सरितालाई पेटको समस्या भएकाले यही मेसोमा राजधानीमा राम्रो उपचार गर्ने योजना थियो । बस मध्यपहाडी राजमार्गमा आफ्नै गतिमा हिँडिरहेको थियो । साँझ पर्दै थियो । रुकुम र बाग्लुङको सीमा पातीहाल्नेमा खाजा खान बस रोक्ने यात्रुहरुको अनुमान विपरीत बस नरोकिई अघि बढ्यो । यात्रुहरु आफ्नै तालमा कोही निदाइरहेका थिए भने कोही मोबाइल हेरिरहेका थिए । सरिता पनि छोरीलाई काखमा सुताएर निदाइरहनुभएको थियो । निसीखोलाको जाउलेपानीमा आइपुगेपछि बसका केही यात्रु गाडी गयो, गयो भनेर एक्कासि चिच्याउन थाले ।

सरिता पनि झल्याँस्स हुनुभयो र काखको छाेरीलाई च्याप्प समाउनुभयो । बस एक बल्ड्याङ खाएको सरितालाई याद छ । उहाँ त्यहीं अड्किनुभएछ ।  मणिपाल अस्पतालको आकस्मिक कक्षबाट खड्काले भन्नुभयो, “एक्कासि बस गयो गयो भनेर सबै चिच्याए, मलाई बोल्न आएन, छोरीलाई च्याप्प समाएँ, बस एक्कासि बजारियो, त्यही बेला म बीचमा अड्किएको रहेछु, होसमा आउँदा छोरी काखमा थिइन, बस तल थियो, उठेर छोरी-छोरी भनेर चिच्याएँ ।” काखमा छोरी नदेखेपछि सरिता चिच्याउनुभयो । 

भान्जाले माथि छन् भनेपछि सरिता सकी नसकी उठेर छोरी भएको ठाउँमा पुग्नुभयो । छोरी रोइरहेकी थिइन् । भाञ्जाको सहयोगले माथि सडकमा निस्किनुभयो । बुर्तिबाङमा सामान्य उपचारपछि बाग्लुङ जिल्ला अस्पताल पठाएकामा अहिले सरिता, छोरी, सासू-ससुरासहित पाँच जनाको मणिपालमा उपचार भइरहेको छ । दुर्घटना कसरी भयो भन्ने उहाँलाई केही जानकारी छैन । 

बस एक्कासि सडकबाट तल खसेको मात्र उहाँलाई थाहा छ । पछि घाइतेहरुले बस तीव्र गतिमा भएको बताएको सरिताले बताउनुभयो । अहिले सरितालाई काठमाडौँ जान नहिँडेको भए हुने रहेछ भन्ने लागिरहेको छ । “किन काठमाडौँ जान लागेँ हुँलाजस्तो भइरहेको छ”, उहाँले भन्नुभयो, “ठूलो भाग्यले बाँचियो, जिन्दगीमा यस्तो पनि भोग्नुपर्ने रहेछ ।” दुर्घटनामा परेका सरिता र छोरीको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । 

उहाँका ससुरा हर्कबहादुर, सासू लीला र सिन्धुपाल्चोकका देवेन्द्र रिजालको अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सक डा.नवराज बस्ताकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार मणिपालमा पाँच जनाको उपचार भइरहेकामा गम्भीर घाइतेको मेरुदण्ड र कम्मरको हड्डी भाँचिएको छ । बाग्लुङको निसीखोला बस दुर्घटनामा नौजनाको मृत्यु भएको छभने घटनामा २८ जना घाइते छन् । घाइतेहरुको पोखरासहित बाग्लुङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस