• १३ साउन २०८१, आइतबार

नवनियुक्त मन्त्री मनाङेद्वारा शपथ ग्रहण

blog

रमेश पौडेल/सन्तोष सुवेदी 

कास्की, चैत ५ गते । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको शपथ लिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार उहाँलाई  मन्त्रीको नियुक्त गर्नुभएको थियो ।  

नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । यसअघि माओवादीलाई सो मन्त्रालयको जिम्मेवारी रहेको थियो । 

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरु, सांसदहरु र बिशिष्ट श्रेणीका कर्मचारीलगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

केन्द्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपनि गण्डकीमा नेपाली कांग्रेसले प्रदेशसभामा आफै बहुमत पु¥याउने गरी तयारी गरेको छ । त्यसकै सिलसिलामा मनाङबाट स्वतन्त्र रुपमा जित्नुभएका दीपक मनाङेलाई मन्त्री बनाइएको हो ।

चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गर्नुभएका मनाङेले आइतबार मात्र पार्टी छाडेको घोषणा गरेर स्वतन्त्र सांसद कायम गर्न भन्दै प्रदेश सचिवालयलाई पत्र पठाउनुभएको थियो र त्यसकै भोलिपल्ट अर्थात् आज भौतिक मन्त्रीमा नियुक्त हुनुभएको हो ।

सपथ ग्रहण पश्चात् मन्त्री मनाङेले मुलुकको ७० प्रतिशत बजेट भौतिक पूर्वाधारमा हुने र ठूलो भ्रष्टाचार त्यही हुने हुँदा विकास र सुशासनका लागि उक्त मन्त्रालय रोजेको बताउनुभयो ।

उहाँले आफनो पार्टी नेकपा एसले कार्वाही गरे पनि केही नहुने बताउनुहुँदै गण्डकी प्रदेशलाई मध्यावधि चुनावबाट बचाउनका लागि आफूले यो सरकारलाई समर्थन गरेको बताउनुभयो । मन्त्री मनाङेले आज नै पदभार ग्रहण गर्नुभएको छ  ।