• १३ साउन २०८१, आइतबार

उपचार खर्च अभावले ओछ्यानमै थलिए युवा

blog

उपचार खर्च अभावले थलिएका डुकेन्द्र श्रेष्ठ ।

राजकुमार भट्टराई 

खोटाङ, चैत ३ गते । खोटाङका २८ वर्षीय डुकेन्द्र श्रेष्ठ १७ वर्षदेखि उपचार नपाएर ओछ्यानमै थलिएका छन् । उपचार सम्भव भए पनि खर्च अभाव हुँदा उहाँको उपचार हुन सकेको छैन । 

उहाँको शरीर कक्राक–कुक्रुक परेको छ । टाउको घोप्टो परेर दुई खुट्टाको घुँडाभन्दा मुनि झरेको छ । मुन्टो उठाउन मिल्दैन । यताउता सर्न हातले टेकेर सर्नुपर्ने बाध्यता रहेको परिवारका सदस्यले जनाएका छन् । 

श्रेष्ठलाई उपचारका लागि गत वर्ष झापा दमकस्थित कान्छीआमा भद्रकुमारी श्रेष्ठको घरमा ल्याइएको छ । दमक झरेपछि थेरापी गराउँदा स्वास्थ्यमा केही सुधार आएको थियो । खर्च अभावमा थप उपचार गराउन नसकिएको बुवा कृष्णनारायण श्रेष्ठले बताउनुभयो । 

दुवै खुट्टा कक्रक्क परेर एकै डल्लो भएपछि डुकेन्द्रले विगत १७ वर्षदेखि कष्टपूर्ण जीवन बिताइरहेका छन् । ११ वर्षको उमेरदेखि नै डुकेन्द्रको स्वास्थ्यमा समस्या देखा परेको हो । आर्थिक अभावका कारण भरपर्दो उपचार नपाउँदा डुकेन्द्रको अवस्था दिनानुदिन पीडादायी बन्दैगएको छ ।

श्रेष्ठ अस्वस्थ भएपछि धामीझाँक्रीलाई देखाइएको परिवारका सदस्यको भनाइ छ । रोग निको हुनुको सट्टा बढ्दै गएपछि अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले गठिया बाथ रहेको पुष्टि भएको आफन्त पेशलमान श्रेष्ठले बताउनुभयो । ‘अस्पतालमा लगेपछि डाक्टरले मुटुसम्बन्धी नसाको बाथ रोग लागेको भन्यो । १५–१५ दिनमा इन्जेक्सन दिन सल्लाह दिए । खर्चअभावले इन्जेक्सन लाउन सम्भव भएन ।’ 

ओछ्यानमा थलिएका उहाँलाई गत वर्ष उपचारका लागि दमक लगिएको थियो ।  भारतमा लगेर उपचार गराउँदा निको हुने चिकित्सकले सुझाएको आफन्त श्रेष्ठले बताउनुभयो ।