• १३ साउन २०८१, आइतबार

यो संरचनाले मुलुक बन्दैन : मुख्यमन्त्री पाण्डे

blog

मिडिया हाउसका सम्पादक एवं अग्रज पत्रकारको अन्तक्र्रियामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत।

रमेश पाैडेल

पोखरा, चैत २ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही संरचनाले मुलुक नबन्ने बताउनुभएको छ ।

नीति आयोग गण्डकी प्रदेशद्वारा काठमाडौंमा कार्यरत विभिन्न मिडिया हाउसका सम्पादक एवं अग्रज पत्रकारको अन्तरक्रियामा बोल्दै सो कुरा बताउनुभएको हो।

‘मुख्यमन्त्रीसँग एउटा फाइल उठाउनका लागि नौ ठाउँ पार गरेर आउनुपर्छ, कुनै एक जना कर्मचारीले दुई दिन बिदा लियो भने १८ दिन लाग्छ, कसरी काम गर्न सकिन्छ ?’ उहाँले भन्नुभयो, ‘मैले जति सोचेको थिएँ, त्यति काम हुन सकेन। संविधानले प्रदत्त अधिकार पनि प्रदेशमा आउन सकेन।एकातर्फ राजनीतिक दलका नेतासँग नै केन्द्रिकृत मानसिकता छ भने अर्कोतर्फ कर्मचारी संयन्त्र पनि त्यस्तै छ ।’ 

यसैगरी राजनीतिप्रति निराश भएका जनतालाई वर्षैपिच्छे परिवर्तन हुने सरकारले झनै निराश बनाएको उहाँले बताउनुभयो।विकासका बारेमा बोल्दै मुख्यमन्त्री पाण्डेले विगतमा विकास सहरमा थियो, जनता गाउँमा थिए।अहिले विकास गाउँमा पुग्यो तर उपभोग गर्ने कोही नभएको बताउनुभयो।उहाँले सडक, बत्ती, शिक्षा, स्वास्थ्य पुगे पनि राज्यको लगानीको प्रतिफल आउन नसकेको गुनासो गर्नुभयो।उहाँले अहिले झण्डै ९५ प्रतिशत जनतामा खानेपानी पुगेको र ८५ पालिकामध्ये ८४ मा सडक सञ्जालले जोडेको तर विकासले मात्र जनतालाई गाउँमै राख्न सकिएन, अब कृषि पर्यटन र उद्यमशीलतामा जोड्न सकिएन भने गाउँ खाली हुने बताउनुभयो।

कार्यक्रममा पत्रकारले निजी क्षेत्रको लगानी आकर्षित गर्न सुझाव दिएका थिए।पुँजी बजारको विकासका लागि निजी क्षेत्रको प्रवद्र्धनमा जोड दिएका थिए।

गण्डकी प्रदेश नीति आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले अवधारणापत्र प्रस्तुत गर्दै प्रदेश सरकारले कार्यान्वयन गर्न सक्ने योजना लक्ष्य, सोच र रणनीतिमा समेटिएको बताउनुभयो।आयोगका सचिव बद्रीनाथ अधिकारी, उपसचिव डिल्लीराम सिग्देललगायतले आयोगले सुझाव संकलन गरी योजना बनाइरहेको जानकारी गराउनुभयो।