• १३ साउन २०८१, आइतबार

व्यापार नभएपछि ढोलक तथा मादल व्यवसायी निराश

blog

धनुषाको ढल्केबरमा बिक्री गर्न ढोलक बनाउँदै भारतीय व्यवसायी। तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, चैत २ गते। भारतबाट धनुषाको ढल्केबरमा आएर ढोलक तथा मादल बनाएर बेच्न बसेका व्यापारी निराश देखिएका छन्। सोचे जस्तो व्यापार नभएपछि व्यापारी निराश भएका हुन्। 

भारतको उत्तर प्रदेशका आस्ताना अली ढल्केबरको पश्चिम चोकमा आएर ढोलक तथा मादल बनाएर बेच्न बस्नुभएको छ। चाडपर्वको बेला नेपालमा यी बाजाको व्यापार राम्रो हुन्छ भन्ने सुनेर यता आएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “तिहार र होलीको अवसरमा ढोलक तथा मादल धेरै बिक्छ भनेर व्यापार गर्न यता आएको हुँ। तर सोचेजस्तो व्यापार भएन। एक दिनमा मुस्किलले दुई÷तीन वटा मात्र बिक्छ। खर्च निकाल्न पनि समस्या छ।”

एउटा ढोलक तथा मादलको सात सयदेखि एक हजार दुई सय रुपियाँसम्ममा बिक्री गर्ने गरेको उहाँको भनाइ छ। उहाँले मादल बनाउन चाहिने सबै सामग्री भारतबाटै ल्याएको जानकारी दिनुभयो। नेपालमा चाडपर्वको बेला रमाइलो गर्न ढोलक र मादलको सट्टा आधुनिक साउण्ड बाजाको प्रयोग बढेकाले यसको बिक्री नभएको उहाँको बुझाइ छ। उहाँले आँप, कठहरलगायत विभिन्न प्रजातिका काठबाट बनाइएका एक हजार ढोलक तथा मादल बनाउने सामग्री ल्याउनुभएको छ। 

नेपालमा सूचना प्रविधिको विकाससँगै परम्परागत बाजागाजको प्रयोगमा कमी आएको स्थानीय युवा सुजन चौधरीले बताउनुभयो। उहाँले ढोलक र मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले यो व्यवसाय पनि सङ्कटमा पर्न थालेको जानकारी दिनुभयो। अहिले चाडवर्प तथा मेला महोत्सवमा मादल बाजा बजाउन छोडेर त्यसको ठाउँमा ठुलाठुला साउण्ड सिस्टमको प्रयोग हुन थालेको चौधरीको भनाइ छ। 


यस्तै, स्थानीय धर्मु लामाले गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि ढोलक तथा मादल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको बताउनुभयो। उहाँले पहिले–पहिले चाडबाडको समयमा ढोलक तथा मादलको बिक्री अत्यधिक हुने गरेकोमा अहिले यस्तो बाजा कम र साउण्ड सिस्टम धेरै बिक्री हुने गरेको जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “पहिले–पहिले ढोलक र मादल बेच्ने व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो। अहिले उहाँहरुको व्यवसाय सुक्दै गएको छ।  जताततै साउण्ड सिस्टम घन्किन्छन्। ढोलक र मादल त बज्नै छोड्यो। केही वर्ष अगाडिसम्म त गाउँमा जाँदा यस्तो बाजा घन्किने गरेको पाइन्थ्यो।”