• १३ साउन २०८१, आइतबार

तातोपानी कुण्ड संरक्षणमा प्रदेश सरकारको चासो

blog

जिल्ला सदरमुकाम चामेमा रहेको तातोपानी कुण्ड ।

यदुप्रसाद भट्ट
मनाङ, चैत २ गते ।
२०७८ साल असार १ मा आएको बाढीले मनाङको तातोपानी कुण्ड बगायो । बाढीका कारण चामे गाउँपालिका–५ चामेमा रहेको तातोपानी कुण्डको संरचना पूर्णरुपमा भत्किएको छ । जाडो सकिएको तथा पर्यटकीय सिजन पनि भएकाले तातोपानी कुण्डको संरचना संरक्षणका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको छ ।

प्रदेश सरकारबाट चामे तातोपानी कुण्ड मर्मतसम्भारका लागि १५ लाख रुपियाँ विनियोजन भएको गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ गुरुङले जानकारी दिनुभयो । उहाँले सदरमुकाममा रहेको सो कुण्डको मुहान संरक्षणका लागि सानो प्रयास गरेको जानकारी दिनुहुँदै भन्नुभयो, ‘‘मनाङमा चिसोमा आउने पर्यटकले तातोपानीको मज्जा लिनबाट वञ्चित नहोऊन् भन्ने हेतुले थोरै रकम विनियोजन गरिएको छ ।’’

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट कुण्डको मर्मतसम्भारका लागि आर्थिक वर्ष २०८०/८१ को वार्षिक विकास कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरिएको हो । उहाँले भन्नुभयो, ‘‘मनाङको विकास निर्माणमा गण्डकी प्रदेशले चासो दिएको छ । विभिन्न योजनालाई प्राथमिकतामा राखी आर्थिक वर्ष २०८०/८१ को वार्षिक विकास कार्यक्रमअन्तर्गतका योजना निर्माणलाई बजेट विनियोजन गरिएको छ ।’’

यसैगरी, उहाँले प्रदेश सरकारबाट ‘तालदेखि कार्ते, धारापानीसम्मको पदमार्ग चामे गाउँपालिका–२ मनाङ’ आयोजनालाई बजेट प्राप्त भएको जानकारी दिनुभयो । ताल, खोत्रो हुँदै धारापानी पर्यटकीय वैकल्पिक पदमार्ग निर्माणका लागि बजेट विनियोजन भएको उहाँले बताउनुभयो । मन्त्रिपरिषद् बैठकबाट संशोधनसहित समायोजन गरी उक्त पदमार्ग निर्माणलाई अगाडि बढाइएको सांसद गुरुङले बताउनुभयो ।

उहाँका अनुसार वैकल्पिक पदमार्ग नासोँ गाउँपालिका–१, २ र ३ नम्बरमा पर्दछन् । पदमार्गका लागि ३० लाख विनियोजन भएको छ । बजेट विनियोजन भएसँगै मनाङको विकास निर्माणको काम हुने समय भएकाले कामको सुरुआत गर्न निर्देशन भइसकेको बताउँदै उहाँले भन्नुभयो, ‘‘मन्त्रालयमा प्रक्रिया अघि बढ्छ । यता कामको सुरुआत पनि हुन्छ ।’’

कुण्ड नहुँदा यहाँका स्थानीय तातोपानीकै खोजीमा जानुपर्ने बाध्यता हटाउन कुण्डका लागि बजेट विनियोजन गरिएको हो । मनाङ आएर चिसो लागेको खण्डमा यही तातोपानी कुण्डमा नुहाउँदा निको हुने गरेको जनविश्वास छ । तातोपानी प्राकृतिक चिकित्सा क्षेत्र भएकाले कतिपय त यहाँको तातोपानीमा नुहाउनकै लागि मात्रै पनि मनाङ आउने गर्छन् । तर पानीको कुण्ड मर्स्याङ्दी नदीमा आएको बाढीले बगाएपछि तातोपानीमा नुहाउन आउने सेवाग्राही तथा पर्यटक आगमन कम भएको स्थानीयको भनाइ छ । तातोपानीले नुहाउँदा शरीरमा हुने विभिन्न किसिमका रोगको नियन्त्रण तथा निको हुने विश्वास गरिन्छ ।

त्यस्तै नासोँ गाउँपालिका–८ ताचै गाउँ घट्टेखोला र मर्स्याङ्दी नदीको कटानले बस्ती जोखिममा छ । ताचै बस्ती संरक्षणका लागि पनि १५ लाख विनियोजन गरिएको छ । यहाँको बस्ती बाढी र पहिराले जोखिम रहेको छ । पूर्वाधार विकास कार्यालय मनाङका प्रमुख जय विष्टले प्रदेशमार्फत बजेटको व्यवस्थापन भएअनुसार नै मनाङको विकासको काम गर्ने समय भएकाले काम थालिने बताउनुभयो । मनाङमा चिसो कम हुँदै गएकाले विकास निर्माणको कामले गति लिने उहाँले बताउनुभयो ।