• १८ वैशाख २०८१, मङ्गलबार

बाबुछिरी क्लाइम्बिङको उपाधि सिर्जना र तेन्जिङको पोल्टामा

blog

काठमाडौँ, चैत २ गते । स्वर्गीय बाबुछिरी शेर्पा खुला क्लाइम्बिङ प्रतियोगिताको उपाधि सिर्जना तामाङ र तेन्जिङ राईले जितेका छन् । महिलातर्फ तामाङ र पुरुषतर्फको राईले उपाधि हात पारेको हो । 

विजेता दुवै जनाले नगद ५० हजार पुरस्कारसहित पदक र प्रमाणपत्र जितेका छन् । बिहीबार साँझ बौद्धमा सम्पन्न प्रतियोगितामा पुरुष २६ र महिला १५ जना गरी ४१ जना प्रतिस्पर्धी सहभागी थिए । पुरुषतर्फ रोनक उप्रेती दोस्रो र साजन लामा तेस्रो हुनुभयो । यसै गरी महिलातर्फ स्वस्तिका चौधरी र प्रेरणा राई क्रमशः दोस्रो र तेस्रो हुनुभयो । विजेताले क्रमशः ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको आयाेजक  पर्वतीय खेलकुद सङ्घका अध्यक्ष ङावाङ निमा शेर्पाले जानकारी दिनुभयो । 


 पर्वतीय खेलकुद सङ्घ र सगरमाथा आरोही सङ्घको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो । विश्व कीर्तिमानी आरोही बाबुछिरी शेर्पाको योगदानको सम्झनामा प्रतियोगिता आयोजना गरिएको जानकारी अध्यक्ष शेर्पाले बताउनुभयो । १० औँ पटक सगरमाथा शिखर चुमेका स्वर्गीय बाबुछिरी शेर्पालाई सम्झिँदै साहसिक खेलको क्षेत्रबाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तर गर्ने उहाँले बताउनुभयो ।

नेपालमा आरोहण खेल विकासको क्रममा रहेकाले नयाँ खेलाडीहरूको विकास गर्न यसले मद्दत गर्ने आयोजकको विश्वास छ ।