• १६ भदौ २०८१, आइतबार

कालोपत्रे भएपछि यात्रा सहज

blog

पृथ्वी राजमार्ग पूर्वी खण्डको व्यास नगरपालिका–१२, कमलबारीमा कालोपत्रे गरिँदै ।

अमरराज नहर्की 

तनहुँ, चैत २ गते । विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिङ अन्तर्गत पूर्वी खण्डको कालोपत्रे तीव्र भएसँगै यात्रा सहज भएको छ । व्यास नगरपालिका–१०, सेवर निवासी राजेन्द्र मिश्रले हाल बाटो कालोपत्रे भएकाले यात्रा सहज भएको बताउनुभयो । मिश्रले भन्नुभयो, “अहिले धैरे पक्की भएकाले यात्रा सहज र छिटो भएको छ ।” पूर्वी खण्डका आयोजना प्रमुख इन्जिनियर श्यामकुमार यादवका अनुसार दुईतर्फी गरेर ३७ किलोमिटर दुरीमा कालोपत्रे गरिएको छ । उक्त सडक अन्तर्गत चार लेनको १४ किलोमिटर र दुई लेनको २३ किलोमिटर अस्फाल्ट प्रविधिको कालोपत्रे भएको छ । 

चिनियाँ र नेपाली दुवै कामदारबाट काम भइरहेको छ । यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो खार्ने तथा खाल्डो पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको छ । हालसम्म ५१ प्रतिशत काम पूरा भएको र यात्रुलाई यात्रा गर्न सहज बनाउन कालोपत्रे गर्ने कामलाई तीव्र पारिएको आयोजनाले जनाएको छ । पूर्वी खण्डको कामका लागि २०७७ साल माघ १७ गते सम्झौता २०७८ साल वैशाख २ देखि काम सुरु भएको थियो । ४१.४५ किमी यस खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिने छ ।  पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यस खण्डको म्याद २०८१ वैशाखसम्म छ । पूर्वी खण्डका लागि छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा ठेक्का सम्झौता भएको हो । 

पृथ्वी राजमार्ग सडक अन्तर्गत पूर्व र पश्चिम गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ । हालको पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७.५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । पश्चिम सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दुरी रहेको छ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुई काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ । २०७८ साल भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।