गाईजात्रामा महादेवकाे अभिनयकर्ता गाेविन्द्रकाे मृत्यु
कीर्तिपुर, साउन २९ गते । कीर्तिपुरमा गाईजात्रामा महादेवकाे पात्रमा अभिनय गर्नुभएका गाेविन्द्र महर्जनकाे मृत्यु भएकाे छ । कीर्तिपुरकाे सलिछेँका स्थानीय २४ वर्षीय महर्जनको द्यःपुखुमा पाैडी खेल्ने क्रममा मृत्यु भएको पारिवारिक स्राेतले जनाएकाे हाे । जात्रामा सबैभन्दा लाेकप्रिय पात्रकाे रूपमा अभिनय गर्नुभएका महर्जन आइतबार राति सवा १० बजे बाघभैरवस्थानमा रहेकाे द्यःपुखुमा डुब्नु भएकाे थियाे । पोखरीमा डुबेका उहाँलाई निकालेर बल्खुस्थित बयोधा अस्पातलमा उपचारकाे लागि लगिएकाेमा त्यहाँ मृत घाेषणा गरिएकाे थियाे । गाईजात्रा भित्र्याएपछि कीर्तिपुरमा लाखेलाई उपहार स्वरूप राँगोको टाउको-खुट्टा दिएर जात्रा गरिने क्रममा महर्जन डुब्नु भएकाे थियाे । साे जात्रामा धेरै जना पाैडी खेलेका थिए भने सयाैंले साे जात्रा हेरेका थिए । कीर्तिपुर नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष हीरालाल महर्जनका अनुसार दिनभर जात्रा खेलेर थाक्नु भएका महर्जनकाे थाकेको बेलामा पौडी खेल्दा अचेत अवस्थामा पुग्नुभएकाे थियाे । पत्रकार वीरेन्द्र शाक्यका अनुसार, सबै जना टाउको-खुट्टा लिने जात्रामा लागेकाे बेला महर्जन डुबेकाे हाे वा पाैडी खेलेकाे भन्ने नै अन्याेल हुँदा ५ मिनेटपछि मात्र अरू साथीहरूले उद्दार गरेर निकालेका थिए ।
सिँचाइ नहरले बगाउँदा बालिकाको मृत्यु
शान्ता अधिकारी चितवन, साउन २९ गते । रत्ननगर नगरपालिका १६ की एक छ वर्षीया बालिकाको सिँचाइ नहरमा खसेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार रत्ननगर नगरपालिका १६ एकता टोल बस्ने बिमल के.सीका छ वर्षीया छोरी संस्कृति के.सीको घर नजिकै नहरमा खसेर मृत्यु भएको हो । खेल्दाखेल्दै नहरमा खसेका ती बालिकालाई खोजतलासको क्रममा ४ घण्टापछि अन्दाजी तीन किलोमिटर टाढा सेवा केन्द्र टोल नजिकै अचेत अवस्थामा फेला पारी तत्काल उपचारको लागि स्थानीय गुञ्जमानसिंह अस्पताल लगिएकोमा त्यहाँ मृत घोषणा गरिएको हो ।घटना जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय, टाँडी र प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी टोलीले मुचुल्का तयार गरी शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाएको छ ।
रोजाइमा पर्दै चिसापानीगढी
देशभर भएका गढी तथा किल्लाभित्र पर्ने एक हो रामेछापको चिसापानीगढी। नेपाल र अङ्ग्रेज युद्धका बेला नेपालका सेनाले यो चिसापानी गढी प्रशिक्षण गर्ने थलोका रूपमा प्रयोग गरेको स्थानीयवासी बताउँछन्। नेपाल र अङ्ग्रेज युद्धका बेलाको भग्नावशेष र चिनो रहेकाले चिसापानीगढी ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको छ।
चालक अनुमतिपत्रको आवेदनमा पनि बिचौलिया
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिन सक्ने सङ्ख्यामा वृद्धि गरेको छ। मन्त्रालय मातहतका कार्यालयमा सवारीचालक अनुमतिपत्रको वर्ग थप र नयाँ आवेदन दिने सेवाग्राहीको चाप बढेपछि आवेदन दिन सक्ने सङ्ख्यामा (कोटा) वृद्धि गरेको हो। मन्त्रालयले मङ्गलबार साँझबाट लागू हुने गरी आवेदन दिन सक्ने सङ्ख्या वृद्धि गरेको छ।
कीर्तिपुरको विशेष गाईजात्रा ‘ध्यँध्यँ पापा’
जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा यो पर्व नेवाः समुदायले विशेष रुपमा मनाउने गर्छन् ।
काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा मध्यम वर्षा
अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम बर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार काठमाडौं उपत्यकामा अहिले २६.२ मिलीमिटर पानी परेको छ । काठमाडौं उपत्यकामा परिरहेको पानी अबको केही बेर रोकिएर राती फेरि पर्ने उहाँको भनाइ छ ।
मृत्यु गणनाको उत्सव 'सापारु'
काठमाडौं, साउन २८ गते । गाईजात्रा अर्थात् नेवार समुदायमा 'सापारु' । सापारु काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धूमधामका साथ मनाइन्छ । सापारु नेपाल संवत् अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सापारु पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।यस्तै, नेपाली समाजमा सापारु व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । सापारुमा नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । यस दिन भजन कीर्तन पनि गरिन्छ ।संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ वर्षभरिमा कति मानिस मरे भन्ने थाहा हुने कारण यसलाई मृत्य गणनाको उत्सव पनि भन्न मिल्ने बताउनु हुन्छ । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विव्हल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली सहर परिक्रमा गराउनु आज्ञा दिएको उल्लेख छ । यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेशसँगै यस प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि सापारु पर्व मनाइन्छ । हिन्दुधर्म अनुसार यस पर्वका बारेमा अर्को पनि जन विश्वास रहेको पाइन्छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा सापारु निकालेपछि यमलोकको ढोका खुल्ने र मृत आत्माहरूले यमलोक प्रवेश पाई मुक्ति पाउने भन्ने मानिन्छ । यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाइने चलन छ । सापारुका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने गरिन्छ ।संस्कृतिविद् श्रेष्ठका अनुसार, अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्त्व दिएको पाइन्छ । सा अर्थात् गाई पारु भन्नाले प्रतिपदा । प्रतिपदाको दिन मनाउने कारण सापारु भनिएको हो । मानिसलाई सभ्याताको संसारमा पाइला टेकाउन गाईको ठूलो योगदान रहेको छ ।उहाँ भन्नुहुन्छ, “लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको हामी पाउँछौँ । मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि बढेको थियो ।आजको दिनलाई वर्षभरिमा मरेका आफ्नाहरुको मुक्तिका लागि मनाइने जात्रा पनि भनिन्छ । मरेकाहरुको लागि यस दिन गाईलाई विधिवत रूपमा नगर परिक्रमा गराएमा दिवंगत आत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास पनि छ । संस्कृतिविद् श्रेष्ठले ६०० वर्षअघिको गोपालराज वंशावलीमा ‘सायात’ भन्ने शब्द उल्लेख गरिएको भन्दै ’सा’को अर्थ गाई र ‘यात’ को अर्थ जात्रा भएको उल्लेख गर्नुभयो । त्यसबाहेक भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको उहाँको भनाइ छ ।भक्तपुरमा पनि सापारुका छुट्टै रौनक र आकर्षण छ । विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुस्याः बाजाका साथ ताहामच्चासगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ ।उहाँ भन्नुहुन्छ, “एउटा धार्मिक आस्था के छ भने गाईजात्राको दिनमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता छ, भक्तपुरमा केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ र नगर घुमाउने चलन छ ।’’ भक्तपुरमा सापारुको दिन र त्यसपछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङ्गात्मक नाटक साँस्कृतिक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ । तलेजु भवानीको तहामच्चाको नगर परिक्रमाबाट सापारु शुरु हुन्छ भने बेलुका पख भैरव र भद्रकालीको तहामच्चा ल्याएपछि समाप्त हुने संस्कृतिविद् श्रेष्ठले बताउनुभयो । तस्बिरहरु : उपेश महर्जन
लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
रसुवा, साउन २८ गते । रसुवा जिल्लाको गोसाइँकुण्ड गाँउपालिका -५ स्थित गोसाइँकुण्ड तीर्थबाट साउन २७ गते घर फर्कने क्रममा लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बेहोस हुनेहरुमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका -८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका ११ बस्ने २० वर्षीया साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका -३ बस्ने १० वर्षीय निर्जिव दुवाडी छन् । सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उहाँहरुलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको छ ।
त्रिशूली नदीमा ट्रक खस्यो
इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । मुग्लिन नजिकैको इच्छाकामना गाउँपालिका– ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट शनिबार बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।