फोहोरमैला व्यवस्थापन र ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न
काठमाडौंको नागढुङ्गामा फोहोरमैला व्यवस्थापन र ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिकामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रम गरिएको हो ।
मध्यपुर थिमिमा धुमधामका साथ भैरव नाच (लायक् भैलः) प्रदर्शन हुँदै
पत्यकाकाे मध्य शहरमा रहेकाे मध्यपुर थिमिमा भैरव (लायकु भैलः) जात्रा धुमधामका साथ शुरू भएकाे छ । साःपारू अर्थात् गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा याे नाच प्रदर्शन गर्ने गरिन्छ ।
बाघले तीन गोही खायो
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो ।
सुगममा बसोबास रित्तिँदै गाउँ
रामेछाप जिल्लाको मन्थली नगरपालिका–३, कठजोरस्थित पुरानागाउँ रित्तिन थालेको छ। जिल्ला सदरमुकाम मन्थलीबाट लगभग १४ किलोमिटर दूरीमा रहेको यो गाउँका बासिन्दा खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात, रोजगारीलगायतका भौतिक सुविधा नभएको भन्दै सुगम ठाउँ सदरमुकाम मन्थली र राजधानी काठमाडौँमा स्थानान्तरण भएका छन्। गाउँ छाड्ने क्रम बढेपछि बरुवाल, सुवेदी, बस्नेत, खड्का, गिरी जातिको बसोबास रहेको पुरानागाउँको बस्ती नै रित्तो हुँदै गएको छ। यो गाउँमा ४० देखि ५० घरपरिवारको बसोबास थियो। अहिले एक तिहाइ घरपरिवारको पनि यहाँ बसोबास छैन। पुरानागाउँमा अहिले जम्मा १३ घरपरिवारको बसोबास रहेको स्थानीय कुमार बरुवालले बताउनुभयो।
पैँतालीस हजार राहत बाँड्दा एक लाख चालीस हजार भत्ता
धादिङको नीलकण्ठ नगरपालिकाले ४५ हजार रुपियाँ राहत वितरण गर्ने निर्णय गर्दा एक लाख ४१ हजार रुपियाँ भत्ता वितरण गरेको भेटिएको छ। विपत्मा परेका नागरिकलाई राहत वितरण गर्ने निर्णय गर्दा राहत रकमभन्दा तीन गुणा बढी रकम भत्तामा खर्च गरेको भेटिएको हो। नगर कार्यपालिका मातहत रहने वातावरण तथा विपत् व्यवस्थापन समितिले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विपत्मा परेकालाई नगद ४५ हजार राहत वितरण गर्ने निर्णय गरेको थियो। उक्त राहत वितरण गर्ने निर्णय गर्दा बैठक भत्ताबापत समितिका सदस्यहरूलाई एक लाख ४१ हजार रुपियाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयको २०७९ को प्रतिवेदनले औँल्याएको छ।
चार वर्षमा साढे चार सय किमि सडक कालोपत्रे
बागमती प्रदेश सरकारले चार वर्षको अवधिमा साढे चार सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरेको छ। बागमती प्रदेश सरकार गठन भएपछिको चार वर्षको अवधिमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा गरी ४६८.६ किमि सडक कालोपत्रे गरेको हो। मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय र मातहतका कार्यालयहरूमार्फत गत आर्थिक वर्ष २०७८/७९ मा २५२.१ किमि सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा लक्ष्यको आधाभन्दा कम ११६.८ किमि मात्र सडक कालोपत्रे भएको निर्देशनालयले जनाएको छ।
थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडपः आठ प्रहरी घाइते
उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् ।
गाईजात्रामा महादेवकाे अभिनयकर्ता गाेविन्द्रकाे मृत्यु
कीर्तिपुर, साउन २९ गते । कीर्तिपुरमा गाईजात्रामा महादेवकाे पात्रमा अभिनय गर्नुभएका गाेविन्द्र महर्जनकाे मृत्यु भएकाे छ । कीर्तिपुरकाे सलिछेँका स्थानीय २४ वर्षीय महर्जनको द्यःपुखुमा पाैडी खेल्ने क्रममा मृत्यु भएको पारिवारिक स्राेतले जनाएकाे हाे । जात्रामा सबैभन्दा लाेकप्रिय पात्रकाे रूपमा अभिनय गर्नुभएका महर्जन आइतबार राति सवा १० बजे बाघभैरवस्थानमा रहेकाे द्यःपुखुमा डुब्नु भएकाे थियाे । पोखरीमा डुबेका उहाँलाई निकालेर बल्खुस्थित बयोधा अस्पातलमा उपचारकाे लागि लगिएकाेमा त्यहाँ मृत घाेषणा गरिएकाे थियाे । गाईजात्रा भित्र्याएपछि कीर्तिपुरमा लाखेलाई उपहार स्वरूप राँगोको टाउको-खुट्टा दिएर जात्रा गरिने क्रममा महर्जन डुब्नु भएकाे थियाे । साे जात्रामा धेरै जना पाैडी खेलेका थिए भने सयाैंले साे जात्रा हेरेका थिए । कीर्तिपुर नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष हीरालाल महर्जनका अनुसार दिनभर जात्रा खेलेर थाक्नु भएका महर्जनकाे थाकेको बेलामा पौडी खेल्दा अचेत अवस्थामा पुग्नुभएकाे थियाे । पत्रकार वीरेन्द्र शाक्यका अनुसार, सबै जना टाउको-खुट्टा लिने जात्रामा लागेकाे बेला महर्जन डुबेकाे हाे वा पाैडी खेलेकाे भन्ने नै अन्याेल हुँदा ५ मिनेटपछि मात्र अरू साथीहरूले उद्दार गरेर निकालेका थिए ।
सिँचाइ नहरले बगाउँदा बालिकाको मृत्यु
शान्ता अधिकारी चितवन, साउन २९ गते । रत्ननगर नगरपालिका १६ की एक छ वर्षीया बालिकाको सिँचाइ नहरमा खसेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार रत्ननगर नगरपालिका १६ एकता टोल बस्ने बिमल के.सीका छ वर्षीया छोरी संस्कृति के.सीको घर नजिकै नहरमा खसेर मृत्यु भएको हो । खेल्दाखेल्दै नहरमा खसेका ती बालिकालाई खोजतलासको क्रममा ४ घण्टापछि अन्दाजी तीन किलोमिटर टाढा सेवा केन्द्र टोल नजिकै अचेत अवस्थामा फेला पारी तत्काल उपचारको लागि स्थानीय गुञ्जमानसिंह अस्पताल लगिएकोमा त्यहाँ मृत घोषणा गरिएको हो ।घटना जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय, टाँडी र प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी टोलीले मुचुल्का तयार गरी शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाएको छ ।