सत्तरी करोडको कालोपत्रे टिकेन
उत्तरी क्षेत्र दोलखाको मुख्य सडक दोलखा–सिँगटी सडक वर्षासँगै आएको बाढीपहिरोले कतै भासिने र कतै कालोपत्रेमा क्षति पुगेपछि सवारीसाधन सञ्चालनमा जोखिम बढेको छ। दोलखा बजारदेखि सिँगटी बजारसम्मको ३५ किलोमिटर सडक दुई वर्षअघि सडक विभागले ७० करोड रुपियाँको लागतमा कालोपत्रे गरेको थियो। कतै पहिरो, कतै कालोपत्रे भत्किएर खाल्टाखुल्टी हुँदा यात्रा जोखिमपूर्ण बनेको हो । अविरल वर्षाका कारण सडकको विभिन्न स्थानमा पहिरो खसेको, सडकमा खाल्टाखुल्टी परेको र कतिपय स्थानमा खोलाको पानी सडकबाट नै बग्ने गरेको छ। कालिञ्चोक, बिगु र गौरीशङ्कर गाउँपालिका जोड्ने मुख्य सडक क्षति पुगेसँगै जिल्ला सदरमुकाम चरीकोट हुँदै राजधानी काठमाडौँलगायतका स्थानमा आवतजावत गर्ने सवारीसाधन र यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।
प्रदेशका युवालाई ५० हजार कमाउने बनाउँछौँ : मुख्यमन्त्री पाण्डे
हेटौँडा,भदौ ७ गते । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका युवालाई मासिक ५० हजार कमाउन सक्ने दक्ष नागरिक बनाउने बताउनुभएको छ। बागमती उद्योग परिषद्ले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को तयारी बैठकमा उहाँले प्रदेश सरकारले तीन महिना बन्द प्रशिक्षण दिएर पहिलो चरणमा १० हजार जनशक्ति उत्पादनको कार्यक्रम राखेको जानकारी दिनुभयो। उहाँले उच्च प्रविधिको मेसिन सञ्चालनका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने र आफ्नो देशको युवा खाडीमा कठिन श्रम गर्न बाध्य हुनुपर्ने अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले उक्त कार्यक्रम गर्ने योजना बनाएको प्रष्ट्याउनुभयो। अब पहिलो प्राथमिकता दक्ष युवा उत्पादन गर्नु रहेको उहाँको भनाइ छ । घरमा स्नातकोत्तर सकेर बसेका छोराछोरी भए पनि सामान्य मेसिन बिग्रँदा र पानीको पाइप कस्नुपरेमा पनि समस्या हुनु भनेको शैक्षिक प्रणालीमा समस्या रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। कच्चा पदार्थ प्राप्त हुने स्थान नजिकै उद्योग खोलेर उद्योग ग्रामको विकास गर्नुपर्ने उहाँको भनाइ छ। कच्चा पदार्थ टाढाबाट ढुवानी गरेर उत्पादन गर्दा लागत मूल्य बढ्ने मुख्यमन्त्री पाण्डेले जनाउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले औद्योगिक क्षेत्र, करको दायरा, ऊर्जा, नापतौल सबै सङ्घीय सरकारको मातहतमा नै हुनुले प्रदेश सरकारले अधिकार नपाएको बताउनुभयो। प्रदेश सरकारले छोटो समयमा उपलब्धिमूलक काम गर्नुपर्ने र सोही दिशामा आफूहरु लागेको उहाँको भनाइ थियो। रासस
काठमाडौंमा सम्पदा लक्षित ‘लोकल गाइड’ तालिम
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिमको शुभारम्भ गर्नुभएको छ ।
जयपृथ्वीबहादुर सिंहको जन्मजयन्ती मनाइयो
काठमाडौं, भदौ ७ गते। गोरखापत्र संस्थानद्वारा जयपृथ्वीबहादुर सिंहको जन्मजयन्ती मनाइएको छ। नेपाली समाजको ऐतिहासिक धरोहरका रुपमा प्रकाशित गोरखापत्र प्रकाशनको पृष्ठभूमिसँग उहाँको विशिष्ट योगदान जोडिएको छ। गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले राष्ट्रिय विभूति सिंहको संस्थान प्राङ्गणमा रहेको अर्ध कदको सालिकमा माल्यार्पण गर्नुभयो। संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले सिंहको सालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गर्नुभयो। यसैगरी संस्थान प्रकाशनका प्रमुख, विभागीय प्रमुख, पत्रकार तथा कर्मचारीले सालिकमा मल्यार्पण गरेर उहाँप्रति सम्मान प्रकट गर्नुभयो।जयपृथ्वीबहादुर सिंहको अर्ध कदको सालिकमा माल्यार्पण गर्नुहुँदै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी । अर्थ विभाग प्रमुख यमप्रसाद कँडेलले गोरखापत्रको प्रकाशनमा सिंहको योगदान स्मरणीय रहेको उल्लेख गर्नुभयो। उहाँले हरेक वर्ष भदौ ७ गते मानवतावादी व्यक्तित्व सिंहको जन्म जयन्ती मनाउने गरिएको जानकारी गराउनुभयो। गोरखापत्रको ९८ औं तथा संस्थानको ३६ औं वार्षिकोत्सवको उपलक्ष्यमा वि.सं. २०५५ वैशाख २४ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गोरखापत्रका संस्थापक सिंहको सालिक अनावरण गर्नुभएको थियो।नेपालको एकीकरण पूर्व राजा रजौटालाई सम्मान स्वरुप मुख्तियारी दिने प्रचलन रहेअनुसार नै बझाङ्गी राजा शक्ति सिंहपछि २० सौं पुस्ताका राजा जयपृथ्वीबहादुर सिंह हुनुहुन्थ्यो। राणाकालमा शिक्षा र मानवताको चिराग बनेर उहाँले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सिंहद्वारा लिखित बालबालिकाका लागि ‘अक्षराङ्क’ नामक पुस्तकले १९५८ सालमा नेपाली समाजमा नयाँ क्रान्ति ल्याएको थियो। बालबालिकालाई नेपाली भाषाका माध्यमबाट प्रारम्भिक शिक्षा दिनुपर्छ भन्नेमा उहाँ लाग्नुभएको थियो। उहाँले ‘अक्षरमाला’, ‘पदार्थ तत्त्व विवेक’, ‘बालबोध-भाग १’, ‘जापानको इतिहास’, ‘शारीरिक शिक्षा दर्पण’, ‘श्रेस्ता दर्पण भाग १ र २’, ‘बालबोध’, ‘प्राकृत व्याकरण’, ‘भूगोलविद्या’, ‘अमानवतावाद सम्बन्धी ३ भोल्युम’, ‘द फ्ल्याग अफ पिस’ जस्ता दार्शनिक पुस्तक लेख्नुभएको छ। यी पुस्तकको अध्ययन गर्दा सिंह लेखनमा अब्बल रहेको प्रष्ट हुन्छ। व्यक््यद्यपि यस्ता उदार व्यक्तित्व सिंहलाई राणा शासनले सहन सकेन र देश निकाला गर्यो। फलस्वरुप, जीवनको अन्तिम कालमा भारतको निर्वासनमा रहँदा त्यहाँको ब्रिटिस कम्पनी सरकारले राजबन्दी बनाएर राखेकै अवस्थामा वि.सं. १९९७ असोज १ गते बेङलोरमा उहाँको निधन भयो। मृत्युपछि भने उहाँको योगदानको सम्झना हुन थालेको हो। मानवतावादी नेता सिंहको बुवा विक्रमबहादुर सिंह र आमा रुद्रकुमारीको कोखबाट वि. सं. १९३४ भदौ ७ गते जन्म भएको थियो।
चितवनमा बन्दको आंशिक प्रभाव, पाँच जना बन्दकर्ता प्रहरी नियन्त्रणमा
विप्लव नेतृत्वको नेकपासहित चार राजनीतिक दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवन जिल्लामा आंशिक रुपमा परेको छ । यहाँको मुख्य बजार क्षेत्रका पसलहरु बन्द छन् भने चितवन भएर चल्ने लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन भएका छैनन् ।
काभ्रे प्रशासनमा तीस मिटरब्याजीविरुद्ध उजुरी
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले जनाएको छ ।
पञ्चकन्या पोखरी पर्यटकीय गन्तव्य बन्दै
सिन्धुली जिल्लाको मरिण गाउँपालिका–५, महादेवस्थानस्थित जिल्लाकै एक मात्र प्राकृतिक पोखरीका रूपमा रहेको ऐतिहासिक पञ्चकन्या पोखरी पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ। मरिण गाउँपालिकाका सूचना अधिकारी सुदीप केसीका अनुसार पालिकाले पोखरीको संरक्षणसहित प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सुरु गरेको छ। उहाँका अनुसार जिल्लाको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पु-याउने लक्ष्यसहित गुरुयोजना बनाएर पोखरी आसपासमा पूर्वाधार निर्माणका क्रममा अहिलेसम्म घेराबार, पिकनिक स्थल, शौचालय, स्नान घर, खानेपानी र पोखरी स्थलसम्म पुग्ने सडकको व्यवस्था भइसकेको छ। प्रतीक्षालय र प्रशासनिक भवनको निर्माण कार्य भइरहेको छ।
बस्ती स्थानान्तरण हुन सकेन
२०७२ वैशाखको भूकम्प तथा दुतीको पहिरोका कारण जोखिममा रहेको काभ्रेपलाञ्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चे खानीगाउँको बस्ती अझै स्थानान्तरण हुन सकेको छैन। २०७२ साल असार २३ गते बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिले दुतीको पहिरो तथा भूकम्पका कारण जोखिममा रहेका २१ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको पनि आर्थिक अभावमा स्थानान्तरण नभएको हो।
कभर्ड हल निर्माणमा म्याद सकियो, काम सकिएन
भीमेश्वर नगरपालिकाले निर्माण सुरु गरेको कभर्ड हल दुई पटक म्याद थप गर्दासमेत निर्माण कार्य सन्तोषजनक रूपमा अगाडि बढ्न सकेको छैन। विभिन्न बहाना बनाउँदै निर्माण कम्पनी श्यामसुन्दर अभिषा जेभीले काम नगर्दा कभर्ड हल समयमा निर्माण पूरा हुन नसकेको हो।